• १६ भदौ २०८१, आइतबार

मतदाताको गुनासो

निर्वाचन जितेपछि सांसद बेपत्ता

blog

बागलुङ, कात्तिक १९ गते । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन् । 

वि. सं. २०४८ मा बागलुङ–पोखरा राजमार्ग निर्माण गर्दा विस्थापित भएका माझी परिवार एक दशकभन्दा बढी बाङ्गेचौर वरपर छाप्रो बनाएर बसे, त्यहीँ नै गुजारा चलाए । चार वर्षअगाडि सरकारले नियरघाट नजिकै बस्ती निर्माण गरी उनीहरूलाई हस्तान्तरण ग¥यो । धेरैले घरसहित लालपुर्जा पाए तर अझै केही परिवारले पाउन सकेका छैनन् । 

माझी समुदायलाई सडक, खानेपानी, रोजगारलगायतका आश्वासन चुनावैपिच्छे आउँछन् तर काम गर्दैनन् । स्थानीय सोमबहादुर माझीले भन्नुभयो, “चुनावका बेला यो गर्दिन्छौँ, त्यो गर्दिन्छौँ भन्दै दिनदिनै नेताहरू आउनुहुन्छ । चुनाव जितेपछि एक पटक पनि हाम्रो बस्तीमा आउनुहुन्न । काम पनि खासै केही गर्न सक्नुभएन । हाम्रो बस्तीमा धेरै समस्या छन् ।”

उम्मेदवारले चुनावका बेला सडक, खानेपानी र रोजगारको कुरा गरे पनि अहिलेसम्म कुनै पनि वाचा पूरा गर्न नसकेको माझीको गुनासो छ । उहाँले वर्षौं बितिसक्दा पनि खानेपानीको व्यवस्थापन पूर्ण रूपमा हुन नसकेको भन्दै सडकको अवस्था पनि उस्तै रहेको बताउनुहुन्छ । “चुनावका बेला भोट माग्न आउने सबैले सडक, खानेपानीको कुरा गर्नुहुन्छ । यहाँ पानी ल्याउने भनेको धेरै भयो, अहिलेसम्म स्वच्छ खानेपानीको व्यवस्था हुन सकेको छैन,” उहाँले भन्नुभयो ।

विस्थापित माझी परिवारलाई सरकारले १३ घर निर्माण गरी चार वर्षअगाडि हस्तान्तरण गरेको थियो । उनीहरूले घर पाए पनि स्वास्थ्य, शिक्षा, रोजगार र खानेपानीको राम्रो व्यवस्था हुन नसकेको स्थानीय उमा माझीले बताउनुभयो । उहाँले पटकपटक आफूहरूले भोट दिए पनि माझी समुदायमा उम्मेदवार जितेपछि कमै आउने गुनासो गर्नुभयो ।

“हाम्रा लागि काम गर्लान् भनेर भोट दिएर जिताइयो तर फर्किएर हेरेनन् । समस्या जस्ताका तस्तै छन्,” उहाँले भन्नुभयो, “भोट माग्न आउने बेलामा गर्छौं भनेर भन्छन् । विश्वास लाग्छ तर काम गर्दैनन् । अहिले आएर हामीलाई झुक्याउन खोजेकोजस्तो लाग्न थाल्यो ।”

माझी समुदायको उम्मेदवारसँग ठूलो अपेक्षा छैन । रोजगार सिर्जना गरिदिए पुग्ने उनीहरू बताउँछन् । स्थानीय चन्द्रकला माझीले भन्नुभयो, “भएको घर सम्पत्ति सडकले खाइदियो । सरकारले यति घर मात्रै बनाइदिएको हो । घर मात्रै भएर नहुने, गरिखाने ठाउँ छैन । सरकारले कि गरिखाने ठाउँ कि काम गर्ने ठाउँको व्यवस्था गरिदिए हुन्थ्यो ।”

उम्मेदवारको ध्यान माझी बस्तीमा पुग्न नसक्दा आफूहरूको समस्या ज्युँका त्युँ रहेको उनीहरू बताउँछन् । “अहिले आउने उम्मेदवार अर्को चुनावमा मात्र फर्किन्छन्,” उहाँले भन्नुभयो, “भ्रम मात्रै छर्दा रहेछन्, काम गर्दा रहेनछन् ।”

सडक निर्माण गर्दा विस्थापित बनेकामध्ये १३ परिवारको सरकारले घर निर्माण गरेर हस्तान्तरण गरे पनि तीन परिवारले अझै लालपुर्जा पाउन सकेका छैनन् । अहिलेसम्म गमसिंह माझी, रामबहादुर माझी र यमबहादुर माझीले लालपुर्जा पाएका छैनन् । विभिन्न प्रक्रिया नपुग्दा आफूहरूले अहिलेसम्म लालपुर्जा पाउन नसकेको यमबहादुर माझीको भनाइ छ ।