• १३ साउन २०८१, आइतबार

स्कारपियोको ठक्करबाट युवकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, कात्तिक १३ गते । दक्षिणी सीमावर्ती क्षेत्रस्थित सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा आइतबार दिउँसो चुनावी प्रचार प्रसारमा हिँडेको स्कारपियोले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । 

पूर्व–पश्चिम हुलाकी सडक अन्तर्गत ब्रह्मपुरी गाउँपालिकास्थित सखुवा र भेल्हीको बीचमा नम्बर खुल्न नसकेको स्कारपियोले ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारतको सीतामढी जिल्ला बसतपुर घर भएका २२ वर्षीय नेक महम्मदको मृत्यु भएको हो । महम्मदलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लग्दा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते हुनुभएका मलङ्गवा नगरपालिका –९ निवासी १२ वर्षीय असलम सफी गम्भीर घाइते हुनुभएको छ । उहाँको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । 

गम्भीर घाइते असलम मोटरसाइकल पछाडि सवार हुनुहुन्थ्यो । दुर्घटनापछि स्कारपियो फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटना गराएर फरार स्कारपियो र त्यसका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा परेको उक्त स्कारपियोमा माओवादी केन्द्रको झण्डा लगाइएको थियो

स्कारपियो सर्लाही क्षेत्र नं. २ बाट माओवादी केन्द्रको चुनाव चिन्ह लिई चुनावी मैदानमा उत्रनुभएका महिन्द्रराय यादवको प्रचारप्रसारमा हिँडेको आशङ्का गरिएको छ । प्रहरीले भने यस कुराको पुष्टि हुन बाँकी रहेको जनाएको छ । प्रत्यक्ष देख्नेहरूका अनुसार मोटरसाइकल लाई ठक्कर दिनासाथ स्कारपियो तीव्र गतिमा भागेको थियो ।