• १३ साउन २०८१, आइतबार

शनिबार विद्यालय पढ्न पाएपछि विद्यार्थी खुसी

blog

बूढीनन्दा नगरपालिका –७ सिद्धेश्वरी आधारभूत विद्यालयमा शनिबार पढ्दै गरेका बालबालिका । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, कात्तिक २० गते । वर्षको ६ महिना पनि विद्यालय जान नपाएका बालवालिका  शनिबार र बिदाको दिनमा समेत विद्यालयमा पढ्न पाएपछि खुशी भएका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्र बुढीनन्दा नगरपालिकाका –७ डाप्कमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिले शनिबार र बिदाको दिन समेत बालबालिकालाई विद्यालयमा पठनपाठनको व्यवस्था गरेपछि विद्यार्थी खुशी भएका हुन् ।

सिद्धेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले विद्यालयमा अधिकांश भोटे समुदायका बालबालिका पढ्नेगरेको बताउनुभयो । विद्यालयमा विद्यार्थी आउने वातावरण बनाउन शनिबार पनि पठनपाठनको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यहाँका स्थानीय भेडा बाख्रापालनको सिलसिलामा बालबालिकालाई घरको काममा लगाइने भएर बालबालिकाहरु विद्यालय छाड्ने गरेका छन्, त्यसो हुन नदिन वैकल्पिक उपायको खोजी गरिएको हो । घरको काममा लगाउने भएपछि विद्यार्थीहरु पढाइमा कमजोर हुनेगरेको उहाँको भनाइ छ ।

विद्यालय आउने बानी बसाउन बालबालिकालाई विद्यालयमा राखेर नै शनिबार र बिदाको दिनमा समेत पढाउन सुरु गरिएको प्रधानाध्यापक रावतले बताउनुभयो । हिमाली क्षेत्रका अधिकांश भोट समुदाय हिउँदको महिना भेडापालनका लागि औल झर्नेगरेको र बालबालिकालाई समेत आफ्नै साथमा लिएर जानेगरेको उहाँको भनाइ छ । 

संरक्षण अभावमा हिउँद महिनामा विद्यालयमा उपस्थित नहुने ती बालबालिकालाई नियमित गर्ने उद्देश्यले यो वर्षदेखि विद्यालय व्यवस्थापन समितिले उनीहरुलाई विद्यालयमै राख्ने निर्णय गरेपछि  शनिवार र बिदाको दिनमा समेत पढाइ सुरु गरिएको रावतले बताउनुभयो ।

विद्यालयलाई यो वर्षबाट आवासीय विद्यालयको रुपमा सञ्चालन गरेपछि ती बालबालिकाले शनिबार र बिदाको दिनमा समेत पढ्न पाएको स्थानीयले बताएका छन् । बूढीनन्दा नगरपालिका –७ स्थानीय टेकबहादुर थापा (भोटे) ले यहाँ पहिलेदेखि अहिलेको नयाँ पुस्ताले गाउँमा भेडाबाख्रा पालन गरेर मात्रै आफ्नो जीविकोपार्जन गर्दैआएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हिउँदको महिना हिमाली क्षेत्रमा बाक्लो हिमपात हुने हुँदा त्यतिबेला यता बेडाबाख्रालाई चरन गर्न समस्या हुनेगरेकाले हिउँद औलतिर झर्ने र गर्मीयाममा फेरि गाउँ आउने गर्छौं ।” 

यसरी व्यवसाय गर्ने क्रममा घरमा छोराछोरीलाई संरक्षण गर्ने कोही नभएकाले आफैसँग लैजान बाध्य हुँदा विद्यालयको पढाइ छुट्नेगरेको थापाले बताउनुभयो । हामीजस्तै भेडाबाख्रा पालन गर्नेको बालबालिकाको पढाइमा सहज हुनेगरी यो वर्ष विद्यालयमै खान, बस्न सुत्ने समेतको व्यवस्था मिलाएको छ, अबदेखि बालबालिकालाई विद्यालयमै बसाल्ने र आफू औलतिर झर्ने थापाले बताउनुभयो ।