• ९ मंसिर २०८१, आइतबार

दुई करोड बजेटमा निर्माण गरिएको कभर्ड हल अलपत्र

blog

पविता पौडेल 

सैनामैना, कात्तिक १९ गते ।  सैनामैना नगरपालिका –६, मा बन्दैगरेको दुई करोड रुपियाँ लगानीको कभर्ड हल अलपत्र परेको छ । खेलकुदको विकास गर्न युवाहरुलाई लक्षित गरी तयार गर्न लागिएको कभर्ड हल बजेट अभावमा बीचैमा अलपत्र परेको हो । 

वडा ६ का वडा अध्यक्ष गोपाल पोखरेलका अनुसार सो कभर्ड हल राष्ट्रिय स्तरको ब्याडमिन्टन खेल खेल्न मिल्नेगरी निर्माण गर्न लागिएको भए पनि पर्याप्त बजेट अभावमा अलपत्र परेको छ । निर्माणाधीन सो कभर्ड हलमा अहिले केटाकेटी  लुक्ने छिप्ने, युवाहरु तास खेल्ने, चुरोट खाने, ड्रग्स लिने केटाहरु बस्नेगरेको स्थानीयको भनाइ छ । 

कभर्ड हलका लागि दुई किस्तामा बजेट आए पनि निर्माण काम सम्पन्न भएन । पहिलो किस्तामा ५० लाख रुपियाँ र दोस्रो किस्तामा  एक करोड २० लाख रुपियाँ बजेट आएको दूधराक्ष ब्याडमिन्टन युवा क्लबका सचिव पदम पाण्डेले जानकारी दिनुभयो ।

सो बजेटमध्ये पहिलो किस्ताको रकमले जग हालिएको हो र ४६ लाख रकम टेण्डर प्रकियाबाट कभर्ड हल निर्माण गर्न ठेकदारलाई ठेक्कामा दिइएको दूधराक्ष ब्याडमिन्टन युवा क्लबका सचिव पदम पाण्डेले जानकारी दिनुभयो । थप ५० लाख रुपियाँ बजेट प्राप्त भएमा कभर्ड हलको निर्माणकार्य सम्पन्न हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाको दोस्रो लहर चलिरहँदा कभर्ड हल निर्माण हुने म्याद सकियो, केन्द्रीय सरकारबाट म्याद थप भएन । काम रोकिएपछि बचेको बजेट फिर्ता भयो  । अहिलेसम्म कभर्ड हल अलपत्र छ ।” 

स्थानीय युवा युवराज भूषालका अनुसार कभर्ड हल व्याटमिन्टन खेल्ने हल बन्नुको साटो तास खेल्ने र चुरोट गाँजा तान्नेको हब बन्न लागेकाले निर्माण कार्य तत्काल सुरु हुनुपर्छ । कभर्ड हल निर्माणका लागि दुई करोड रुपियाँ आएको सुनियो तर काम सम्पन्न भएको देखिएन उहाँले भन्नुभयो । 


सैनामैना नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेका अनुसार प्रदेश सरकारबाट बजेट आउँदा किस्ता किस्तामा आएकाले काम सम्पन्न गर्न समय लागेको हो । निर्वाचनपछि थप बजेट माग गरेर निर्माणकार्य अघि बढाइने उहाँले बताउनुभयो । बजेट आउनेबित्तिकै काम शुरु हुन्छ उहाँले भन्नुभयो । 

२०७६ फाल्गुनबाट काम सुरु भएको कभर्ड हल निर्माणका लागि ४ जना ठेकदारलाई पटक पटक गरेर ठेक्का दिइएको थियो । अन्तिमसम्म काम गरेका ठेकेदार टेकबहादुर खत्रीले आवश्यक बजेट नआएपछि काम रोकिएको बताउनुभयो । “समय म्याद तीन महिना थपे पनि पैसा आएन, पैसा नआएपछि काम रोकियो” खत्रीले भन्नुभयो । 

प्रदेश आर्थिक मामिला मन्त्रालयकी अधिकृत जीवकला भण्डारीका अनुसार अनुदान कोटाबाट छुटयाइएको सीमित बजेट भएकाले निर्माणकार्य रोकिएको बताउनुभयो । यो वर्ष निर्माणका लागि बजेट व्यवस्था नगरिएकाले सहयोग उपलब्ध गराउन नसकिएको बताउनुभयो ।