काठमाडौँ, कात्तिक २१ गते । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो ।
विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपियाँ नाफा भएको थियो ।
कात्तिक १५ गते (नोभेम्बर १)मा इन्धनको मूल्य बढेर आएकाले निगमको नाफा १५ दिनको अवधि (नोभेम्बर १ देखि १५ सम्म)मा घटेर १८ करोड रुपियाँमा पुग्ने अनुमान छ । नाफा हुँदा पनि बजारमा मूल्य नघटाउँदा उपभोक्ताले गुनासो गर्ने गरेका छन् । गत अगस्ट १६ (साउन ३१ देखि असोज १५ गते) अक्टोबर १ सम्म इन्धनको मूल्य घटेर आएको थियो । तीन पटक मूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएन । मूल्य घटेर आए पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम नाफामा गएको हो ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि निगमले मूल्य नघटाउँदा त्यसको मारमा उपभोक्ता परेको बताउनुभयो । घाटा देखाएर मूल्य घटेर आउँदा मूल्य नघटाउनु उपभोक्ता हितविपरीत भएको उहाँको भनाइ छ ।
गत अक्टोबर १६ (असोज ३०)देखि इन्धनको मूल्य बढेर आएको हो । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटरमा पाँच रुपियाँ ७६ पैसा, मट्टितेल प्रतिलिटरमा चार रुपियाँ एक पैसा, हवाई इन्धन चार रुपियाँ ७७ पैसा, पेट्रोल प्रतिलिटर ६१ पैसा बढेर आएको छ । ग्यासमा प्रतिसिलिन्डर ५८ रुपियाँ १० पैसा घटेर आएको निगमको जनाएको छ । निगमका अनुसार ग्यास प्रतिसिलिन्डरमा २२८ रुपियाँ ८४ पैसा र डिजेल प्रतिलिटरमा १२ रुपियाँ १४ पैसा घाटा छ । ग्यास र डिजेलबाहेक अन्य पेट्रोलियम पदार्थमा नाफा छ ।
पछिल्लो मूल्यसूची बढेर आए पनि निगम १५ दिनमा १८ करोड रुपियाँ नाफामा छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा देखिएको, डलरसँग नेपाली मुद्रा कमजोर भएकाले हाललाई इन्धनको मूल्य घटाउन नसकिने जानकारी दिनुभयो ।
“अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आउँदा घटाउनुपर्ने हो, तेल खरिद गरेबापतको रकम भुक्तानी गर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन सकिएन,” उपाध्यायले भन्नुभयो । सरकारले कर कटौती गर्ने भन्दै गत असार ११ गते पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपियाँ घटाएको मूल्य रिकभर नभएकाले घटाउन नसकिएको उहाँले जानकारी दिनुभयो । ।