• १३ साउन २०८१, आइतबार

देवहरियामा पर्यटकको चहलपहल

blog

धनगढी समाचारदाता

धनगढी, कात्तिक १८ गते । कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पति उद्यानमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। उद्यानलाई व्यवस्थित गरिएपछि अवलोकन गर्नेहरूको चहलपहल बढ्न थालेको हो। 

वनस्पति अनुसन्धान केन्द्रका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा मात्रै २६ हजार ६० जनाले उद्यान अवलोकन गरेका छन्। उनीहरूबाट पाँच लाख १७ हजार २१५ रुपियाँ राजस्व सङ्कलन भएको वनस्पति अनुसन्धान केन्द्रले जानकारी दिएको छ। यसैगरी गत आर्थिक वर्षको असारमा करिब ५२ हजार रुपियाँ राजस्व सङ्लन गरिएको थियो। 

स्थापनाको धेरै समयसम्म निःशुल्क प्रवेश दिइएको देवहरिया वनस्पति उद्यान अवलोकनका लागि अब शुल्कको व्यवस्था गरिएको छ। शुल्क व्यवस्थाबारे राजपत्रमा प्रकाशित भएपछि वनस्पति अनुसन्धान केन्द्रले अवलोकनकर्ताबाट सीमित शुल्क लिन थालेको हो। केन्द्रका प्रमुख गङ्गादत्त भट्टका अनुसार स्थापनाकालदेखि नै यो निःशुल्क थियो। तर वन नियमवालीले नै शुल्क लिन भनेपछि लिन थालिएको हो। 

केन्द्रले १० वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकको पाँच रुपियाँ, विद्यार्थीको १० र वयस्कको प्रतिव्यक्ति २० रुपियाँ प्रवेश शुल्क लिने गरेको छ। 

१४९.५ हेक्टर क्षेत्रफलमा रहेको देवहरिया उद्यानलाई देशकै उत्कृष्ट वनस्पति अनुसन्धान केन्द्र बनाउने लक्ष्य रहेको प्रमुख भट्टले बताउनुभयो। यो उद्यानमा जाखोर ताल, मुरफुट्टा, मुरफुट्टी गरी करिब २० हेक्टर ताल क्षेत्र रहेको छ। उद्यानमा वनस्पतिको अनुसन्धान, संरक्षणको कार्य हुँदै आएको छ। यसमा मेन्था, गुर्जोलगायतका वनस्पतिको अनुसन्धान गरिँदै आएको छ। यस्तै चुरे र तराई क्षेत्रमा पाइने सबै प्रजातिका वनस्पतिको संरक्षण हुँदै आएको छ। 

निकट भविष्यमा यसमा पर्यापर्यटनका लागि ठाउँ–ठाउँमा पानीधारा, फुटपाथ बनाउनुका साथै केही रेस्टुरेन्ट राखिने केन्द्रका प्रमुख भट्टले जानकारी दिनुभयो।