गणेश पौडेल
पर्वत, मङ्सिर ६ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत पर्वतको मतगणनामा जारी छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीको अग्रता रहेको छ ।
जोशीले चार हजार ९ सय १ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार पदम गिरीले चार हजार ३ सय ५३ मत ल्याउनुभएको छ । दुई उम्मेदवारबीचको मतान्तर ५ सय ४८ रहेको छ ।
यस्तै प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रका सुदीप कुँवरले चार हजार ४० मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेकाका भक्त कुँवरले चार हजार ५ सय ७१ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर १ सय ५४ रहेको छ ।
प्रदेशसभा (ख) मा नेकपा एमालेका मित्रलाल बस्याल अगाडि आउनुभएको छ । उहाँले चार हजार ५ सय ७१ मत ल्याउँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले चार हजार ९९ मत ल्याउनुभएको छ । उहाँहरुबीचको मतान्तर ४ सय ७२ रहेको छ ।
प्रतिनिधि सभामा दश हजार ४ सय ४७ मतगणना भएको छ भने प्रदेश सभा (क) मा नौं हजार ६ सय ७७ र (ख) मा नौं हजार १ सय ५० मतगणना गरिएको छ । बदर मत चाहिँ प्रतिनिधि सभातर्फ तीन सय ४१ र प्रदेश (क)मा २ सय ७२ र (ख)मा दुई सय ३० मत बदर भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार एक लाख २२ हजार ६ सय ४९ जना मतदाता रहेको पर्वतमा ६६ हजार २ सय ७३ मत अर्थात् जम्मा ५४ प्रतिशत खसेको थियो ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा सत्तारुढ गठबन्धन, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलका उम्मेदवार चुनावी मैदानमा भिडेका थिए।