• १३ साउन २०८१, आइतबार

चुनावका बेला बसोबासीको मुद्दा

blog

धनगढी समाचारदाता

धनगढी, कात्तिक २३ गते । कैलारी गाउँपालिका–७, भुइयाँफाँटाका महावीर चौधरी अव्यवस्थित रूपमा बसोबास गरेको डेढ वर्ष पुग्न लाग्यो। २०६५ को बाढीका कारण विस्थापित उहाँको परिवार रामपुर क्षेत्रमा अव्यवस्थित बसोबासीका रूपमा बस्दै आएको छ। चौधरीले भन्नुभयो, “यहाँ बसेको १४ वर्ष पुगिसक्यो तर जग्गाको लालपुर्जा मिलेको छैन।”

हरेक पटक चुनाव आउँदा नेताले आफूहरूको समस्या सम्बोधन गर्न पहल गर्ने आश्वासन दिने गरेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “भन्न त लालपुर्जा मिल्छ भनेर सबैले भन्छन् तर अहिलेसम्म जग्गाको लालपुर्जा पाएका छैनौँ।” 

गाउँवासीले नेतासमक्ष बस्ती व्यवस्थित हुनुपर्ने कुरा उठाइरहेको चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो, “नेताले हाम्रो समस्या सम्बोधनका लागि पहल गर्ने अपेक्षा छ। हामी अव्यवस्थित बसोबासीको समस्या उठाउने नेतालाई आगामी निर्वाचनमा भोट दिन्छौँ।”

त्यस्तै मसराम चौधरी सुकुम्बासी परिवारको हुनुहुन्छ। उहाँको परिवारले मोहना नदी किनारमा ऐलानी जग्गा खनजोत गरेर गुजारा गर्दै आएको छ। तर, सुकुम्बासीले उपभोग गर्दै आएको जग्गा नदीले कटान गर्न थालेको छ। चौधरीले भन्नुभयो, “गुजाराका लागि भएको सानो जग्गा पनि नदीले कटान गरेर लगेमा हामी त भोकभोकै रहने अवस्था आउँछ । यो वर्षदेखि खेत कटान सुरु भएको छ। कटान रोकथामका लागि केही गरिएन भने अर्को वर्षसम्म हाम्रो त जग्गै रहँदैन।” 

उहाँले नदी कटान नियन्त्रणका लागि तटबन्ध गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “भोट माग्न आउने नेताहरूलाई हाम्रो खेत जोगाउनका लागि तटबन्धको पहल गर्न आग्रह गर्ने गरेका छौँ। यदि सुनुवाइ भएन भने नेतालाई चुनावमा जिताउनुको कुनै अर्थ छैन।” 

विगतमा नदी कटान नियन्त्रणका लागि तटबन्ध नगरिँदा कटानका कारण गाउँ नै विस्थापित भएको थियो। विस्थापनको तितो अनुभवसमेत भोग्नुभएका चौधरीले भन्नुभयो, “अब खेत पनि नरहने अवस्था सिर्जना हुँदै छ। खेतै रहेन भने हामी के खाने ? बालबच्चा कसरी हुर्काउने, बढाउने ?”

महावीर र मसरामजस्तै कैयौँ सुकुम्बासी र अव्यवस्थित बसोबासीले आ–आफ्नो ठाउँको साझा समस्या सम्बोधनका लागि कुरा उठाउन थालेका छन्। निर्वाचन प्रचारको सिलसिलामा उम्मेदवार, नेता, कार्यकर्ता गाउँघर पुग्न थालेपछि स्थानीयले पनि भोट त दिने तर आफूहरूको समस्या पनि समाधान हुनु पर्ने अडान राख्न थालेका हुन्। 

अव्यवस्थित बसोबासीलाई जग्गाको लालपुर्जा वितरणका लागि प्रक्रिया अगाडि बढे पनि लालपुर्जा भने अझै नमिलेको भुइयाँफाँटाकै स्थानीय वृजनारायण चौधरीले बताउनुभयो। 

उहाँले भन्नुभयो, “गाउँपालिकाले फाराम सङ्कलन गरिसकेको छ तर लालपुर्जा मिल्ने÷नमिल्ने अहिलेसम्म कुनै निश्चित छैन।”

उहाँले भन्नुभयो, “हाम्रो काम चाँडै हुनुपर्छ। हामीलाई छिट्टै पुर्जा दिलाउनका लागि नेताले आवाज उठाउनु पर्छ।”

कैयौँ ग्रामीण सडक अझै पनि अस्तव्यस्त छन्। कतिपय आधारभूत विकासका आधार पनि तयार भइसकेका छैनन्। विकासमा पछाडि परेको ठाउँमा सडकलगायत अन्य पूर्वाधार निर्माण निर्वाचनका बेला मुद्दा त बन्ने गरेका छन् तर पूरा हुँदैनन्। 

सडक, पुलपुलेसा निर्माणलगायतका अन्य कुरा पनि बढीजसो चुनावमै उठ्ने गरेको उल्लेख गर्दै सूर्य चौधरीले भन्नुभयो, “नेताले प्रतिबद्धताअनुसार काम गर्न आवश्यक छ।” चुनावको बेला मतदाता फकाउनका लागि थुप्रै प्रतिबद्धता गर्ने तर जितेपछि जिताउने मतदाताका समस्याबारे गम्भीर नहुने परिपाटी पनि रहेको उल्लेख गर्दै चौधरीले भन्नुभयो, “धेरै आस त छैन। तैपनि, प्रतिबद्धताअनुसार काम गरिदिए सबैलाई सहज हुने थियो।”