• १६ भदौ २०८१, आइतबार

विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्‍याली (फोटोफिचर)

blog

विश्व विज्ञान दिवसको अवसरमा आज काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, कात्तिक २४ गते । विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्‍याली गरिएको छ । बिहीबार काठमाडौंको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्‍याली गरिएको हो ।

आज विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंसहित देशभर नै विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अबको एजेण्डा, विज्ञान, संस्कृति र रोजगारी भन्ने नारासहित यस वर्ष विश्व विज्ञान दिवस मनाइँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले जलवायु परिवर्तनको कारण धेरै समस्या सिर्जना भइरहेकाले यसबाट बच्न सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।


उहाँले भन्नुभयो, ‘‘अहिले जलवायुको परिवर्तनले धेरै असर पुर्याएको छ, यसबाट बच्नुपर्छ । हामीले विदेशीको सिको नगरी कन यहाँको रैथाने प्रवृत्ति के हो ? संस्कृति कसरी विज्ञानमय छ ? विज्ञान कसरी संस्कृतिमय छ त्यसको बारेमा बुझ्नुस् । रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर अघि बढ्नुस् ।’’


त्यस्तै, विश्व विज्ञान दिवसको अवसरमा आयोजित मार्च फर साइन्स कार्यक्रमलाई सम्बोधन गर्दै नास्टका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोखरेलले अधिकांश राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणापत्रमा विज्ञानलाई आत्मसाथ गरेको र विज्ञानको लगानीलाई बढाउने प्रतिबद्धता जनाएकाले प्रतिज्ञाको परिपूर्ति गर्नेमा आशावादी रहेको बताउनुभयो । उहाँले विज्ञानको क्षेत्रमा लगानी बढेपछि विज्ञानले नेपालमा पनि फड्को मार्ने धारणा राख्नुभयो ।
विश्व विज्ञान दिवसको अवसरमा आयोजित मार्च फर साइन्समा विभिन्न सङ्घ तथा शिक्षण संस्थाहरुको उपस्थिति थियो ।