• १६ भदौ २०८१, आइतबार

इमान्दार भएर जिम्मेवारी पूरा गर्न आयुक्त डा. तुलाधरको निर्देशन

blog

मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि सञ्चालित तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै निर्वाचन आयोग नेपालका आयुक्त जानकीकुमारी तुलाधर। तस्बिर : बेलिना थापा

बेलिना थापा

लमजुङ, कात्तिक २७ गते।  निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्देशन दिनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका मतदात अधिकृत र सहायक मतदान अधिकृतका लागि बेँसीसहरमा आइतबार आयोजित तालिमको उदघाटन कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । 

आयुक्त डा. तुलाधरले आफ्नो जिम्मेवारीलाई तटस्थ, इमान्दार, निष्पक्ष भएर पूरा गरी निर्वाचन सफल बनाउन निर्देशन दिनुभयो । आयुक्त डा. तुलाधरले आम मतदाताको पहुँचयोग्य मतदान केन्द्रको स्थापना, सहज वातावरण सिर्जना गर्ने कार्यमा जुटन समेत निर्देशन दिनुभयो । 

मतदाताको सार्वभौमिकताको सुनिश्चितता गर्न सहज ढंगले प्रयोग गर्न पाउने किसिमले मतदान केन्द्रको व्यवस्थापनमा ध्यान दिन उहाँले आग्रह गर्दै भन्नुभयो, “निर्वाचनको निष्ठालाई उच्च राख्दै मनोबलका साथ कर्मचारीहरू अघि बढ्नुपर्छ । आयोगले संवैधानिक दायित्व बमोजिम बालिग मताधिकारको सम्मान, लोकतन्त्रको सुदृढीकरण र जनताको सहभागितालाई सुनिश्चित गर्न आवधिक निर्वाचन सफल बनाउने जिम्मेवारी सफलताका साथ सम्पन्न गर्न विभिन्न योजना, नीति, निर्देशिका, कार्यविधि जारी गरेको छ ।”

आयोगले हरेक मतदान केन्द्रहरूलाई अपाङ्गतामैत्री, लैङ्गिकमैत्री, ज्येष्ठ नागरिकमैत्री बनाउन निर्देशन दिइसकेको बताउनुभयो । लमजुङका मुख्य निर्वाचन अधिृकत शिवप्रसाद खनालले जिल्लामा कुनै पनि दलविरुद्ध उजुरी नपरेकाले निर्वाचन आचारसंहिता पालना सन्तोषजनक रहेको बताउनुभयो ।