• १३ असोज २०८१, आइतबार

निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा

निर्धक्क भएर मताधिकार प्रयोग गर्न गृहको आग्रह

blog

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, कात्तिक ३० गते । सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।

गृहसचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले देशका सबै ठाउँका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भ मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरु सक्षम रहेको बताउनुभयो ।

गृहसचिव सिंहले भन्नुभयो, ‘‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्थालाई सुनिश्चितता गरिएको छ । हामीले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरु सम्पन्न गरिसकेका छौँ । त्यसबाट प्रदेश र जिल्लास्तरका सुरक्षा निकायहरुसँग, समितिहरुसँग छलफल भएको छ । त्यहाँ सबै ठाउँको प्रतिवेदनको आधारमा हेर्दा सुरक्षा व्यवस्था चुस्त छ । निर्धक्क भएर मतदान गर्नसक्ने किसिमको वातावरण बनाउन सुरक्षा निकायहरु र जिल्लामा रहेका सुरक्षा निकायहरु सक्षम रहेको देखिन्छ ।’’

गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रबन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरु निर्वाचन केन्द्रमा पुगिसकेको जानकारी दिनुभयो । उहाँले मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको पनि बताउनुभयो ।

‘‘विशेष गरी निर्वाचनको सन्दर्भमा उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षा यी सबै कुराको सुरक्षालाई हामीले हेरिरहेका छौँ । सबै क्षेत्रबाट सुरक्षाको प्रत्याभूति गर्न सकिने स्थिति छ । निर्धक्क भएर मतदान गर्नसक्ने वातावरण तयार भएको देखिन्छ । १० हजार ८९२ वटा मतदान स्थलहरु रहेका छन् । त्यसमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु रहेका छन् । हरेक मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी सुरक्षा प्रयोजनलाई वर्गीकरण गरेका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘तदनुरुप नै सुरक्षाकर्मीहरु सम्पूर्ण मतदान स्थलहरुमा र मतदान केन्द्रहरुमा सुरक्षाका लागि खटिसकेका छन् । निर्वाचनका दिन र निर्वाचनभन्दा अघिको स्थिर समयमा पनि सम्पूर्ण रुपमा सुरक्षा प्रबन्धहरु गरेका छौँ । त्यसले निर्वाचनमा भयरहित र शातिन्पूर्ण निर्वाचन गराउन सक्षम हुनेछौँ । भयरहित वातावरणमा मतदाताले मतदान गर्न पाउने कुरा सुनिश्चित गरिएकाले निर्धक्क भ मताधिकारको प्रयोग गर्न आग्रह गर्दछु ।’’

प्रतिनिधिसभाका १६५ सिटमा दुई हजार ४१२ र सातै प्रदेशका ३३० सिटका लागि तीन हजार २२३ उम्मेदवार छन्  । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन् । मतदानका लागि देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र छन् । निर्वाचनका लागि दुई लाख ४७ हजार कर्मचारी खटिनेछन् ।