• १३ साउन २०८१, आइतबार

औद्योगिक ग्राम सञ्चालनमा चुनौती

blog

रजनी योगी

सुर्खेत, कात्तिक २६ गते । कर्णाली प्रदेशमै पहिलो पटक स्थापना गरिएको लघु औद्योगिक ग्रामको सञ्चालन व्यवस्थापनमा चुनौती देखिएको छ। निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि यो औद्योगिक ग्राम सञ्चालन हुन सकेको छैन।

२०७७ मा निर्माण सम्पन्न भएको यो औद्योगिक ग्रामको स्वामित्व २०७८ जेठमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले लिएको थियो। निर्देशनालयको हाताभित्रै (सुर्खेत)यो औद्योगिक ग्राम निर्माण गरिएको छ। सञ्चालन व्यवस्थापनमा अन्योल देखिएको ग्राम सञ्चालन एकाइका संयोजक टोपेन्द्र बीसीले बताउनुभयो। उहाँले भन्नुभयो, “पहिला ऐन, नियमावली र कार्यविधि नबन्दा सञ्चालन हुन सकेन। अहिले कार्यविधि बनेको छ तर उद्यमीको छनोट प्रक्रियामै सहभागिता कम छ।” 

उद्यमी छनोटका लागि निर्देशनालयले २०७९ असोज १३ गते ३५ दिने सूचना जारी गरेको थियो। यसमा तीन जना व्यवसायीले मात्र प्रस्ताव दर्ता गरेका छन्। अपेक्षाअनुसारको प्रस्ताव नआउँदा सञ्चालनमा समस्या भइरहेको बीसीले जानकारी दिनुभयो। 

दर्ता धेरै, नवीकरण न्यून

कर्णाली प्रदेशमा लघु तथा घरेलु गरी ३३ हजार ८३९ उद्योग दर्ता भएका छन्। २०४२ देखि हालसम्म सो सङ्ख्यामा उद्योग दर्ता भएका हुन्। सुर्खेतमा मात्रै साना तथा घरेलु उद्योग नौ हजार ४७९ वटा छन्। त्यस्तै दैलेखमा चार हजार ३१३, सल्यानमा दुई हजार ९६६, जाजरकोटमा तीन हजार २१७, डोल्पामा दुई हजार ३१, रुकुम–पश्चिममा दुई हजार १४५, हुुम्लामा तीन हजार २१७, जुम्लामा तीन हजार ९७ र मुगुमा एक हजार ४२५ उद्योग दर्ता भएका छन्। 

उद्योग दर्ता उत्साहजनक भए पनि दर्ता भएका धेरै उद्योग नवीकरण नभएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले बताउनुभयो। साना तथा घरेलु मात्र नभई वाणिज्यतर्फका व्यवसाय पनि नवीकरण कमै हुने गरेका छन्। प्रदेशभर छ हजारभन्दा बढी वाणिज्यतर्फका फर्म छन्।