• १२ असोज २०८१, शनिबार

उदयपुर–१ मा डा.खड्कालाई चौधरीको पुनः चुनौती

blog

उदयपुर–१ को उम्मेदवार बन्नुभएका कांग्रेस नेता डा.नारायण खड्का र एमाले नेत्री मञ्जुकुमारी चौधरी । तस्बिर : गोरखापत्र

भक्तिविलास पोखरेल 

गाईघाट, कात्तिक ३० गते । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा उदयपुरमा चुनावी माहोल उत्कर्षमा पुगेको छ । राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु अहिले दिनरात मतदाता भेट्न घरदैलो अभियानमा व्यस्त छन् । 

यहाँको माहोल हेर्दा लोकतान्त्रिक बाम गठबन्धन, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच चौतर्फी प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं–१ मा परराष्ट्रमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्का, नेकपा एमालेकी मञ्जुकुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव रायमाझी र लोकतान्त्रिक समाजवादी पार्टीका खुशीलाल ठाकुरका बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

यसअघि तीन पटक यस क्षेत्रबाट एक्लै चुनाव जित्दै आउनुभएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा माओवादीसहितको चारदलीय गठबन्धनको साथ छ । त्यसैले यहाँ खड्काको पक्षमा पल्लाभारी हुने अनुमान गरिएको छ ।

खड्कालाई यसअघि २०७४ को निर्वाचनमा ५४८ मतले पराजित हुनुभएकी नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीले पुनः टक्कटर दिँदै हुनुहुन्छ । चौधरीको पक्षमा पनि राम्रो माहोल बनेको देखिन्छ । यस्तै, राप्रपाका ध्रुव रायमाझी र लोसपाका खुशीलाल ठाकुरको उम्मेदवारीले पनि यहाँको निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ । 

तीनवटा नगरपालिका रहेको उदयपुरको निर्वाचन क्षेत्र नं १ मा कुल एकलाख ३५ पाँचसय २५ मतदाता छन् । यहाँ ३५ वटा वडारुको ५१ स्थानमा एकसय ५३ वटा मतदानस्थलमा मतदान हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख खेमराज कोइरालाले जानकारी दिनुभयो ।