• ९ मंसिर २०८१, आइतबार

लमजुङमा एमालेका गुरुङको अग्रता

blog

बेलिना थापा

लमजुङ, मङ्सिर ५ गते ।प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतगणनाको क्रममा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा (एमाले) ले अग्रता लिएको छ । हालसम्म दूधपोखरी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकाको ४ हजार ८ सय ९८ मतगणना गर्दा एमालेका पृथ्वीसुब्बा गुरुङले २ हजार ५ सय ८ मत प्राप्त गर्नुभएको छ । 

गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले २ हजार ८७ मत प्राप्त गर्नुभएको छ । दुई गुरुङबीचको मतान्तर ४ सय २१ ले पृथ्वीसुब्बा गुरुङ अगाडि हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ६७ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा (क) मतगणना गर्दा नेपाली कांग्रेसको अग्रता छ ।

प्रतिनिधि सभा सदस्यमा एमालेका गुरुङ, माओवादी केन्द्रका गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका टकबहादुर गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मङ्गोल नेशनल अर्गनाईजेशनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्याल चुनावी मैदानमा हुनुहुन्छ । 

कांग्रेस बीपीका लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टीका नरेन्द्रबहादुर गुरुङले उम्मेदवारी गठबन्धनका उम्मेदवारलाई सघाउँदै उम्मेदवारी निष्क्रिय पारेका छन् । 

प्रदेश सभा (क) मा एमालेका जमीन्द्रमान घले, कांग्रेसका टकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा शाह, जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङ र मङ्गोल नेशनल अर्गनाईजेशनका बृखबहादुर तामाङबीच प्रतिस्पर्धा हुँदैछ । 

प्रदेश सभा (ख) मा एमालेका कृष्णप्रसाद अधिकारी, कांग्रेसका भेषबहादुर पौडेल, जनता समाजवादी पार्टी नेपालका युवराज दुरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङ, मङ्गोल नेशनल अर्गनाइजेशनका राज गुरुङ र नेपाली कांग्रेस (बीपी) को नवराज बसौलाबीच प्रतिस्पर्धा हुँदैछ ।