• १३ साउन २०८१, आइतबार

सबल प्रदेश बनाउने एमालेको प्रतिबद्धता

blog

प्रकाशविक्रम शाह

धनगढी, कात्तिक २३ गते । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिमलाई सबल प्रदेशको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘सुन्दर सुदूरपश्चिम, समृद्ध सुदूरपश्चिम, पाँच वर्ष, एमालेको सङ्कल्प !’ नारासहितको एमाले सुदूरपश्चिम प्रदेशको २७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दे इन्चार्ज भट्टले सो प्रतिबद्धता जनाउनुभएको हो ।

प्रतिनिधि सभाका १६ मध्ये १० र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक तर्फ गरेर ५३ मध्ये प्रदेश सरकार बन्ने गरेर ३० सिटमा एमालेले आगामी निर्वाचनमा जित हासिल गर्ने दाबी पनि उहाँले गर्नुभयो । आफूहरूले प्रदेश सभामार्फत घोषणा गरेको गोदावरी राजधानी गठबन्धन सरकारका कारण बन्न नसकेको उहाँले आरोप लगाउनुभयो ।

जारी प्रतिबद्धतापत्रमा प्रदेश सुशासनको आधार‐नीतिगत र संरचनागत क्षेत्रमा सुधार, आत्मनिर्भर प्रदेशको अभियान‐राजश्व सङ्कलन र स्रोत व्यवस्थापन, प्रदेशवासीको अधिकारको रक्षा, नागरिकरहितको सुरक्षा,  पूर्ण साक्षर प्रदेश र उद्यमशील शिक्षित युवा, स्वस्थ नागरिक ‐सबल प्रदेश र स्वच्छ पानी, सफा वातावरणका लागि काम गर्ने उल्लेख छ । 

यस्तै, उन्नत र आधुनिक कृषि, सुदूरपश्चिम प्रदेशको समृद्धि, वातावरण संरक्षण तथा व्यवस्थापन, पर्यटन विकास ‐ प्रदेश समृद्धिको आधार, ‘मेक इन सुदूरपश्चिम’ अभियान, सहज आवागमनको आधार ‐ दिगो यातायातको पूर्वाधार, मर्यादित जीवनका लागि आवासविहीनलाई सुरक्षित आवास लगायतका विषय प्रतिबद्धतापत्रमा उठाइएका छन् ।

सोहीअनुसार सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता, सबैलाई बिजुली बत्ती ‐ विद्युतबाटै प्रदेशको उन्नति,  खेत बारीमा पानी ‐दोब्बर हुन्छ उब्जनी, व्यवस्थित सहर ‐ स्वच्छ र हरियाली बस्ती, सहकारीबाट व्यवसाय प्रवर्द्धन ‐ नागरिकको आर्थिक उन्नयन, सरल सहज सार्वजनिक सेवा, सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार लगायतको प्रतिबद्धता पनि सो दलले गरेको छ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य लीला भण्डारी, छाया थापा सन्तोष, पूर्व केन्द्रीय सदस्य महेश्वर पाठकलगायतको उपस्थिति थियो । कार्यक्रम प्रदेश सचिव धर्मराज पाठकको अध्यक्षतामा भएको थियो ।