भन्सार विभागको पछिल्लो तथ्याङ्कले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापारमा ह्रास आएको देखाएको छ। यस अर्थमा २०७९ सालको साउन, भदौ र असोज गरी तीन महिनामा नेपालले गर्ने विदेशी सामानको आयातसँगै यहाँबाट निर्यात हुने वस्तुमा समेत कमी आएको छ। प्राप्त तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको तीन महिनामा आयातमा १६ प्रतिशतभन्दा बढीले कमी आएको छ। गत आर्थिक वर्षका तीन महिनामा आयात चार खर्ब ९९ करोड हुँदा चालू आर्थिक वर्षका तीन महिनामा आयात चार खर्ब ७८ अर्ब रुपियाँमा सीमित रहन पुगेको छ। आयातमा आधारित अर्थतन्त्र भएकोले यसको प्रभाव राजस्वलगायत सबैतिर देखिन थालेको छ।
आयात मात्र घटेको नभई निर्यातसमेत प्रभावित भएको छ। यसै गरी गत आर्थिक वर्षका सुरुका तीन महिनाका दाँजोमा यस चालू वर्षका सुरुका तीन महिनामा निर्यात ३५ प्रतिशतभन्दा बढीले कमी आएको छ। गत आर्थिक वर्षका तीन महिनामा ६५ अर्बभन्दा बढीको निर्यात भएकोमा चालू आर्थिक वर्षका तीन महिनामा यो आँकडा झन्डै ४३ अर्ब रुपियाँमा खुम्चिएको छ। आयात र निर्यातमा आएको कमीसँगै मुलुकको व्यापार घाटामा पनि गत आर्थिक वर्षको तुलनामा १३ प्रतिशतले कमी आएर झन्डै साढे तीन खर्बको हाराहारीमा रहेको परिदृश्य छ। यसरी व्यापारका सबै क्षेत्रमा आएको कमीले अर्थतन्त्रमा सङ्कुचन त आएको होइन भन्ने समेत प्रश्न उठाउन सकिने भएको छ।
व्यापारमा आएको कमीको असर क्रमशः देखिन थालेको छ। स्वदेशबाट वस्तु निर्यात र विदेशबाट वस्तु आयात गर्दा प्राप्त हुने भन्सार राजस्वसमेत वैदेशिक व्यापारमा आएको सङ्कुचनका कारण प्रभावित भइरहेको अवस्था हुनु स्वाभाविकै हो। गत आर्थिक वर्षको तीन महिनामा एक खर्ब ३० अर्ब भन्सार राजस्व सङ्कलन भएकोमा यो चालू आर्थिक वर्षको सोही अवधिमा साढे ९६ अर्ब रुपियाँ मात्र सङ्कलन सम्भव भएको छ। प्रतिशतमा उल्लेख गर्नुपर्दा गत वर्षको राजस्व सङ्कलन झन्डै ३५ प्रतिशतले बढी थियो। स्वभावैले सरकारको खर्च बढ्दै जाने अवस्थामा राजस्व घट्नु राम्रो सङ्केत होइन। व्यापारमा प्रभाव पर्नुका खास कारण छन्। मुलुकमा वैदेशिक मुद्राको सञ्चितिमा सकारात्मक प्रभाव पार्ने एवं आर्थिक सङ्कटको अवस्था आउन नदिन सरकारले विशेष गरी केही विलासी वस्तुको आयातलाई नियन्त्रण नीति लिएको थियो। त्यस सन्दर्भमा कुल आयातमा कमी आउनु पक्कै पनि सकारात्मक विषय हो। तर, निर्यात ३५ प्रतिशतभन्दा बढीले खुम्चिनु भने चिन्ताको विषय हो। यसतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ। आयातमा कटौती र निर्यातमा अभिवृद्धिले मात्र अर्थतन्त्रलाई सही दिशा निर्देशन गर्न सक्नेछ।
चालू आर्थिक वर्षको तीन महिनाको भन्सार तथ्याङ्क विश्लेषण गर्दा केही सकारात्मक तथा सम्भावनाका सङ्केत देखिएको मान्न सकिन्छ। यस अवधिमा झन्डै ६८ अर्ब रुपियाँको इन्धन आयात गरिएको छ। यस सन्दर्भमा स्वदेशमा नै उपलब्ध सेतो सुन अर्थात् जलविद्युत उत्पादन तथा उपभोगलाई प्रश्रय दिएर इन्धन आयातमा नियन्त्रण गर्न सकिने अवस्था छ। यसैगरी खाद्यान्न आयातमा नौ अर्ब रुपियाँभन्दा बढीको व्यय गरेको अर्थमा कृषिप्रधान मुलुकमा खाद्यान्न आयात प्रतिस्थापन गर्न सरकारले कृषकलाई विभिन्न किसिमका सहुलियत एवं प्रोत्साहनको नीति अख्तियार गर्नु अत्यावश्यक देखिन्छ। यसबाट स्वदेशमा कृषकलाई रोजगारी तथा वैदेशिक मुद्रा बचतका दिशामा निकै सकारात्मक प्रभाव पर्नेमा दुई मत छैन।
विशेषतः चिया, कार्पेट, अलैँचीजस्ता कृषिजन्य उत्पादनको निर्यात नेपालबाट उल्लेखनीय रूपमा भइरहेको अवस्थामा नेपालको अबको अर्जुनदृष्टि भनेकै कृषि उत्पादनमा सहजीकरण तथा वृद्धि नै हुनुपर्दछ। लाखौँ युवालाई खाडी रोजगारीबाट स्वदेशमा नै कृषिलगायतका रोजगारीमा सहभागी गराउन सरकारले कृषक मैत्री नीति अख्तियार गर्नुको अर्को विकल्प पनि देखिँदैन। नेपालले विश्वका १२७ मुलुकसँग वैदेशिक व्यापार गर्दै आएकोमा १९ वटा मुलुकसँग मात्र व्यापार नाफाको स्थिति हुनु उत्साहप्रद विषय मान्न सकिँदैन। वैदेशिक व्यापारलाई नेपालको पक्षमा राख्न सरकार तथा निजी क्षेत्रले नेपालका सम्भावना भएका उत्पादनमा दीर्घकालीन नीति तर्जुमा गरेर अघि बढ्नु श्रेयष्कर हुनेछ।