• १६ भदौ २०८१, आइतबार

बाध्यात्मक प्रतिस्पर्धामा पृथ्वी र देव

blog

सूर्यप्रसाद पाण्डे/बेलिना थापा

बेँसीसहर, कात्तिक २५ गते । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का देव गुरुङ हुनुहुन्छ । उहाँहरू दुवैको उम्मेदवारीमा प्रतिस्पर्धा मात्र होइन रोचक प्रसङ्ग पनि छ । दुई फरक राजनीतिक दलका प्रभावशाली नेता भए पनि दुवै जना लमजुङबाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्नुपर्छ भन्नेमा विश्वस्त हुनुहुन्न थियो । पृथ्वी लमजुङबाट प्रतिनिधि सभा नभई प्रदेश सभा सदस्यमा उम्मेदवारी दिन चाहनुहुन्थ्यो । देवलाई पनि पार्टीको स्थानीय समितिले कास्की जिल्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको थियो ।

तर अन्तिम समयमा वाम तथा लोकतान्त्रिक गठबन्धन दलबीच सिट बाँडफाँट मिलाउने क्रममा देव गुरुङको भागमा लमजुङ प-यो । आफूलाई गण्डकी प्रदेशमा भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्दै २०७४ सालको निर्वाचनमा जस्तै प्रदेशमा जान चाहेका पृथ्वीसुब्बालाई पनि पार्टीले प्रतिनिधि सभा सदस्यकै उम्मेदवारका रूपमा अघि सा-यो । यस अवस्थाले दुई पार्टीका यी दुई हस्ती चाहना नहुँदानहुँदै पनि प्रतिस्पर्धामा होमिन बाध्य हुनुभएको छ । जसका कारण आफ्नो पक्षमा जित हासिल गर्न दुवै उम्मेदवारलाई निकै सकस भएको जिल्लामा जारी चुनावी गतिविधिले देखाउँछ । निर्वाचन आयोगको विवरणअनुसार उहाँहरू दुवै जनाको उमेर ६४ वर्ष छ । देव माओवादी केन्द्रका महासचिव हुनुहुन्छ भने पृथ्वी एमालेका उपमहासचिव । यस हिसाबले पनि उहाँहरूबीचको प्रतिस्पर्धा अझै रोचक हुने आकलन मतदाताले गरेका छन् । 

दुवै नेतालाई चुनावी नतिजामार्फत आफूलाई प्रमाणित गर्न र पार्टीभित्रको राजनीतिमा सम्भावना जिउँदै राख्नुपर्ने बाध्यता परेको स्थानीय हरि घलेले बनाउनुभयो । “पार्टीमा र जिल्लामा दुवै नेताको छवि राम्रो रहेको हामीले पाएका छौँ,” उहाँले भन्नुभयो, “स्थानीयको समर्थन पनि उहाँहरू दुवैलाई राम्रै छ । तसर्थ हार–जित भए पनि धेरै मतान्तर नहुने जस्तो देखिन्छ ।” अघिल्लो निर्वाचनमा आठ हजार ४३४ मत अन्तरले विजयी हुनुभएका गठबन्धनका उम्मेदवार देव गुरुङले अहिले पनि राम्रै मतान्तरले जित्ने माओवादीका स्थानीय नेताहरूको दाबी छ । जिल्लाका ग्रामीण भेगमा चुनाव प्रचारप्रसारमा व्यस्त रहनुभएका उहाँ स्वयं पनि यस पटक पनि जनताको समर्थन आफूलाई रहने दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “मलाई साथीहरूले कास्की लैजान पनि निकै लबिङ गरिरहनुभएको थियो । यताकाले पनि लमजुङ नै ल्याउन खोज्नुभएको थियो । अन्त्यमा पार्टीले निर्णय गरेर यता ल्यायो । मेरो एकल चाहनाले मात्रै हुन्न । यता आए पनि चुनाव जितिन्छ ।”

पृथ्वीसुब्बा जिल्लामा विकासवादी नेता भनेर चिनिनुहुन्छ । गण्डकी प्रदेशको मुख्यमन्त्री भएको समयमा प्रदेशको अधिकार केन्द्र सरकारले खोस्न नहुने र संविधानप्रदत्त प्रदेशको अधिकारमाथि हस्तक्षप हुने गरी भएका क्रियाकलापको डटेर सामना गरेका कारण पनि उहाँको लोकप्रियता जिल्लामा मात्रै नभएर गण्डकी प्रदेशमै उत्कृष्ट रहेको पार्टीको जिल्ला कमिटीका सचिव सुवास पौडेलले बताउनुभयो । लमजुङमा आठवटा स्थानीय तह छन् । जसमध्ये गत स्थानीय निर्वाचनमा कांग्रेसले दूधपोखरी गाउँपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाको प्रमुख जितेको थियो । एमालेले सदरमुकामसमेत रहेको र धेरै मतदाता रहेको बेँसीसहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र क्व्होँलासोँथर गाउँपालिकाको प्रमुख जितेको थियो । माओवादीले यस जिल्लामा कुनै पनि स्थानीय तह जितेको छैन तर पनि गठबन्धन दलको समर्थन भएका कारण आफूहरूलाई चुनाव जित्न सजिलो हुने उक्त पार्टीको विश्लेषण छ । 

शिक्षण पेसा छाडेर पहिलो पटक २०४३ सालको पञ्चायती चुनावमा जनपक्षीय उम्मेदवार बन्नुभएका उहाँ पटक/पटक (२०४८, २०५१ र २०५८ सालमा) निर्वाचनमा होमिनुभएको थियो तर २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा मात्रै विजयी बन्नुभएको थियो । २०७० सालको निर्वाचनमा भने कांग्रेसका चन्द्रबहादुर कुँवरसँग ६७२ मतले पराजित हुनुभयो । पहिलो संविधान सभा चुनावमा मनाङ र कास्कीबाट विजयी बनेका देव गुरुङले २०७० सालको चुनावमा पार्टी विभाजनपछि मोहन वैद्य खेमामा लागेर निर्वाचन बहिष्कार गर्नुभएको थियो । फेरि एमालेसँग गठबन्धन गरेर २०७४ सालमा लमजुङबाटै विजयी हुनुभएका उहाँलाई अहिले भने पाँचदलीय गठबन्धनको साथ छ । उहाँ २०७४ सालमा आठ हजार ४३४ मत अन्तरले विजयी हुनुभएको थियो ।