• १३ असोज २०८१, आइतबार

कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुग्दै

blog

बागमती प्रदेश ब्युरो

हेटौँडा, मङ्सिर २ गते । यही मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै तयारीलाई तीव्र बनाइएको छ । निर्वाचनको पूर्वतयारीका लागि निर्वाचन कार्यालयले खटाएका कर्मचारीसँगै सुरक्षाकर्मीहरू बागमती प्रदेशका विभिन्न जिल्लाका मतदान स्थलमा जाने क्रम सुरु भएको छ । निर्वाचनमा खटिएका कतिपय कर्मचारी र सुरक्षाकर्मीहरू निर्वाचन सामग्रीसहित मतदान स्थलमा पुगिसकेका छन् ।

कर्मचारी हिँडे मतदान स्थलतर्फ 

चितवन समाचारदाता शालिग्राम नेपालका अनुसार चितवनमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सामग्री लिएर मतदान स्थलतर्फ कर्मचारीहरू जान थालेका छन् । मुख्य निर्वाचन कार्यालाय र निर्वाचन कार्यालयबाट मतदान स्थल र केन्द्रमा खटिएका कर्मचारीहरूले बिहीबार आवश्यक सामग्री बुझेर कार्यस्थलतर्फ गएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरराज आचार्यले जानकारी दिनुभयो । 

उहाले भन्नुभयो, “हामीले सूचना टाँसेर आजै सामग्री बुझ्न र कार्यस्थलमा जानका लागि सूचित गरेका छौँ, कुनै कारणवश तोकिएको दिन लैजान नसकेकाहरूले शुक्रबार लैजानुहुन्छ ।” 

निर्वाचनका लागि चाहिने आवश्यक सामग्री लिएर कर्मचारीहरू बिहीबार नै मतदान स्थलमा जानुपर्ने हुन्छ । बिहीबार बुझेको सामग्री प्रहरीको सुरक्षामा मतदान स्थलमा लैजाने व्यवस्था छ । ती सामग्रीलाई मतदान केन्द्रका अधिकृत, कर्मचारी र सुरक्षाकर्मीले सुरक्षा दिएर राखिन्छ । 

मतदान अधिकृतसहितका कर्मचारीले मतदान केन्द्र वरिपरि कुनै पनि प्रकारका मादकपदार्थ सेवन गर्न नपाइने सूचना टाँसेर बिक्रीवितरणमा रोक लगाइने व्यवस्था रहेको आचार्यले जानकारी दिनुभयो । 

सूचना टाँसिसकेपछि सर्वदलीय बैठक बसे सहमती जुटाउने प्रक्रिया कर्मचारीले गर्दछन् । त्यसपछि मतदान स्थल निर्माणको काम हुने उहाँले जानकारी दिनुभयो । चितवनको तीनवटै प्रतिनिधि सभा सदस्यको निर्वाचन कार्यालयबाट कर्मचारीले सामग्री बुझेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख रितेन्द्र थापाले जानकारी दिनुभयो । मतदान केन्द्रमा सामग्री लैजाने भए पनि अन्य दिनभन्दा सुरक्षा व्यवस्था अझ बलियो बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि यहाँ तीन हजार ६८० जना कर्मचारी खटिने जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गर्नका लागि सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ–आठ जना कर्मचारी परिचालन हुनेछन् । १६२ मतदान स्थल रहेको चितवनमा  ४६० केन्द्र तोकिएका छन् । 

मुख्य निर्वाचन कार्यालयका प्रमुख थापाका अनुसार चितवन क्षेत्र नम्बर १ मा एक हजार २७४ जना, क्षेत्र नम्बर २ मा एक हजार १०२ जना र क्षेत्र नम्बर ३ मा एक हजार ३०४ कर्मचारी खटिँदैछन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवनमा चार लाख आठ हजार ३४२ मतदाता छन् । यो अघिल्लो चुनाव २०७४ को भन्दा १० हजार ६५७ ले बढी हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार ८४५ मतदाता छन् । क्षेत्र नम्बर २ मा एक लाख २४ हजार २१४ र क्षेत्र नम्बर ३ मा एक लाख ४४ हजार २८३ जना मतदाता छन् । 

निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो । भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कसिलो रहेको प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो । अवाञ्छित गतिविधिलाई रोक्न  हरेक चोकमा सुरक्षाकर्मी खटिएका उहाँले जानकारी दिनुभयो । अमर्यादित कार्य कसैले गरेमा प्रहरीलाई सूचना दिनसमेत उहाँले अनुरोध गर्नुभएको छ । 

झन्डै दुई हजार कर्मचारी परिचालन

रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि रामेछापमा एक हजार ८०० भन्दा बढी कर्मचारी र दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९६ मतदान स्थल र २२६ मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी गरी एक हजार ८१७ जना कर्मचारी खटाइएको छ । 

यस्तै निर्वाचनमा आवश्यक सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जिल्लामा दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिलो घेरामा म्यादी प्रहरी, नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने गरी सुरक्षाकर्मी परिचालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो । 

उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि ६५० जना नेपाल प्रहरी, एक हजार १०० म्यादी प्रहरी र नेपाली सेना, सशस्त्र प्रहरी खटाइएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले जिल्लाको स्थलगत अनुगमन गरेर सुरक्षा रणनीति तयार पारिएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह पनि गर्नुभयो । 

दुईवटा नगरपालिका र छवटा गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापमा एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । प्रदेश निर्वाचन क्षेत्र (क)मा ८७ हजार ६३३ र (ख)मा ९२ हजार ४७३ जना गरी जिल्लामा एक लाख ८० हजार १०६ जना मतदाता छन् ।

कर्मचारीसँगै सुरक्षाकर्मी

सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार सिन्धुली जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदसय निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी बिहीबार निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् । निर्वाचनमा खटिएका कर्मचारीले तोकिएको निर्वाचन अधिकृतको कार्यालबाट मतपत्र, मतपेटिका, छेकबार, स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ५६ प्रकारका निर्वाचन सामग्री बुझेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचनमा खटिएका कर्मचारी मङ्सिर १ गते साँझसम्म तोकिएको मतदान केन्द्रमा पुगेर मदिरा निषेधित क्षेत्रको सूचना टाँसलगायतका निर्वाचनसँग सम्बन्धित कामहरू गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

निर्वाचन सामग्री सुरक्षाकर्मीसहित मतदान केन्द्रमा पठाइएको उहाँले बताउनुभयो । कार्यालयका अनुसार प्रतिनिधि सभाको दुई र प्रदेश सभाको चारवटा निर्वाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा १५३ वटा मतदानस्थल र दुई अस्थायीसहित २६९ वटा मतदान केन्द्र छन् । मतदान केन्द्र मतदातामैत्री निर्माण गर्न कर्मचारीलाई निर्देशन दिइएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा १३७ वटा र निर्वाचन क्षेत्र नं. २ मा दुई अस्थायीसहित १३२ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ । उक्त निर्वाचन सम्पन्न गर्न दुई हजार १३६ जना कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिनुभयो । कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा एक हजार ९६ जना कर्मचारी र निर्वाचन क्षेत्र नं. २ मा एक हजार ४० जना कर्मचारी परिचालन गरिएको छ । 

जिल्लास्थित विभिन्न सरकारी कार्यालय, स्थानीय तहमा कार्यरत कर्मचारी र स्थायी शिक्षकलाई उक्त निर्वाचन सम्पन्न गर्न परिचालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी पाँच र सहयोगी एकसहित आठ जना कर्मचारी रहने व्यवस्था मिलाइएको छ । जिल्लामा एक लाख ९५९ जना महिलासहित कुल दुई लाख आठ हजार ३६९  जना मतदाता रहेका छन् । 

मतदान केन्द्रमा पुग्यो सामग्री 

बनेपा समाचारदाता केदार तिमल्सिनाका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाको करिब ६६ प्रतिशत मतदान केन्द्रमा कर्मचारी तथा मतपत्रसहितको निर्वाचन सामग्री पुगेको छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ का टाढा रहेको मतदान केन्द्रमा निर्वाचनका लागि सामग्रीसहित कर्मचारीको टोली पुगेको हो । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत १३७ वटा र प्रतिनिधि सभा २ अन्तर्गत १२० मतदान केन्द्रमा मतपत्रसहित कर्मचारी खटिएका छन् । 

प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले निर्वाचन क्षेत्रअन्तर्गतको जिल्लाको चौरीदेउराली, महाभारत, खानीखोला, रोसी गाउँपालिकाका सबै मतदान केन्द्रमा मतदानका सामग्रीसहित कर्मचारीको टोली पुगेको बताउनुभयो । 

उहाँले निर्वाचन क्षेत्र अन्तर्गतको पनौती, नमोबुद्ध, धुलिखेलका ४६ वटा मतदान केन्द्रमा मतपेटिकालगायतका सामग्री र ५२ वटा मतदान केन्द्रमा मतपत्र जान बाँकी रहेको बताउनुभयो । 

उहाँले कार्यालयबाट नजिक रहेका मतदान केन्द्रमा शुक्रबार निर्वाचन सामग्री र कर्मचारी खटाइने बताउनुभयो । उहाँले सामग्री नलिएका मतदान केन्द्रमा मतदान अधिकृत तथा कर्मचारी पुगेर निर्वाचनसम्बन्धी सूचना टाँस्ने बताउनुभयो । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत १८९ वटा मतदान केन्द्र छन् । 

यसैबीच प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सहायक मतदान अधिकृत शेषराज दाहालले बिहीबार १५२ वटा मतदान केन्द्रमा निर्वाचन सामग्री तथा कर्मचारी खटिएको बताउनुभयो । उहाँले निर्वाचन सामग्री र कर्मचारी खटिएका मध्ये १२० वटा मतदान केन्द्रले मात्रै मतपत्र बुझेको बताउनुभयो । 

उहाँले कतिपय नजिकका मतदान केन्द्रले सुरक्षाको कारणले मतपत्र नबुझेको बताउँदै मतपत्र लैजान बाँकी मतदान केन्द्रमा शुक्रबार र शनिबार मतपत्र पठाइने बताउनुभयो । सहायक निर्वाचन अधिकृत दाहालले मतपत्र र कर्मचारी पठाउन बाँकी रहेका मतदान केन्द्रमा शुक्रबार कर्मचारी खटाइने बताउनुभयो । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा २०० मतदान केन्द्र छन् । 

पुग्न थाले कर्मचारी र सुरक्षाकर्मी 

मकवानपुर समाचारदाता राममणि दाहालका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलमा पुग्ने क्रम सुरु भएको छ ।

जिल्लाका विकट स्थानमा रहेका मतदान स्थलमा निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू निर्वाचन सामग्रीसहित पुगेर मतदान स्थलको व्यवस्थापन सुरु गरेका छन् । निर्वाचन कार्यालय बागमती प्रदेशका निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जिल्लाको २३ मतदान केन्द्रका मतदान अधिकृतहरू अझै सम्पर्कमा नआएको र शुक्रबार निर्वाचन सामग्री बुझेर जाने जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम र सवारी साधनको सुविधा सहज भएको स्थानका मतदान अधिकृतहरूले शुक्रबार निर्वाचन सामग्री लैजाने भएका छन् ।

६२ मतदान स्थल र १७२ मतदान केन्द्र रहेको मकवानपुरमा निर्वाचन क्षेत्र नं. १ मा एक लाख ५० हजार १५५ जना मतदाता छन् । यस्तै १०५ मतदान स्थल र १९२ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नं. २ मा एक लाख ५० हजार ५७८ मतदाता छन् । मकवानपुरमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले मकवानपुरमा निर्वाचनका लागि तय भएका १६७ मतदान स्थलमध्ये १९ अति संवेदनशील, ६० संवेदनशील र ८८ सामान्य मतदानस्थल रहेको जानकारी गराउनुभयो । निर्वाचनको मौन अवघि सुरु भएसँगै बिहीबारबाट दलहरू र उम्मेदवारहरूको प्रचारप्रसार रोकिएको छ । प्रचार प्रसारको अन्तिम दिन दल र उम्मेदवारहरूलाई प्रचारप्रचार, भेटघाट, भेला र चुनावी सभामा भ्याइनभ्याइ भएको देखिन्थ्यो । 

सर्वदलीय बैठक सम्पन्न  

दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको निर्वाचन केन्द्रित सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा मङ्सिर ४ गते हुने  निर्वाचन सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि सबैले आआफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिनुका साथै राजनीतिक दलका प्रमुख एवं उम्मेदवारहरूले आचारसंहितालाई पूर्ण रूपमा परिपालना गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

बैठकमा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचन आफैँमा संवेदनशील र चुनौतीपूर्ण रहेको बताउँदै चुनौतीको कामलाई सबैको सहयोग र सहजीकरणले सफलतापूर्वक सम्पन्न गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले विगतका निर्वाचनबाट पाठ सिक्दै जिल्लामा निर्वाचन सफल बनाउनेतर्फ सबै केन्द्रित हुनुपर्ने समय आएको बताउँदै भन्नुभयो, “मतदाताको मताधिकार रक्षाका लागि कर्मचारीले सुरक्षा प्रशासनको सहयोगमा अहोरात्र खटेर काम गरिरहेका छन् ।” जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जिल्लामा शान्ति सुव्यवस्था बलियो पारिएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुने अवस्था निर्माण भएको बताउनुभयो । 

जिल्लाका विभिन्न स्थानमा मतदान केन्द्र नै कब्जा गरी मतदाताको अधिकार खोस्ने र निर्वाचनै बिथोल्नेलगायतका गतिविधि हुनसक्ने भएकाले त्यस्तो अवस्था आउनै नदिनेतर्फ सुरक्षा प्रशासन चनाखो रहेको उहाँले उल्लेख गर्दै गैरमतदाताको आवागमनलाई निषेध गरिएको र त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिई नियमानुसार कारबाही गरिने बताउनुभयो । जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईले प्रजातन्त्र र संविधान सबल बनाउन निर्वाचन अपरिहार्य रहेकाले यसको सम्पन्नताका लागि सबै निकायले सहयोग र समन्वय गरिदिन आग्रह गर्दै निर्वाचनको तयारी, कर्मचारी खटनपटन र सामग्री व्यवस्थापनलगायतको विषयमा जानकारी दिनुभएको थियो ।