• १३ साउन २०८१, आइतबार

झापा निर्वाचन क्षेत्र नं. ३

गणतन्त्रवादी र राजतन्त्रवादीबीच प्रतिस्पर्धा

blog

प्रकृति अधिकारी / लीलाराज खड्का 

बिर्तामोड (झापा), कात्तिक २२ गते । गणतन्त्र स्थापनार्थ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कृष्णप्रसाद सिटौला र राजतन्त्रका पक्षधर राजेन्द्र लिङ्देनबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। 

गत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा लिङ्देन विजयी हुनुभएको थियो भने सिटौलाको पराजय भएको थियो। चुनावी मैदानमा दुवै उम्मेदवार पुनः आमनेसामने भएकाले उहाँहरूबीचको प्रतिस्पर्धालाई लिएर झापा निर्वाचन क्षेत्र नं. ३ मा चर्चा र चासो बढेको छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री सिटौला गठबन्धनका तर्फबाट र राप्रपाका अध्यक्ष लिङ्देन नेकपा (एमाले)को समर्थनमा उम्मेदवार हुनुहुन्छ। अघिल्लो निर्वाचनमा लिङ्देनले एमाले र माओवादीको साथ पाउनुभएको थियो। यस पटक माओवादीको साथ सिटौलालाई छ। यस क्षेत्रमा १७ जनाको उम्मेदवारी परे पनि अन्यको खासै प्रभाव देखिँदैन।   

पछिल्लो समयमा सहरीकरण र विकास निर्माणमा अग्र देखिएको झापामा राजनीतिक विचार धाराका आधारमा जित–हारको प्रतिस्पर्धाले चुनावी माहोल तातिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै आयोजित आमसभामा राप्रपा अध्यक्ष लिङ्देनको जितलाई एमालेका नेता तथा कार्यकर्ताले आफ्नो प्रतिष्ठाको विषय बनाउनुपर्ने बताउनुभएको थियो। तर, एमालेका असन्तुष्ट नेता भने उम्मेदवार लिङ्देनका पक्षमा नखुल्दा तौल कसको पक्षमा भारी रहन्छ भन्न सकिने अवस्था देखिएको छैन। हुन त दुवै उम्मेदवारले आफ्नो जित निश्चित भएको दाबी गर्दै आउनुभएको छ।

उम्मेदवार लिङ्देनले स्थानीय चुनावको गणितलाई आत्मविश्वास आर्जन गर्ने आधार बनाउनुभएको छ भने सिटौलाले त्यो गणितभन्दा आफ्नो राजनीतिक एजेन्डालाई मुख्य अस्त्रका रूपमा प्रयोग गर्नुभएको छ। एमालेका नेता डम्बर गिरीले लिङ्देनविरुद्ध बागी उम्मेदवारी दिनुभएकाले लिङ्देनलाई असर गर्ने विश्लेषण राजनीतिक वृत्तमा गरिँदै आएको छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा एमाले र राप्रपाका वडाध्यक्षका उम्मेदवारले पाएको मत सत्ता गठबन्धनका दलहरूको भन्दा धेरै थियो। एक लाख ३१ हजार ४३२ मतदाता रहेको झापा क्षेत्र नं. ३ मा भद्रपुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८, हल्दिबारी, बाह्रदसी र कचनकवलका सबै वडा तथा बिर्तामोड नगरको वडा नं. १० सहित जम्मा २८ वटा वडा पर्छन्। 

स्थानीय तह निर्वाचनमा यस क्षेत्रका वडामध्ये कांग्रेस एक्लैले १६ वटा वडा जितेको थियो भने राप्रपाले पाँच, एमालेले चार, माओवादीले दुई र एउटा वडा स्वतन्त्र उम्मेदवारले जित हात पारेका थिए। यस क्षेत्रमा एमालेका वडाध्यक्षले पाएको मत मत २१ हजार ८५, कांग्रेसको २५ हजार ९४९, राप्रपाको २१ हजार १५९, माओवादी केन्द्रको छ हजार ६८८, जनता समाजवादी पार्टीको ५३७ र नेकपा (एकीकृत समाजवादी)को १२ मत थियो। २०७४ सालको निर्वाचनमा लिङ्देनले ४४ हजार ६१४ र सिटौलाले ३१ हजार १५९ मत प्राप्त गर्नुभएको थियो। 

गठबन्धनका नेताहरूले भने अघिल्लो प्रतिनिधि सभा निर्वाचन र पछिल्लो स्थानीय तह निर्वाचनको गणितले आउँदो निर्वाचनमा अर्थ नराख्ने दाबी गर्दै आएका छन्। गएको स्थानीय तह निर्वाचनमा यसै निर्वाचन क्षेत्रमा पर्ने कचनकवल गाउँपालिकामा राप्रपाविरुद्ध कांग्रेस–एमालेले गठबन्धन गरेर विजयी हासिल गरेका कारण यस्तो गणितीय जोड–घटाउको अर्थ नरहने तर्क गठबन्धनका नेताहरूको छ। भद्रपुर नगरपालिकाका प्रमुखसमेत रहनुभएका कांग्रेस क्षेत्रीय सभापति गणेश पोखरेलले पुरानो हिसाबले काम नगर्ने तर्क गर्नुभयो। जबकी राप्रपा नेतासमेत रहनुभएका कचनकवल गाउँपालिकाका पूर्वअध्यक्ष अन्जार आलमले विकासमा कायापलट लिङ्देनकै कारण भएकाले जित सुनिश्चित भएको दाबी गर्नुभयो।

२०४८ यताका सबै निर्वाचनमा यसै क्षेत्रबाट कांग्रेस नेता सिटौला उम्मेदवार रहँदै आउनुभएको छ। उहाँले हालसम्म तीनवटा निर्वाचनमा जित र तीनवटा निर्वाचनमा पराजयको सामना गर्नुपरेको छ। यस पटक गठबन्धन दलका तर्फबाट सिट बाँडफाँट समितिका संयोजकको जिम्मेवारी सिटौलाले पाउनुभएको थियो।

नेता सिटौलाले यस क्षेत्रको विकास र नेपालले अङ्गीकार गरेको राजनीतिक व्यवस्थाको सुरक्षा र संवैधानिक व्यवस्थाको रक्षालाई मुख्य मुद्दा बनाउनुभएको छ भने राप्रपा अध्यक्ष लिङ्देनले विकाससँगै राजतन्त्र, हिन्दू राज्य स्थापना र सङ्घीयता खारेजी आफ्नो मुख्य चुनावी एजेन्डा बनाएर मत मागिरहनुभएको छ। 

उम्मेदवार सिटौलाले यस क्षेत्रमा विगतमा निर्वाचित हुँदा निर्माणका ठूला–ठूला योजना, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइलगायतका क्षेत्रमा पर्याप्त काम भए तर पछिल्लो पाँच वर्षमा कुनै पनि काम हुन नसकेको बताउँदै भन्नुभयो, “मैले विगतमा गरेका कामका आधारमा पनि यस क्षेत्रका मतदाताले मलाई समर्थन गरेका छन्, मत दिनेछन्।” उहाँले नेपाली जनताको न्याय, समानता र स्वतन्त्रताका निमित्त आफूले गरेको सङ्घर्षलाई झापा निर्वाचन क्षेत्र नं. ३ का गणतन्त्रवादी जनताले भुलेका छैनन् भन्दै जनआन्दोलनमा शाही सरकारको मतियार बनेर जनतालाई गोली हान्नेलाई मत नदिई आफूजस्तो शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, राजनीतिक व्यवस्था परिवर्तन र विकास निर्माणमा गरेको योगदानको यहाँका जनताले नभुलेको बताउनुभयो।

एउटा पार्टीको एउटा सांसद संसद्मा जाँदा त्यसले राष्ट्रिय मान्यता पनि प्राप्त नगरेको, सरकारमा पनि समावेश नभएको र मन्त्री बन्ने अवस्था पनि नरहेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “त्यस्ता व्यक्तिले जित्दा राष्ट्रिय योजना पनि ल्याउन सक्दैनन्। अघिल्लो पटक मतदाताले गरेको गल्तीलाई सच्याउने अवसरका रूपमा यस निर्वाचनमा लिनेछन् भन्नेमा म विश्वस्त छु।” 

उम्मेदवार लिङ्देनले विगतमा मेची र बिरिङ दुई ठूला नदी यस क्षेत्रको पीडाका रूपमा रहेको तथा कतिपय स्थानका बासिन्दाले कालोपत्रे सडक हेर्न नपाएको अवस्था थियो भन्दै पाँच वर्षभित्र नदी कटान र कालोपत्रेको समस्या समाधान भएको दाबी गर्नुभयो। “अब कालोपत्रे सडकले नछोएका कुनै वडा छैनन्” उहाँले भन्नुभयो, “हामी आएपछि यस क्षेत्रमा सौर्य विद्युतीय तारबारको व्यवस्था गरियो र हात्ती आतङ्क हटेको छ।” अब केही साना खोलामा पुल र तटबन्धको काम बाँकी रहेको उल्लेख गर्दै ती बन्न सुरु भइसकेको उहाँले बताउनुभयो। 

जनताको साथ र समर्थन नै आफ्नो जितको मुख्य आधार रहेको बताउँदै उहाँले भन्नुभयो, “बितेको पाँच वर्षमा मैले विकास निर्माणमा महìवपूर्ण काम गरेँ। संसद्मा मैले फरक धारको भूमिका निर्वाह गरेँ। इमान र नैतिकता रहेकाले जिताउनुपर्छ भन्ने आममतदाताको धारणा छ। हामीसँग हाराहारीमा मत रहेको एमालेसँग सहकार्य गरिरहेकाले गणितका हिसाबले पनि निर्वाचन जित्न कुनै समस्या छैन।”