प्रजित शाक्य
राष्ट्रिय खेलकुदलाई घरेलु खेलकुदको ओलम्पिक भनिन्छ, जुन खेलकुद मेलामा देशभरका प्रायः सबै चर्चित खेलाडी एकै थलोमा भेला हुन्छन् । यस महिना राष्ट्रिय खेलकुदको नवौँ संस्करण सम्पन्न भयो । प्रत्येक दुई वर्षमा गरिने भनिएको राष्ट्रिय खेलकुदको दसौँ संस्करण अब दुई वर्षपछि कर्णाली प्रदेशमा हुनेछ । दसौँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको छ । तेस्रो संस्करणपछि राष्ट्रिय खेलकुद तोकिएको मितिमा भएको छैन । दुई संस्करण त एक दशकपछि पनि भएका छन् । त्यसैले कर्णाली प्रदेशमा दुई वर्षपछि तोकिएकै समयमा राष्ट्रिय खेलकुद आयोजना भएमा एउटा राम्रो उदाहरण कायम हुनेछ । यसैगरी भौतिक पूर्वाधारमा निकै कमजोर कर्णाली प्रदेशले दुई वर्षमा देशकै सबभन्दा ठूलो खेलकुद मेला कसरी सम्पन्न गर्छ भन्ने यो अहिले नै चासोको विषय बनिसकेको छ ।
अब कुरा गरौँ– पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदको । आठौँदेखि नवौँ राष्ट्रिय खेलकुदको यात्रा तय गर्न चार वर्षभन्दा बढी समय लाग्यो । यस अवधिमा पनि नवौँ राष्ट्रिय खेलकुद हतारमा आयोजना गरेको देखियो । आयोजना फितलो रह्यो । खेल पूर्वाधारको हिसाबले काठमाडौँलाई टक्कर दिने हैसियत राख्छ पोखराले । अझ खेलकुदलाई अति माया गर्ने सहर हो पोखरा । त्यसैले नवौँ राष्ट्रिय खेलकुदको समयमा पोखरा खेलकुदमय हुने अनुमान गरिएको थियो तर भयो उल्टो ।राष्ट्रिय खेलकुदजस्तो ठूलो प्रतियोगितालाई हलुका रूपमा लिइएको आरोप गण्डकी प्रदेशलाई लाग्यो । राष्ट्रिय खेलकुद सफल हुनलाई खेलबाहेक चुस्त व्यवस्थापन, स्तरीय भौतिक पूर्वाधार र स्थानीयको सकारात्मक सहभागिता हुनुपर्छ । यसपालि यी सबै पक्षमा कमी रह्यो । खेलाडी, प्रशिक्षक र पदाधिकारीहरू आयोजनामा सन्तुष्ट बन्न सकेनन् । यसैले नवौँ राष्ट्रिय खेलकुदले प्रशंसा कम र आलोचना बढी पायो । नवौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि मात्र आयोजना गरिएकोजस्तो देखियो । ६० करोड रुपियाँको पर्याप्त बजेट हुँदाहुँदै पनि अपेक्षावृmत आयोजना हुन सकेन ।
राष्ट्रिय खेलकुद परिषद्ले उद्घाटन समारोहलाई भव्य बनाउने दाबी गरेको थयो तर बिहानीले दिन कस्तो हुन्छ भनेर देखाउँछ भनेभैmँ उद्घाटन समारोह खल्लो थियो । रङ्गशाला आधा पनि भरिएको थिएन । प्रस्तुतिमा पनि नौलोपना थिएन । वृmत्रिम प्रकाशको कमीले उद्घाटन समारोह आकर्षक हुन सकेन । यसका साथै खेल समापन दिनसम्म आयोजनामा धेरै विवाद र कमजोरी देखिए ।राष्ट्रिय खेलकुदमा सहभागी एक टिम एनआरएनको उपस्थिति नै विवादित बन्यो । नेपाली नागरिकता लिएर विदेशमा बसेका व्यक्तिले राष्ट्रिय खेलकुदमा खेल्न बनाइएको टिम हो– एनआरएन । देशबाहिर पनि धेरै प्रतिभा छन्; जसले नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउन सक्छ । गौरिका सिंह यसको राम्रो उदाहरण हो । त्यसैले पछिल्लो संस्करणदेखि थपिएको हो, एनआरएन टिम तर यस पटक एनआरएनको नाममा नेपालमै रहेका खेलाडीलाई पनि खेलाउँदा ठूलो विवाद निम्तियो । एनआरएनको फुटबल टिमले त अचाक्ली नै ग¥यो । एनआरएनले नेपालमै रहेका राष्ट्रिय टिमबाट खेलिरहेका आठ खेलाडीलाई नियमविपरीत आफ्नो टिमबाट खेलायो, जसले गर्दा खेल जिते पनि उजुरी पर्दा एनआरएनको फुटबल टिम अगाडि बढ्न सकेन । यस पटक एनआरएनले दस स्वर्ण पदक जित्यो, जसमध्ये पौडी खेलाडी एस्ली सापकोटा डङ्गोलले मात्र छ स्वर्ण र दुई रजत पदक जित्नुभयो तर एस्लीसँग नेपालको नागरिकता छैन । अमेरिकी पासपोर्टधारी एस्ली नेपाली मूलकी अमेरिकी हुनुहुन्छ । राष्ट्रिय खेलकुदमा स्वर्णको वर्षा गरे पनि एस्लीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउनु हुन्न ।
नवौँ राष्ट्रिय खेलकुदमा खेलाइएको पौडी पोखरी पनि अन्तर्राष्ट्रिय मापदण्डको थिएन । पाँच लेनमा मात्र खेलाइएको २५ मिटरको पुल भनिए पनि १४ सेन्टिमिटर कम भएको खुलासा भएको थियो । त्यसैले यसपालि पौडीमा कायम भएका कीर्तिमान विवादित हुने पक्का छ । एथलेटिक्स ट्र्याकमा कायम भएका राष्ट्रिय कीर्तिमानको पनि हालत त्यस्तै छ । एथलेटिक्समा ह्यान्ड टाइमिङ प्रयोग गरिएका कारण नवौँ राष्ट्रिय खेलकुदमा कायम भएको कीर्तिमानको वैधता पनि प्रश्नचिह्न छ ।
अब अन्य केही विवाद र कमजोरीबारे चर्चा गरौँ । पूर्ण रूपमा तयार नभएको मैदानमै हकी खेलाइयो । हकीमा त पहिलो खेलमा नै खेलाडीको जर्सी नआएपछि खेल स्थगित गर्नुपरेको थियो । फेन्सिङमा विजेता खेलाडीले पदक समयमा नल्याउँदा अर्कै खेलाडीको पदक मागेर भिरेको अवस्था पनि देखियो । जुडो, उसु, कबड्डीमा रेफ्रीको निर्णयमा ठूलो विवाद मच्चियो । भलिबल खेल पुरानो म्याटमा खेलाइँदा छ खेलाडी घाइते भए । एपीएफ र लुम्बिनीबीचको खेलमा मात्र तीन खेलाडी नराम्ररी घाइते भएपछि सो खेल नै स्थगित भयो । त्यसपछि दर्शक र खेलाडीको विरोधले म्याट निकालेर खेल खेलाइयो । अझ समापनको एक दिनअघिसम्म पनि कर्णालीका खेलाडी तथा प्रशिक्षक खेल सामग्री नपाएको गुनासो गर्दै थिए । यी त केही उदाहरण मात्र हुन् । हटाउन सक्ने यस्ता साना साना पक्षमा पनि आयोजकको ध्यान पुगेन । नेपालकै बृहत् खेल मेलाको प्रचारमा पनि आयोजक चुकेको देखियो । हरेक खेलमा दर्शकको न्यून उपस्थिति यस संंस्करणको सबभन्दा उदासीन पक्ष रह्यो । नढाँटी भन्दा भलिबलले मात्र राम्रो दर्शक पाएको थियो ।
जे होस्, नेपाली खेलकुदलाई नवौँ राष्ट्रिय खेलकुदले ठूलो पाठ सिकाएको छ । प्रतियोगिता सफल पार्न हल्ला गरेर मात्र हुँदैन, यसका लागि दूरदर्शी योजना चाहिन्छ । यद्यपि यस पटक राष्ट्रिय खेलकुदमा ट्र्याक एन्ड फिल्ड, पौडी र भारत्तोलनमा धेरै कीर्तिमान बन्नु सकारात्मक पक्ष रह्यो । सबैको नजरमा रहने यस्ता प्रतियोगितामा कीर्तिमान बनाउन खेलाडीहरू हौसिएका हुन्छन् । पोखराको रमणीय वातावरणमा खेलाडीको प्रदर्शनमा थप वृद्धि भएको देखिएको थियो ।
सेनाको ह्याट्रिक
सुरक्षा फौजका टिमले यो राष्ट्रिय खेलकुदमा पनि झन्डा गाडे । सुरक्षा फौजका टिममा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ रहेका छन् । यी टिमका खेलाडी १२ महिना नै प्रशिक्षणमा रहने र अन्य खेलाडी प्रतियोगितापूर्व मात्र तयारीमा रहने गरेका छन् । त्यसैले विभागीय टिमको दबदबा स्वाभाविक थियो । अङ्क तालिकाको शीर्ष स्थानमा यी तीन टिम नै रहे । सेनाको टिमले पछिल्ला दुई संस्करणमा जस्तै शीर्ष स्थानमा रहेर टिम च्याम्पियनको ह्याट्रिक ग¥यो । अझ सेनाको टिमले १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित कुल ३७१ पदक जितेर अन्य विभागीय टिमलाई धेरै पछाडि पा¥यो ।
ट्र्याक एन्ड फिल्ड, बक्सिङ, उसु, तेक्वान्दो, टेनिस, जुडो, बास्केटबल, पौडी आदिमा त आर्मीको वर्चस्व नै छ भन्दा हुन्छ । एपीएफ ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २१९ पदकसहित दोस्रो भयो । नेपाल पुलिस क्लब ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्य गरी १९५ पदकसहित शीर्ष तीनमा अटाउन सफल भयो । आयोजक गण्डकी प्रदेशले घरेलु मैदानको फाइदा उठाउँदे ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्यसहित कुल १२० पदक जितेर चौथो स्थान हासिल ग-यो ।
चम्केका खेलाडी
राष्ट्रिय खेलकुद नयाँ खेलाडीका लागि सबैको नजरमा पर्ने ठूलो मौका हो । विगतमा राष्ट्रिय खेलकुदले थुप्रै स्टार खेलाडी जन्माएको छ । यसपालि डुवाना लामा, जयरानी थारूजस्ता खेलाडीले नेपाली खेलकुदमा स्टार हुने सम्भावना देखाउनुभयो । खेलाडीको हकमा प्रतियोगितापूर्व नै गौरिका सिंहमाथि सबैको नजर थियो । पछिल्लो संस्करणमा गौरिका एक्लैले १२ स्वर्ण पदक कुम्ल्याउनुभएको थियो; जुन राष्ट्रिय खेलकुदमा एक खेलाडीद्वारा सर्वाधिक स्वर्ण पदकको बराबरी हो तर यसपालि डुवाना लामाले सर्वाधिक नौ स्वर्ण र एक रजत पदक जितेर गौरीकालाई छायामा पार्नुभयो । यद्यपि गौरिका अस्वस्थ हुँदा डुवानालाई फाइदा भएको थियो । गौरिकाले अस्वस्थ हुँदा पनि पाँच स्वर्ण र एक रजत पदक हासिल गरी आफ्नो साख भने गुम्न दिनुभएन । पौडीकै नासिर हुसेन सात स्वर्ण, दुई रजत र एक कांस्य पदक प्राप्त गरेर नायकका रूपमा उभिनुभयो । पौडीक एस्ली सापकोटा डङ्गोलले छ स्वर्ण, दुई रजत जितेर आफूलाई नेपाली खेलकुद दृश्यमा ल्याउनुभयो । एथलेटिक्समा जयरानी थारूले आफू सहभागी भएको पाँच इभेन्ट सबैमा पाँच स्वर्ण पदक जितेर ‘ट्र्याक एन्ड फिल्ड क्विन’ बन्नुभयो । यसैगरी शिवराज पार्की एक सय र दुई सय मिटर दौड जितेर देशकै सर्वाधिक तेज धावक बन्नुभयो । घाइते हुँदाहुँदै पनि पाँच हजार र दस हजार मिटर दौड जितेपछि चर्चित धाविका सन्तोषी श्रेष्ठको चर्चा अझ चुलियो । राजु राईले पनि एक्लैले सात स्वर्ण पदक हासिल गरेर आफूलाई नेपालमा नम्बर एक जिम्न्यास्ट साबित गर्नुभयो । घरेलु जिम्न्यास्टिकमा राजुको दबदबा सातौँ संस्करणदेखि जारी छ ।
अकल्पनीय दुर्घटना
४१ वर्ष लामो इतिहास बोकेको घरेलु खेलकुदको बृहत् खेल मेला राष्ट्रिय खेलकुदको नवौँ संस्करणमा अहिलेसम्म कहिल्यै नघटेको अकल्पनीय दुर्घटना भयो । सराङकोटको आकाशमा भएको क्रस कन्ट्री पाराग्लाइडिड खेल्ने क्रममा पाराग्लाइडर निसिम थापाको दुर्घटनामा परी निधन भएपछि नेपाली खेलकुद वृत्त नै शोकाकुल बन्यो । राष्ट्रिय खेलकुदको इतिहासमा खेलको समयमा खेलाडीको निधन भएको यो पहिलो पटक हो । त्यसैले नवौँ राष्ट्रिय खेलकुदको तेस्रो दिन कालो दिनका रूपमा रहेको छ । सो घटनाले पाराग्लाइडिङ खेल स्थगित गरियो । त्यसपछि सो प्रतियोगिता पुनः हुन सकेन । पहिलो दिनको खेलको नतिजालाई नै आधिकारिक नतिजा मानेर पदक विजेताको छिनाफानो गरियो । केही दिनपछि सरकारले निसिमको सम्मानस्वरूप स्वर्ण पदक प्रदान गर्ने निर्णय ग¥यो । अब निसिमको नाममा पोखरा रङ्गशालामा अर्धकदको सालिक बन्नेछ ।