• १५ असार २०८१, शनिबार

सीमानाका बन्द हुने

blog

धनगढी समाचारदाता

धनगढी, कात्तिक ३० गते  । कैलालीसँग जोडिएको नेपाल भारत सीमानाका प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ गते राति १२ बजेदेखि बन्द हुने भएको छ । निर्वाचन सुरक्षालाई सुदृढ बनाउनका लागि स्थानीय प्रशासनले तीन दिनसम्मका लागि नाका बन्द गराउन लागेको जनाइएको छ । 

मङ्सिर ४ गते राति १२ बजेसम्म नाका बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । कैलालीमा नेपाल–भारत सीमानाका १०१ किलोमिटर रहेको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द रहने जोशीले बताउनुभयो । 

झुलाघाट नाका तीन दिन बन्द 

बैतडी समाचारदाताका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा तीन दिन (७२ घण्टा)का लागि आवागमन बन्द हुने भएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको हो ।

मङ्गलबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको झुलाघाट नाकासहित सम्पूर्ण सीमानाका मङ्सिर १ गते राति १२ः बजेदेखि मङ्सिर ४ गते राति १२ः बजेसम्म बन्द हुने जनाएको छ । 

यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्रदान हुँदै आएका अत्यावश्यकबाहेकका सबै सेवा बन्द भएको जनाएको छ । कार्यालयमा कार्यरत कर्मचारी प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि खटिएपछि २९ गतेबाट प्रशासन कार्यालयका सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । मङ्गलबार सूचना जारी गरेर प्रशासनले सेवा बन्द भएका जनाएको हो । 

प्रशासन कार्यालयका कर्मचारी निर्वाचनका लागि खटिएपछि कार्यालयमा जनशक्ति अभावले सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । अर्काे सूचना प्रकाशन नभएसम्मका लागि दैनिक सेवा प्रवाह रोकिएको उहाँले बताउनुभयो ।

पाँच हजार बहत्तर कर्मचारी खटिँदै

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न गर्न कैलालीमा पाँच हजार ७२ कर्मचारी खटिनेभएका छन् । प्रत्येक मतदान केन्द्रमा आठ कर्मचारी रहने गरी जिल्लाभरि पाँच हजार कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदान केन्द्रमा खटिनेमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी रहने जनाइएको छ । 

जिल्लाभरि दुई हजार ५१६ स्वयंसेवक खटाउने तयारी गरिएको छ । आसन्न निर्वाचन सम्पन्न गर्न स्वयंसेवकसहित जम्मा सात हजार ५८८ जनशक्ति परिचालन हुने प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । निर्वाचनमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिने कार्य पनि सम्पन्न भइसकेको जनाइएको छ ।

निर्वाचन कार्यालयका अनुसार एउटा मतदान केन्द्रमा आठ कर्मचारी र केही सङ्ख्यामा स्वयंसेवक खट्नेछन् । पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा चार र त्योभन्दा कम मतदाता रहेको केन्द्रमा तीन जनाका दरले स्वयंसेवक खटिने प्रमुख भट्टले जानकारी दिनुभयो । यसैगरी जिल्लामा १० वटा अपाङ्गतामैत्री मतदान केन्द्र बनाउने निर्वाचन कार्यालयले जनाएको छ । “यद्यपि अहिलेसम्म सामग्री आइपुगेको छैन,” प्रमुख भट्टले भन्नुभयो । 

पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा २३७ वटा मतदान स्थल र ६२९ मतदान केन्द्र छन् । यस जिल्लामा ५३ मतदान स्थल अति संवेदनशील र १३१ मतदान स्थल संवेदशनील र ५३ मतदान स्थल सामान्य रहेका छन् । 

यसैगरी १५८ अति संवेदनशील, ३४४ संवेदनशील र १२७ मतदान केन्द्र सामान्य रहेका छन् । जिल्लामा मत बदर सङ्ख्या घटाउन मतदाता शिक्षा र विभिन्न पालिकामा नमुना मतदानको कार्य भइरहेको छ । जिल्लामा पाँच लाख ३५ हजार ५१४ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।