• १९ असोज २०८१, शनिबार

‘वार्षिक कार्ययोजना र वार्षिक खरिद योजना अन्तरसम्बन्धित भएको विषयलाई बोध गरौँ’

blog

काठमाडौं महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ र स्लाइसिङका विषयमा छलफल । तस्बिर : काठमाडौं महानगरपालिका

काठमाडौं, कात्तिक २० गते । काठमाडौं महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ र स्लाइसिङका विषयमा छलफल भएको छ । आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको अध्यक्षतामा विभागीय प्रमुख र परामर्शदाता सामयिक सेवा केन्द्रका अधिकारीबीच उक्त विषयमा छलफल भएको हो ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले महानगरको वार्षिक कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना र खरिद गुरुयोजना अन्तरसम्बन्धित भएको बताउनुभयो ।

‘‘निर्माणकार्य गर्नुपर्ने सार्वजनिक निर्माण विभाग र सम्पदा तथा पर्यटन विभागले अलि धेरै काम गर्नुपर्नेछ ।,’’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘‘मङ्सिरबाट धेरै काम सुरु हुने विभागीय प्रमुखहरूको भनाइ छ । यस अघि थालिएका कार्यक्रमलाई निरन्तरता दिनुहोला । पछाडि फर्किनुपर्दैन । गर्न बाँकी योजनालाई प्याकेजिङ् गरेर एउटै प्याकेजबाट काम गरौँ । यसबाट नतिजा मापन गर्न सजिलो हुन्छ ।’’

छलफलमा नगर सभाबाट वडा, विभाग, आयोजना र कार्यक्रमका स्वीकृत योजनामध्ये एउटै प्रकारका योजनालाई प्याकेज बनाएर खरिद गर्ने विषयमा छलफल भएको थियो । यस क्रममा परामर्शदाताबाट प्रकृति मिल्ने योजनालाई संयुक्त र नमिल्नेलाई एकल योजनाका रूपमा प्रस्ताव पेस भएको थियो । विभागीय प्रमुख तथा कार्यक्रम सम्बन्धित अधिकारीले प्रस्तावित योजना प्याकेजिङ् गर्दा हुने सबल र कमजोर पक्षका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

यसरी प्याकेजिङ्/स्लाइसिङ् गरिएका योजनालाई बोलपत्र, दरभाउ पत्र, सोझै खरिद र उपभोक्तामार्फत हुने खरिदका सबल र दुर्बल पक्ष छलफलको अर्को विषय थियो । चालु आर्थिक वर्षका लागि महानगरले एक हजार ४८० वटा योजना स्वीकृत गरेको छ । यी योजनालाई खरिदसम्बन्धी कार्य विभाजन र खरिद कार्यको वर्गीकरणअनुसार प्याकेजिङ् गरेर एक हजारको हाराहारीमा राख्न सकिने देखिएको छ । परामर्शदाताबाट प्राप्त प्रस्तावका विषयमा जानकारी दिँदै खरिद एकाइका प्रमुख ध्रुव काफ्लेले भन्नुभयो, ‘‘योजनाको प्याकेजिङ् र स्लाइसिङ् नयाँ अभ्यास हो । यसभन्दा तलका वार्षिक खरिद योजना र खरिद गुरुयोजनामा हामीले यस अघि पनि काम गरेका थियौँ । यस वर्षबाट प्याकेजिङकाे काम थालिएको छ ।’’