• १३ असोज २०८१, आइतबार

प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसको अग्रता

blog

काठमाडौँ, मङ्सिर ६ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। निर्वाचन आयोगका अनुसार सयभन्दा बढी प्रतिनिधि सभा क्षेत्रको मतगणनाको प्रारम्भिक तथ्याङ्कबमोजिम नेपाली कांग्रेसले ३८ भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभातर्फ कांग्रेसका तीन उम्मेदवार निर्वाचित भएका छन्। नेकपा (एमाले) ले एक स्थानमा विजय प्राप्त गरेको छ भने २५ प्रतिनिधि सभा क्षेत्रमा अग्रता कायम गरेको छ। 

सत्ता गठबन्धनले करिब ४२ प्रतिनिधि सभा क्षेत्रमा अग्रता कायम गरेको छ। मुस्ताङको प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुवै सिटमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। प्रत्यक्षतर्फका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये आठ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ। स्वतन्त्र पार्टीले अग्रता कायम गरेकामध्ये अधिकांश काठमाडौँका निर्वाचन क्षेत्र हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच र नेकपा (माओवादी केन्द्र) ले आठ स्थानमा अग्रता कायम गरेको छ। जनमत पार्टीका चार जना उम्मेदवारले अग्रता कायम गरेका छन्। 

मतगणनामा किचलो

शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको करिब ३० निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु भइसकेको छैन। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “गणना गर्न ढिलाइ भएको क्षेत्रमा समेत सहमतिको प्रयास गरिएको छ।” उहाँले मतगणनामा किचलो हुँदा आयोगको पूर्वानुमानबमोजिम निर्वाचन परिणाम समयमै आउन समस्या हुने बताउनुभयो। 

निर्वाचन आयोगले मङ्सिर ७ गतेभित्र प्रत्यक्षतर्फको गणना सकिने र १२ गतेभित्र समानुपातिकतर्फको मतपरिणाम आइसक्नेगरी तयारी गरेको थियो। मतपेटिकामा मतपत्र साटफेर भएको र दुई वडाको मतपत्र एकै स्थानमा राखेर गणना गर्नुपर्ने मतगणना निर्देशिकाको व्यवस्थाविरुद्ध उम्मेदवारका प्रतिनिधिले बखेडा झिकेपछि गणनामा ढिलाइ भएको हो। उहाँले भन्नुभयो, “वडागत रूपमा गणना गर्दा भोलिका दिनमा उम्मेदवारले कम मत पाएको वडाका मतदातामाथि प्रतिशोध साँध्ने हो कि भनेर आयोगले दुई वडाको मतपेटिकाको मतपत्र मिश्रण गरेर गणना गर्न निर्देशन दिएको हो तर सहमति नभएर ढिलाइ भएको हो।” स्याङ्जा, दोलखा र गोरखालगायतका जिल्लामा यसप्रकारको विवाद देखिएको हो। 

११ जिल्लाको मतपेटिका आउन बाँकी

निर्वाचन आयोगका अनुसार सोमबार रातिसम्म ११ जिल्लाको एक सय ११ मतदान केन्द्रको मतपेटिका अझै गणना स्थलमा आएको छैन। सबैभन्दा बढी कर्णालीका मुगुको ३८ र हुम्लाको ३४ मतदान केन्द्रको मतपेटिका गणना स्थलमा आएको छैन। प्रवक्ता पौडेलले भन्नुभयो, “हिमाली जिल्लाको हेलिमार्फत मतपेटिका सङ्कलन हुँदै आएकोमा मौसम प्रतिकूल हुँदा हेलिले तीन घण्टा मात्रै उडान गर्न सक्दा मतपेटिका सङ्कलनमा समस्या आएको हो।” हिमाली जिल्लाका मतपेटिका ओसार्न नेपाली सेनाको दुईवटा हेलिकोप्टरले उडान भर्दै आएको छ। तर सोमबार एउटा हेलिकोप्टर बिग्रन जाँदा बाँकीको एउटै हेलिकोप्टरबाट मतपेटिका सङ्कलन कार्य भएको छ। सोमबारै गोरखा, कालीकोट र रसुवाको मतपेटिका सङ्कलन भइसकेको छ। 

बाजुरामा फेरि विवाद

स्थानीय निर्वाचनमा विवादित बनेको बाजुराको मतदान प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समेत अछुतो रहन सकेन। बाजुराका प्रमुख जिल्ला अधिकारी ढाकाराम पौडेलका अनुसार बूढीनन्दा पालिका वडा नं. ५ को मतदान स्थगित गरिएको छ। उहाँले बाँकीको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने निवेदन परेको बताउनुभयो। नेकपा (एमाले)ले १६ र नेपाली कांग्रेसले आठवटा केन्द्रको मतदान रद्द गरी पुनः मतदानको माग गरेको छ। 

गुल्मी र सुर्खेतमा आज मतदान

विवाद भएर आइतबार रद्द हुन पुगेको नवलपरासीमा सोमबार पुनः मतदान भएको छ। नवलपरासीको एउटै केन्द्रमा पुनः मतदान भएको हो। आयोगका प्रवक्ता पौडेलले गुल्मीको २ र सुर्खेतको तीनवटा मतदान केन्द्रमा मङ्गलबार मतदान हुन लागेको जानकारी दिनुभयो। सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ६ स्थित सिम्ता बहुमुखी क्याम्पसको तीनवटा केन्द्र र गुल्मीको कालीगण्डकीको भगवती मावि, अरबैनीको दुई मतदान केन्द्रमा मङ्गलबार मतदान हुन लागेको हो।