• २१ वैशाख २०८१, शुक्रबार

चलचित्रमा मुना

blog

गत भदौ २४ मा प्रदर्शनमा आएको एउटा बाल चलचित्रले निकै चर्चा बटुल्यो । बाल मनोविज्ञानमा आधारित उक्त फिल्मको नाम हो– ‘ऐना झ्यालको पुतली’ । यो यतिबेला चलचित्र क्षेत्रकै चर्चित एकेडेमी (अस्कर) अवार्डको अर्को वर्ष हुने प्रतिस्पर्धाका लागि नेपालबाट सिफारिस गरिने भएको छ । यो त झनै खुसीको कुरा हो । विदेशका विभिन्न सहरमा पनि प्रदर्शन भइरहेको छ ।

चलचित्रमा ‘मुना पत्रिका’ मा आएका रचना पढ्न र आफूले पठाएका रचना आए नआएको हेर्न विद्यार्थीको तँछाड मछाडको दृश्य पटक पटक हेरिरहुँ लाग्ने किसिमको छ । यसैले पनि बालबालिकाका लागि उक्त चलचित्र ज्ञानवद्र्धक छ । कथासारभित्र साथीभाइ, शिक्षक, गाउँ र बालापन फिल्ममा सजीव रूपमा प्रस्तुत भएका छन् । 

फिल्ममा मुना पत्रिकाले पनि विशेष भूमिका पाएको छ । चलचित्र मुना किताबमा आएका रचना पढ्न र आफूले पठाएका रचना आए नआएको हेर्न तँछाड मछाडको दृश्य पटक–पटक हेरिरहुँ लाग्ने किसिमको छ ।

कलिलै उमेरमा बिहे गर्न बाध्य बनाइएको कुरालाई चलचित्रमा देखाइएको छ । त्यस समयमा गाउँमा ८ कक्षासम्म पढाइ हुने विद्यालय मात्र हुन्छ । माध्यमिक तह सकेर छात्रवृत्तिमा नाम निकालेर उच्च शिक्षाका लागि बजारमा गएर पढ्ने विद्या(कञ्चन चिमरिया)को सपनालाई फिल्मको मुख्य विषय बनाइएको छ । 

यस्तैमा विद्यालयमा एकदिन पालेदाइले ‘मुना किताबमा रचना छाप्नु छ भने दिइहाल्नु है’ भनेर भन्छन् । मुनामा रचना छापिएमा पैसा पनि पाइने हुँदा दिदीको रोकिएको पढाइ पूरा हुने सोचेर वसन्त त्यसका लागि ज्यान दिएर लाग्छन् । उनले झाडीमा मिल्काएको दिदीको कविता मुना किताबमा छाप्नका लागि पालेदाइमार्फत हुलाकमा पठाउँछन् । 

विद्याको कविता मुनामा छापिन्छ पनि । सोही समयमा अचानक विद्या बिहे गरेर पराइघर जान तयार भइरहेका बेला वसन्तले मुना किताब ल्याउँछन् । विद्याको बिहेको तयारी भइरहेका बेला वसन्त मुना किताब लिएर घर पुग्छन् । विद्याले कविता लेख्ने कुरा उनका हजुरबाले पनि पत्याउँदैनन् । वसन्तले विद्याले लेखेको पुतलीका पखेटाजस्तै रङ लिएर पुतलीझैँ टाढा–टाढा पुग्ने सपना र रहर बोकेको कविता वाचन गर्दा आमाका आँखा रसाउन थाल्छन् । दर्शकलाई पनि त्यसले टिलपिलटिलपिल पार्छ । यसरी फिल्मले त्यस समयको कुरीति बालविवाहमाथि धेरै प्रश्न गर्ने काम गरेको छ । कलिलैमा बिहे हुँदा धेरै सपना र प्रतिभा नासिएको कुरालाई चलचित्रले देखाएको छ ।

वसन्तका एक जना साथी छन् बाङ्गे । बाङ्गेका पनि बुवा गैरजिम्मेवार भएका हुँदा उनले काठमाडौँमा आफन्त रहेको र त्यहाँ गएर धेरै पैसा कमाएर ल्याउने बताउँछन् । यसले कोही बालक सहर किन पस्छ भन्ने कुरालाई देखाएको छ ।