• १३ साउन २०८१, आइतबार

मतदाताका मुद्दा : शिक्षा, स्वास्थ्य, कृषि र रोजगार

blog

इश्वरचन्द्र झा/नागेन्द्र कर्ण/महेश दास

जलेश्वर (महोत्तरी), मङ्सिर १ गते  । स्थानीय निर्वाचनका बेला महोत्तरी एकडारा–२ का १९ वर्षीय मनोज पासवान एकडारा–सम्सी सडकखण्डमा निर्मित ढलमा लडेर घाइते हुनुभयो । परिवारजनले तत्कालै उहाँलाई जलेश्वर अस्पताल लगे । “जलेश्वर अस्पतालमा चिकित्सकले एक्स–रे गराउन लगाए तर समस्या पहिचान नभएपछि बुवाले भारतको सीतामढी लग्नुभयो,” पासवानले भन्नुभयो । तिघ्राको हाड भाँचिएको पहिचानपछि उहाँ छ महिनामा चार पटक सीतामढी पुग्नुप-यो । बिस्तारै हिँड्नसक्ने अवस्थामा पुगेको बताउँदै पासवानले जिल्ला अस्पतालमा आफ्नो समस्याको पहिचानसमेत हुन नसकेकोमा खिन्न भएको सुनाउनुभयो । 

जलेश्वर–५ की रासो रामको २०७४ सालमा घरमै लडेर घाइते हुनुभयो । ६२ वर्षीय रामलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर हुँदै जनकपुर अञ्चल अस्पताल लगियो । के भएको हो पत्ता लागेन, जनकपुरबाट पटनास्थित एक निजी अस्पतालमा लग्दा ढाडको हाड भाँचिएको पहिचान भयो, उपचार गरायौँ तर अझै पूर्ण रूपमा निको भएको छैन्, आमाको उपचारको क्रममा छोरा सञ्जय रामले भोग्नुपरेको अनुभव सुनाउनुभयो । 

मटिहानी–८ का जितेन्द्र साहले मधवापुर र भिट्ठामोड हुँदै दैनिक ६० देखि एक सय जना व्यक्ति उपचारका लागि भारत विहारको सीतामढी, दरभङ्गा र पटना जाने गरेको बताउनुभयो । साहको आफ्नै स्कोर्पियो गाडी छ । उपचार गराउन जानेले दैनिक भाडामा लग्दा औसत आम्दानी भएको उहाँले बताउनुभयो । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रादेशिक अस्पताल छ । वीरगञ्जमा उपक्षेत्रीय अस्पताल छ तर भरपर्दो उपचार नरहेको साहले बताउनुभयो । “काठमाडौँ वा धरान जाँदा खाने, बस्ने र उपचार खर्च गरेर महँगो पर्न जान्छ । सीतामढी वा दरभङ्गामा बिहान गए बेलुकी फर्किनसक्ने भएकाले बिरामीले उपचारका लागि सीमावर्ती सहर रोज्दै आएका छन्,” साहले बताउनुभयो । 

भारतको सीमासँग जोडिने धनुषा, महोत्तरीलगायतका जिल्लाका विपन्न वर्ग स्वास्थ्य उपचारका लागि सीमावर्ती क्षेत्रकै अस्पतालमा आश्रित छन् । दशकौँ बित्यो तर अवस्था बदलिएको छैन । मनरा सिस्वा–५ का ललित झाका अनुसार विगत केही वर्षमा बालुवा सिमेन्टको विकास भयो तर शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तन आएन । “रोग एउटा हुन्छ, डाइग्नोसिस अर्कै आउँछ, बिरामीको ज्यानै जोखिममा पार्ने यसप्रकारको गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने निकाय देखिन्न,” उहाँले बताउनुभयो । जलेश्वर–४ का बेचन ठाकुरले अत्यधिक वर्षा हुँदा बाढी र डुबानमा पर्ने जलेश्वर, मटिहानी र एकडारामा यस पटक खडेरीले धानबाली फस्टाउन नसकेको बताउनुभयो । “बोरिङ छ तर ६५ जनाको समितिमा कुरा नमिलेर नियमित मम्र्मतसम्भार नहुँदा सिँचाइ अभावमा धान उत्पादन भएन,” उहाँले गुनासो गर्नुभयो ।  

आम निर्वाचन आउन चार दिन मात्रै बाँकी छ । महोत्तरीका मतदाताले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई आफ्नो प्रमुख मुद्दा बनाएका छन् । 

एकडारा–२, का शङ्कर पासवानले उत्पादनमुखी उद्योग सञ्चालन भए बेरोजगारी समस्या केही हदसम्म समाधान हुने बताउनुभयो । मधेश आन्दोलनको क्रममा २०७२ साल भदौ २५ गते जलेश्वर नगरपालिकामा प्रहरीको गोली लागेर घाइते हुनुभएका पासवान हाल एकडारा गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत हुनुुहुन्छ । उहाँले पालिकामा कर्मचारीको हैसियत नदिएको गुनासो गर्नुभयो । शहीद परिवार र घाइते मात्रैका लागि भन्दा स्थिति बदल्न गोली खाएको बताउँदै उहाँले भन्नुभयो, “पछिल्लो पाँच वर्षमा प्रदेश सरकार र निर्वाचित जनप्रतिनिधिले गरेको कामले निराश छुु ।”

त्रिपक्षीय स्पर्धा

महोत्तरी निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभातर्फ २१ जना उम्मेदवार छन् । राजनीतिक दलबाट १० र स्वतन्त्र ११ जना उम्मेदवार रहेको यस क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार हुनुहुन्छ । नेकपा (एमाले) र जसपा, नेपालबाट हरिनारायण यादव उम्मेदवार हुनुहुन्छ । पिपरा गाउँपालिकाका रामप्रकाश चौधरीका अनुसार प्रतिनिधि सभातर्फ जसपा, नेपालका यादव, लोसपाका ठाकुर र स्वतन्त्र उम्मेदवार राम आधार कापरबीच स्पर्धा हुनेछ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुर २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि हुनुहुन्छ । उहाँले दोस्रो पटक महोत्तरी क्षेत्र नं. ३ बाट उम्मेदवारी दिनुभएको छ । महोत्तरी क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ २०४८ यता दोहोरिएर निर्वाचित भएको इतिहास छैन । 

२०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी, नेपालका उम्मेदवार ठाकुरलाई यादवले समर्थन र सहयोग गर्नुभयो । नेपाली कांग्रेसबाट तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा), राष्ट्रिय जनता पार्टी र हाल लोकतान्त्रिक समाजवादी पार्टी गठनसम्म ठाकुरसँगै रहनुभएका वृषेशचन्द्र लालले तमलोपा ब्युँताएर महोत्तरी–३ बाटै उम्मेदवारी दिनुभएको छ । 

स्थानीय निर्वाचनको मतपरिणामको आधारमा सो क्षेत्रमा जसपा, नेपालको सङ्गठन बलियो देखिन्छ । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा पिपरा, जलेश्वर, एकडारा, मनरा सिस्वा र मटिहानी गरी पाँच पालिकाका ३६ वडा पर्छ । जसमध्ये जसपा नेपालबाट पाँच पालिकामा १४ जना वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेबाट नौ जना वडाध्यक्ष निर्वाचित छन् । 

जनमत पार्टीबाट मृगेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट गुलावकुमारी देवी मण्डल, नेस्नलिस्ट पिपल्स पार्टीका जीवछी देवी, राष्ट्रिय जनमुक्ति पार्टीका राम इकवाल मण्डल, तराई–मधेश लोकतान्त्रिक पार्टीका वृषेशचन्द्र लाल, एकीकृत शक्ति नेपालका एल्सा झा, नेपाल सङ्घीय समाजवादी पार्टीका इलियास अन्सारी र नेपाल सद्भावना पार्टीका ओमप्रकाश यादव उम्मेदवार हुनुहुन्छ । स्वतन्त्रबाट सरविन्द्र यादव, इन्द्रजितकुमार यादव, विनयकुमार यादव, रामबाबु सिंह, शरतचन्द्र मिश्र, मङ्गलदेव ठाकुर, कुलभूषण शेखर शर्मा, प्रदीपकुमार यादव, युसुफ साफी र शङ्करप्रसाद कापर उम्मेदवार हुनुहुन्छ । प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. ३ (क)बाट १२ जनाले उम्मेदवारी दिएका छन् भने (ख)बाट १० जना राजनीतिक दलबाट र १६ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।