• १३ असोज २०८१, आइतबार

प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आह्वान

गोपनीयता भङ्ग गरे मतगणना हुँदैन : प्रमुख निर्वाचन आयुक्त

blog

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर न्युज एजेन्सी नेपाल

काठमाडौं, कात्तिक ३० गते। निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदातालाई आह्वान गरेको छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्नुहुँदै त्यस विपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुन बमोजिम कारबाही हुने चेतावनी दिनुभएको छ। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘मतदान गर्न पाउनु अधिकार मात्रै होइन। आफ्नो प्रतिनिधि छान्ने यो अवसर प्रयोग गर्नु हरेक मतदाताको कर्तव्य पनि हो। मतदाताहरुलाई गोप्य मतदानद्वारा आफ्नो हकको सुनिश्चितता गर्नका निम्ति हामीले संविधानबमोजिम विभिन्न कानुन तथा आयोगले विभिन्न निर्देशिकाहरु जारी गरेको छ। यी सबै व्यवस्थाले कसैको डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा नपरी आफ्नो मतदान प्रयोग गर्नसक्ने, यदि कसैले त्यस्तो अवस्था सृजना गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवस्थासमेत गरिएको छ।’’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मत सङ्केत गरिसकेको मतपत्रको गोपनीयता भङ्ग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराउनुभयो। 

‘‘निर्वाचन कसुर तथा सजाय ऐनले कसैले पनि मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, अरुले देख्नेगरी प्रदर्शन गर्न, गोप्य मत सङ्केत गर्ने ठाउँमा मत सङ्केत नगरेर अन्यत्रै गएर मतदान गर्न, बाहिर गएर मतदान गर्न र मत सङ्केत गरेको व्यहोरा कुनै पनि तरिकाले कसैलाई पनि भन्न र छाप लगाएको मतपत्र छ, त्यो आफैंसँग लिएर जान हुँदैन।,’’ उहाँले भन्नुभयो।  

उहाँले निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका सम्पूर्ण बालिग मतदाताले कसैको डर, त्रास, धाक, धम्की, अवरोध वा कुनै पनि किसिमको प्रलोभनमा नपरी गोप्य रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु उनीहरुको अधिकार रहेको बताउनुभयो। 

तपाईं कसलाई मतदान गर्नुहुन्छ ? तपाईं कुन चिह्नमा मतदान गर्नुहुन्छ ? भन्ने जस्तो प्रश्न सोधी निजको गोपनीयताको हकलाई जबरजस्ती वञ्चित गर्नेगरी कुनै पनि गतिविधि गर्न नहुने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो। मतदान प्रक्रियाको गोप्यता भङ्ग भयो भने त्यो मतपत्र मतपेटिकामा नखसाली वा कसैले मत सङ्केत गरेको मत फलानो चिह्नमा सङ्केत गरिएको थाहा भयो भने त्यो मतपत्रलाई मतपेटिकामा खसालिसकेको भए त्यसो गर्ने व्यक्तिलाई कारबाही हुने उहाँको भनाइ छ। 

साथै, उहाँले मत खसाली नसकेको भए मतदान अधिकृतले त्यस्तो मतपत्रलाई छुट्टै खाममा राखेर खाममा भएको व्यहोरा उल्लेख गरी सिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्ने जानकारी दिनुभयो। त्यस्तो मतपत्र गणना गर्नसमेत नपाउने व्यवस्था छ। 

यसैगरी, यसका अतिरिक्त आफ्नो नाममा बाहेक अरुको नाममा मत हाल्न, पटकपटक मतदान गर्न जान र मतपत्र बिगार्न अथवा मतपत्र नष्ट गर्न जाली मतपत्रहरु ल्याएर मतपेटिकामा हाल्न र कुनै पनि मतपत्रलाई बिगार्ने किसिमको कुनै पनि वस्तु वा पदार्थ मतपेटिकामा हाल्न हुँदैन भने मतपत्रको साथमा आफूले सङ्केत गरेको मतपत्रको साथमा अरु कुनै किसिमको वस्तु राखेर मतपेटिकामा खसाल्नसमेत मिल्दैन। यी सम्पूर्ण कुरा कानुनद्वारा वर्जित छन्। 

मतपत्रको गोपनीयता भङ्ग भयो, मतदान कार्यमा गर्न नहुने कार्यहरु गरियो वा मतपेटिकामा खसाल्न नहुने चिज वस्तु खसालियो भने त्यस्तो अवस्थामा सम्बन्धित मतदान अधिकृतले कानुनबमोजिम त्यही केन्द्रमै निज व्यक्तिलाई दण्ड सजाय गर्नसक्ने व्यवस्था छ। 

त्यसको अतिरिक्त मतपत्रको गोप्यता भङ्ग हुँदा त्यस्ता व्यक्तिको सामाजिक जीवनसमेत अप्ठ्यारोमा पर्नसक्ने खतरा हुने प्रमुख निर्वाचन आयुक्त थपलियाको ठहर छ। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचन हुँदैछ। निर्वाचनमा यी कुराहरुलाई दृष्टिगत गरी निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावलीमा रहेका बालिग मतदाताले कसैको डर, त्रास, धाक, धम्की, अवरोध वा कुनै पनि किसिमको प्रलोभनमा नपरी गोप्य रुपले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो।’’

उहाँले मतपत्रको गोप्यता भङ्ग हुँदा व्यक्तिको सामाजिक जीवनमा समेत अप्ठ्यारो पर्नसक्ने खतरा रहेको बताउनुभयो।