• १६ भदौ २०८१, आइतबार

भकिम्लीवासीले बनाए सुविधासम्पन्न विद्यालय भवन

blog

बेनी नगरपालिका ३ भकिम्ली स्थित जयन्ती माविमा निर्माण भएको विद्यालय भवन । तस्बिर: ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक १८ गते । यहाँका एक गाउँका स्थानीयवासीको सक्रियतामा करोडौँ रकम जुटाएर गाउँमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरेका छन् । सामूहिक एकता र इच्छाशक्ति भए नमुना काम गर्न सकिने म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका स्थानीयहरूले उदाहरण प्रस्तुत गरेका छन् । 

उनीहरूले करिब साढे ३ करोड रुपियाँ रकम जुटाएर जयन्ती माध्यमिक विद्यालयमा सुविधासम्पन्न पक्की भवन निर्माण गरेका हुन् । पुराना संरचना र कक्षा कोठाको अभावमा पठनपाठन प्रभावित भएपछि गाउँलेहरू जागरूक भएर भवन निर्माण थालेका थालेका थिए । सरकारी निकाय,विदेशमा रहेका भकिम्लीवासी र विभिन्न सङ्घ संस्थाको आर्थिक सहयोगमा विद्यालयमा २० कोठे भवन निर्माण भएको छ । 

स्थानीय अगुवाहरूको पहलमा चन्दा सङ्कलन र  सरकारी अनुदानसहित ३ करोड ५५ लाख रुपियाँ लागतमा भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष पदम पुनले बताउनुभयो । सामूहिक एकता र जागरूक अभिभावक भएपछि शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्न सकिने रहेछ भन्ने बलियो विश्वास पैदा भएको उहाँले बताउनुभयो । विद्यालयको भौतिक पूर्वाधार निर्माण भएपछि शैक्षिक गुणस्तर वृद्धिका लागि फेरी अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । 

भकिम्लीवासीले चन्दा सहयोगबाट जुटाएको डेढ करोड, सरकारी निकायबाट १ करोड १७ लाख र विदेशी सङ्घसंस्थाबाट ६२ लाख रुपियाँ  जुटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताउनुभयो ।  विदेशमा रहेका भकिम्लीवासीहरुले भवन बनाउन चन्दा सहयोग अभियान सञ्चालन गरेको र  गाउँले पनि उत्साहित भएर चन्दा सहयोग जुटाउन अभियान सञ्चालन गरेका कारण भवन बनाउन सम्भव भएको विद्यालयका प्रधानाध्यापक भोजबहादुर जिसीले बताउनुभयो ।

 भवन निर्माण भएपछि पठनपाठनमा सहज हुनुका साथै शैक्षिक गुणस्तरमा वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । विद्यालयले भौतिक संरचनाको समस्या समाधान भएपछि अव शैक्षिक गुणस्तर वृद्धि सहितका अभियानलाई प्राथमिकतामा राखिने उहाँले बताउनुभयो । 

Author

ठाकुरप्रसाद आचार्य