• ९ चैत २०८२, सोमबार

सुकुम्बासी बस्ती हटाउन सूचना

blog

काठमाडौँ, कात्तिक २६ गते । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति काठमाडौँले उपत्यकाका नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारीसाधन हटाउन १० दिन समय दिएको जनाएको छ ।

समितिले उक्त अवधिभित्र नदी किनारा खाली गरेको नपाइएमा सूचनाको अवधि सकिएको मितिपछि काठमाडौँ महानगरपालिका तथा अन्य सरोकारवाला निकायसँगको सहयोग लिएर अनधिकृत संरचना भत्काइने बताएको छ । सूचनाअनुसार अनधिकृत संरचना भत्काउन क्षेत्र खाली गर्दा/गराउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुलउपर गरिने चेतावनीसमेत दिइएको छ ।

काठमाडौँ उपत्यकाभित्रका बागमती र यसका सहायक नदी किनाराको मापदण्डभित्र अनधिकृत रूपले बनाइएका घर/टहरा तथा थुपारिएका निर्माण सामग्री र सवारीसाधनका कारण नदीको दुवै किनारातर्फको सौन्दर्यकरण कार्यमा गम्भीर अवरोध पर्न गएको समितिको सूचनामा उल्लेख छ ।