• १३ असोज २०८१, आइतबार

गत विजेता फ्रान्सलाई अस्ट्रेलियाको चुनौती

blog

दोहा, मङ्सिर ६ गते । विश्वकप फुटबलको उपाधि रक्षा अभियानमा रहेको टिममा त्यसै पनि सबैको नजर हुन्छ। यस पटक फ्रान्स उपाधि रक्षा अभियानमा रहनेछ तर तितो सत्य के हो भने सन् १९६२ मा ब्राजिलपछि कुनै देशले लगातार विश्वकप जितेको छैन। यसबाट पनि थाहा पाइन्छ विश्वकप च्याम्पियन बन्न कति कठिन छ। अझ प्रेरणादायी स्ट्राइकर करिम बेन्जामा, क्रिस्टोफर कुन्कु तथा मिडफिल्डरहरू पल पोग्बा र एन्गोलो कान्टे चोटका कारण टिममा नहुँदा फ्रान्सको चिन्ता बढेको छ। 

चार वर्षअघि विश्वकप ट्रफी जितको यात्रामा फ्रान्स निकै प्रभावशाली थियो। पोग्बा र कान्टे दुवै पछिल्लो संस्करणमा उपाधि जित्दा मिडफिल्डमा प्रमुख खेलाडीद्वय थिए। यसैगरी बेन्जामा गत महिना विश्वका सर्वश्रेष्ठ फुटबलर घोषित भएर बालन डि ओर विजेता हुनुहुन्छ। क्रिस्टोफरले सन् २०२२ मा आफ्नो टिम लेप्जिगका लागि ३७ गोल र ११ एसिस्ट गर्नुभएको थियो। 

यद्यपि २०१८ को च्याम्पियन फ्रान्स अहिले पनि सबभन्दा गहिराइ भएको टिम हो। अस्ट्रेलियाविरुद्ध मङ्गलबार हुने पहिलो खेलमा प्रशिक्षक डिडियर डेस्च्याम्पले किलियन एम्बापे, ओलिभर जिरु र एन्टोनियो ग्रिज्म्यानमाथि विश्वास गर्नुहुनेछ। सन् २०१८ को विश्वकपका यी तीन स्ट्राइकरले मिलेर फ्रान्सका लागि कुल ११९ गोल गरिसकेका छन्। फ्रान्सको सर्वाधिक गोलकर्ता थियरी हेनरीको ५१ गोलको कीर्तिमान बराबरी गर्न जिरु दुई गोलले मात्र टाढा छ। जुन जिरुका लागि यस विश्वकपमा ठूलो प्रेरणा बन्न सक्छ।

फ्रान्स हाल राम्रो लयमा छैन। गत जुन र सेप्टेम्बरमा भएको यूईएफए नेसन्स लिगमा फ्रान्सले छमध्ये एक खेल जितेको थियो। अस्ट्रेलियाको बाधा पार गर्नु छ भने फ्रान्सले राम्रो प्रदर्शन गर्नुपर्नेछ। चार वर्षअघि विश्वकपमा फ्रान्सले मुस्किलले अस्ट्रेलियालाई २–१ ले हराएको थियो।

अस्ट्रेलियाको विश्वकप फुटबलमा अहिलेसम्म खासै सम्झनलायक प्रदर्शन छैन। पाँचपटक विश्वकप खेल्दा अस्ट्रेलिया चार पटक पहिलो चरणबाट नै बिदा भएको थियो। सन् २००६ मा एक पटक मात्र अस्ट्रेलियाले समूह चरण पार गरेको इतिहास छ। सो समय अहिलेका प्रशिक्षक ग्राहम आर्नोल्ड गस हिडिन्कका सहायक हुनुहुन्थ्यो। 

अस्ट्रेलियालाई पनि खेलाडीको चोटले समस्यामा पारेको छ। फ्रान्सविरुद्धको खेलको एक दिनअघि मात्र विन्गर मार्टिन बोयल घुँडाको चोटले खेल्न नसक्ने हुनुभएको छ। उहाँको स्थान २१ वर्षीय मार्को टिलियोले लिनुहुनेछ। अस्ट्रेलियाको सशक्त पक्ष मिडफिल्ड हो। जहाँ अनुभवी ब्राइटनबाट खेल्न आरोन मोएले नेतृत्व गर्नुहुनेछ। सोही स्थानमा सन् २०१४ मा अस्ट्रेलियाका सर्वश्रेष्ठ खेलाडी म्याथ्यु लिकीले पनि खेल्नुहुनेछ। ३१ वर्षीय लिकीले अस्ट्रेलियाका लागि १३ गोल गरिसक्नुभएको छ।

अस्ट्रेलियाविरुद्धको खेलमा एम्बापे हेर्नलायक खेलाडीका रूपमा रहनुहुनेछ। पछिल्ला संस्करणमा १९ वर्षकै उमेरमा चार गोल गरेर उहाँले फ्रान्सको उपाधि जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। यस सत्रमा उहाँ शानदार लयमा पनि हुनुहुन्छ। पेरिस सेन्ट जर्मनका लागि यस वर्ष उहाँले २० खेलमा १९ गोल गर्नुभएको छ। यसैगरी अस्ट्रेलियाका गोलरक्षक म्याट रायन पनि हेर्नलायक खेलाडी हुनुहुन्छ। फ्रान्सबाट लगातार आक्रमणको अपेक्षा गरिएकाले पनि भ्यालेन्सिया तथा आर्सनलका पूर्वगोलरक्षक रायनको प्रदर्शन महत्वपूर्ण हुनेछ। 

सबैको प्रिय टिम डेनमार्क

समूह ‘डी’मा फ्रान्स र अस्ट्रेलियासँगै डेनमार्क र ट्युनिसिया पनि रहेका छन्। यी दुई टिमले मङ्गलबार नै एकअर्काविरुद्ध खेल्नेछन्। डेनमार्क युरो २०२० मा ‘सरप्राइज प्याकेज’ थियो। युरो कपमा समूह चरण सकिएपछि डेनमार्क सबैको प्रिय टिम बन्यो। सुरुका दुई खेल हारेपछि पनि डेनमार्कले सेमिफाइनलसम्मको यात्रा गरेर आफ्ना समर्थकलाई निराश पनि हुन दिएको थिएन। अन्तिम चारमा इङ्ग्ल्यान्डसँग हारे पनि डेनमार्कले युरो कपबाट विश्वमा धेरै समर्थक कमाएको छ। युरो च्याम्पियनसिपको दोस्रो दिन नै खेल्ने क्रममा मैदानमै मृत्युको मुखबाट जोगिएका क्रिस्टियन इरिक्सन यस विश्वकपमा खेल्दै हुनुहुन्छ। जुन डेनमार्कका लागि प्रेरणा बन्ने पक्का छ। डेनमार्कले विश्वकप छनोट गजबको प्रदर्शन गरेको थियो। डेनमार्कले सुरुका नौ खेलमा जित हात पारेको थियो। जसमध्ये आठ खेलमा डेनमार्कले क्लिन सिट राखेको थियो। 

तर डेनमार्कका प्रशिक्षक कास्पर हुलमन्डले आफ्नो टिम राम्रो स्थितिमा रहे पनि भावनाले मात्र केही नहुने मैदानमा राम्रो प्रदर्शन गरेर अझ दर्शकको मन जित्नुपर्छ भन्नुभयो। प्रशिक्षक हुलमन्डले भनेजस्तै डेनमार्कलाई ट्युनिसियासँगको खेल सहज हुने छैन। ट्युनिसिया विपक्षीलाई स्वभाविक खेल खेल्न नदिने टिमका रूपमा प्रख्यात छ। जालेल काड्रीलाई प्रशिक्षकमा नियुक्त गरिएपछि ट्युनिसियाले सुरका पाँचमध्ये चार खेल जितेको थियो। प्रशिक्षक काड्रीले आफ्नो टिम नकआउट चरणमा नपुगे राजीनामा दिने घोषणाबाट पनि ट्युनिसियाको मनोबल थाहा पाउन सकिन्छ। यद्यपि गत सेप्टेम्बरमा ब्राजिलसँग भएको खेलमा अफ्रिकी राष्ट्र ट्युनिसिया ५–१ ले पराजित भएको थियो। एजेन्सी