• १२ असोज २०८१, शनिबार

मतदान केन्द्र लैङ्गिकमैत्री बन्नुपर्छ : प्रमुख आयुक्त थपलिया

blog

गोरखापत्र संस्थानले शुक्रबार चितवनको सौराहमा आयोजना गरेको निर्वाचन समाचार लेखन अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।

वसन्त पराजुली 

सौराहा (चितवन), कात्तिक २५ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रहरुलाई लैङ्गिकमैत्री बनाउन निर्देशन दिनुभएको छ । मतदान केन्द्रहरु अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अशक्त, सुत्केरी भएका ब्यक्तिहरुले समेत सहज रुपमा मतदान गर्नेगरी मतदान केन्द्रहरु निर्माण गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।  

गोरखापत्र संस्थानले बागमती, गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला  समाचारदाताहरूका लागि निर्वाचन समाचार लेखन अनुशिक्षण कार्यक्रमको शुक्रबार सौराहामा उद्घाटन गर्नुहुँदै प्रमुख आयुक्त थपलियाले मतदातालाई सुरक्षित छु भन्ने विश्वस्त तुल्याउने वातावरणका लागि सुरक्षा निकायसँग आग्रह गर्नुभयो । 

“सुरक्षा निकायले सुरक्षाको प्रबन्ध सबल हिसाबले गर्नुपर्छ र सूक्ष्म ढङ्गले निर्वाचनलाई असर पार्ने क्रियाकलाप भएका छन् छैनन् निगरानी राख्न जरुरी छ” उहाँले भन्नुभयो । आचारसंहिताको पालनामा चितवनले सभ्य संस्कृति देखाएको उल्लेख गर्दै छिमेकी जिल्लाहरुले पनि यसको अनुसरण गर्नुपर्नेमा जोडदिनुभयो । निर्वाचनमा दलको घोषणापत्रले प्राथमिकता पाउनुपर्ने भए पनि व्यक्तिको विचार हावी भएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।


गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले निर्वाचनलाई राष्ट्रिय पर्वका रुपमा लिन र मतदाता शिक्षालाई प्रभावकारी हुनेगरी समाचार सामग्री प्रस्तुत गर्न समाचारदाताहरुसँग आग्रह गर्नुभयो । 


संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थान आम निर्वाचनलाई सफल बनाउन दृढतापूर्वक लागिपरेको बताउनुभयो । 


कार्यक्रममा गोरखापत्रका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले छिटो समाचार दिने नाममा गोरखापत्रको विश्वसनीयता र साखलाई सुरक्षित राख्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 


दि राइजिङ नेपालका निमित्त प्रधानसम्पादक भीमसेन थपलियाले समाचार लेख्दा समावेशिता, निष्पक्षता र सन्तुलनलाई ध्यान दिन आग्रह गर्नुभयो ।  

अनुशिक्षणमा प्रमुख निर्वाचन आयुक्त थपलिया, वरिष्ठ पत्रकार प्रतीक प्रधान, गोरखापत्रका नायब कार्यकारी सम्पादक केपी गौतम, गोरखापत्र अनलाइनका निमित्त सम्पादक नारदमुनि गौतमलगायतले प्रशिक्षण दिनुभएको थियो । अनुशिक्षणमा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका समाचार संयोजक तथा समाचारदाताहरुको सहभागिता थियो । 


कार्यक्रममा गोरखापत्रका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्र, संस्थानका प्रशासन तथा बजार निर्देशक ओमप्रकाश भुसाल, संस्थानका प्रवक्ता तथा योजना शाखाकी प्रमुख बविता कार्कीले सहजीकरण गर्नुभएको थियो । गोरखापत्रले यसअघि प्रदेश १, मधेश प्रदेश, सुदूरपश्चिम, कर्णालीका समाचारदाताको अनुशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।