• १३ साउन २०८१, आइतबार

पूर्वमन्त्रीहरूबीच प्रतिस्पर्धा देखिँदै

blog

जीवछ यादव 

लहान, कात्तिक २० गते । सत्तापक्षीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता चित्रलेखा यादव र एमाले जसपा गठबन्धनबाट जसपा उम्मेदवार राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 

यस क्षेत्रमा सुखीपुर र धनगढीमाई नगरपालिका, बरियारपट्टी, नवराजपुर, औरही गाउँपालिका, गोलबजार नगरपालिकाको एक र लक्ष्मीपुर पतारी गाउँपालिकाको एक वडा गरी ४१ वटा वडा छन्। यीमध्ये गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले १२, नेकपा माओवादीले पाँच र एकीकृत समाजवादीले गरी १८ वडा जितेका थिए। एमाले जसपाले  २३ वटा वडामा जितेका थिए।  

सत्तापक्षीय गठबन्धनको तीस हजार ५८३ र एमाले जसपाको ३४ हजार ९४ मत रहेकोले दुई गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ। चित्रलेखा यादव आफ्नो माइती गाउँ नवराजपुरलाई आधार मानेर उम्मेदवार हुनुभएको छ। राजकिशोर यादव सिरहा–४ बाट सिरहा–२ मा यस पटक उम्मेदवार हुनुभएको हो। स्थानीय तहको निर्वाचनमा धनगढीमाई नगरपालिका र सुखीपुर नगरपालिकामा नेकपा एमालेले जितेका छन् भने औरही, बरियारपट्टी र नवराजपुर गाउँपालिकामा जनता समाजवादी पार्टीले जितेका छन्। 

सिरहा–२ मा दुई जना पूर्वमन्त्री प्रतिनिधि सभामा उम्मेदवार भएका छन्। प्रदेश १ मा एमाले जसपा गठबन्धनबाट पूर्वआपूर्तिमन्त्री तथा मधेश प्रदेशका कृषिमन्त्री विजय यादव, पूर्वबिनाविभागीयमन्त्री राजलाल यादव स्वतन्त्र, सतारूढ गठबन्धनका नेकपा (माओवादी)का जीवछ यादव र जनमत पार्टीका सञ्जय यादवबीच प्रतिस्पर्धा हुनेभएको छ। 

यसैगरी २ प्रदेशमा एमाले जसपा गठबन्धनबाट पूर्वपर्यटन राज्यमन्त्री शत्रुधनसिंह कोइरी र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका मदनसेन श्रीवास्तवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

सिरहा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्रबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रेस सल्लाहकारसमेत रहेका पत्रकार रामरिझन यादव, नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका पूर्वअध्यक्ष देवकुमार यादव उम्मेदवार हुनुहुन्छ। रेडियो नेपालका पूर्वकार्यकारी निर्देशक तथा अधिवक्ता सुरेशकुमार कार्की, इन्जिनियर रामप्रकाश महतो र कलाकार मुरलीधर विश्वकर्मा र जनमत पार्टीका विनोदकुमार यादव उम्मेदवार रहेकोले यस क्षेत्रको चुनावी चर्चा निकै रोचक बनेको छ।