• १२ असोज २०८१, शनिबार

हराएका विद्यार्थीको उद्धार

blog

काठमाडौँ, कात्तिक २८ गते । विद्यालयबाट छुट्टी मनाउन ललितपुरको फुल्चोकी जङ्गल पुगेका चार जना विद्यार्थी बाटो बिराएर हराएपछि ११ घण्टापछि प्रहरीले उद्धार गरेको छ । काठमाडौँको मूलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने विद्यार्थी शनिबार फुल्चोकीमा घुम्न गएका थिए । विद्यालयका नौ जना शिक्षकसहित घुम्न गएका विद्यार्थीमध्ये चार जना दिउँसो करिब २ बजे फर्किने क्रममा हराएका थिए । विद्यार्थी समूहबाट छुट्टिएर छोटो बाटो रोज्ने क्रममा खोटाङका नारायणकुमार भट्टराई, अर्घाखाँचीका अशोक विक, दोलखाका अर्जुन विक र मकवानपुर हेटौँडाका रमेश विष्ट जङ्गलमा हराएका थिए ।

शिक्षक र विद्यार्थीले साँझसम्म खोजी गर्दा फेला नपरेपछि प्रहरी प्रभाग बाडेगाउँमा खबर गरेका थिए । विद्यार्थी हराएको सूचना पाएपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट निरीक्षकसहित २० जनाको टोली खटिएका थिए । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले घना जङ्गलमा हराएका विद्यार्थीलाई ११ घण्टापछि उद्धार गरिएको जानकारी दिनुभयो । 

मध्यराति १ बजे उनीहरूलाई फेला पारेर विद्यालयका शिक्षकको जिम्मा लगाएको ललितपुर प्रहरीले जनाएको छ । जङ्गलमा घुम्न जाने र फर्किने क्रममा बाटो बिराउँदा आन्तरिक पर्यटक पटक–पटक हराउने गरेका छन् ।