• १३ साउन २०८१, आइतबार

सडक चुनावी मुद्दा मात्र

blog

शैलेन्द्र रोकाया 

बझाङ, कात्तिक १८ गते । सुदूरपश्चिम प्रदेशको सेती लोकमार्गअन्तर्गत चैनपुर–ताक्लाकोट सडक निर्माणलाई राजनीतिक दलले हरेक निर्वाचनमा चुनावी मुद्दा बनाउने गरेका छन्। त्रिदेशीय नाका जोड्ने सो मार्ग बझाङ सदरमुकाम चैनपुरबाट १०३ किलोमिटर दूरीको छ। यस पटकसमेत सत्ता गठबन्धन दल र नेकपा (एमाले)ले यसलाई चुनावी मुद्दा बनाएका छन्। यद्यपि हरेक चुनावी मुद्दा बन्ने सो सडक बजेटमा चाहिँ प्राथमिकतामा नपर्ने गरेको मतदाताको गुनासो छ। 

चैनपुर ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने प्रतिबद्धता राजनीतिक दलले गर्दै आएका छन्। सत्ता गठबन्धनसहितका दल र नेकपा (एमाले)ले गरेका छुट्टाछुट्टै पत्रकार सम्मेलनमा चैनपुर ताक्लाकोट सडकको निर्माण कार्यलाई प्राथमिकतामा राख्ने चुनावी प्रतिबद्धता देखाइयो। तथापि निर्वाचनमा भोट सङ्कलनको हतियारका रूपमा दलले यो मुद्दा उठाउने गरेको शङ्का मतदाताको छ। 

२०६४ सालको संविधान सभाको निर्वाचनपछिका सबै निर्वाचनमा सबै दलका नेताले चैनपुर–ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरेर पाँच वर्षभित्र निर्माण कार्य सक्ने प्रतिबद्धता गर्दै आएका छन्। भारतको राजधानी दिल्लीबाट चीनको स्वशासित क्षेत्र तिब्बत पुग्ने नेपालकै छोटो नाकाका रूपमा सो मार्गलाई लिइन्छ। 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बझाङमा पुगेरै चैनपुर ताक्लाकोट सडकको निर्माणका बारेमा प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ। स्थानीय जगदीश रोकायाका अनुसार निर्वाचनपछि कुनै पनि दलको सरकारले बजेट प्राथमिकतामा पार्न चाहेन।

उहाँले भन्नुभयो, “निर्वाचन आउँदा मात्र चैनपुर–ताक्लाकोट सडक निर्माणको कुरा आउँछ। दललाई भोट सङ्कलन गर्न गतिलो औजार मात्र भएको छ।” उहाँले सुदूरपश्चिम प्रदेशको प्रदेश गौरवको आयोजनका रूपमा समेत राख्नका लागि बझाङका जनप्रतिनिधिले कुनै पहलसम्म नगरेको गुनासो गर्नुभयो।

कैलालीको बौनियाबाट सुरु भएको सेती लोकमार्ग डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर चीनको स्वशासित क्षेत्र ताक्लाकोट जोडिने नेपालको छोटो मार्ग हो। सेती लोकमार्गको उत्तरी खण्ड बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको सिमाना उरै भञ्ज्याङसम्म १०३ किलोमिटर लम्बाइ भए पनि हालसम्म ४० किलोमिटर मात्रै ट्र्याक खोल्ने काम भएको छ। यो सडक सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खोल्ने प्रमुख मार्ग भएकाले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गर्न पटक पटक यहाँको नागरिक समाजबाट पहल हुँदै आएको छ। यद्यपि सरकारी क्षेत्रबाट भने यसको बेवास्ता  हुँदै आएको स्थानीयको गुनासो छ। भारतको राजधानी नयाँ दिल्लीबाट चीनको स्वाशासित क्षेत्र तिब्बत झन्डै ७०० किलोमिटरको दूरीमा रहेको छ। सो सडक निर्माण भएपछि हिन्दु धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिने कैलाश मानसरोवरसम्मको यात्रा गर्नसमेत निक्कै सजिलो हुने अपेक्षा गरिएको छ।