• १३ साउन २०८१, आइतबार

घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, कात्तिक १८ गते । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा तेस्रो घोडादौड प्रतियोगिता आयोजना गरिएको छ । विदेशी तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण गाउँपालिका –६ स्थित घोडेपानीमा बिहीवार घोडादौड प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगितामा १६ जना घोडा धावक सहभागी भएका छन् । प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका –५ घोप्टेखर्कदेखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दूरी २५ मिनेट ३८ सेकेण्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजा पुनले जानकारी दिनुभयो । 


२५ मिनेट ५३ सेकेण्डमा दूरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेण्डमा निर्धारित दूरी पार गरेर तेस्रो हुनुभएको हो । घोडेपानी घोडा व्यवसायी समितिले प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगितामा विजयी भएका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः  ५१ हजार, ३१ हजार र २१ हजार रूपियाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष तथा घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर पुनले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । 

घोडादौड प्रतियोगिताले यहाँको पर्यटन प्रवर्धनमा थप टेवा मिल्ने बताउनुभयो । सौखिन पर्यटक घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिंड्न नसक्ने पर्यटकहरु घोडा चढेर गन्तब्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको उहाँको भनाइ छ । 


प्रतियोगितामा विजयीलाई घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुन, युवा क्लबका अध्यक्ष मिम बुद्धुजा, कोषाध्यक्ष सपना गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो । घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।  

पर्यटन प्रवर्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको घोडेपानी घोडा व्यवसायी समितिका अध्यक्ष याम पुनले बताउनुभयो । घोडादौड अवलोकनका लागि स्थानीयवासीका साथै पर्यटकको उपस्थिति थियो ।

पुनहिल र घोडेपानीबाट सूर्योदय, हिमाल, पहाडी भूगोल, जङ्गलको मनमोहक दृश्य अवलोकन गर्न पर्यटकहरु आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ । 

समुद्री सतहदेखि करिब दुई हजार आठसय मिटर उचाइमा रहेको घोडेपानीमा बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किंबदन्ती छ ।