• २२ साउन २०८२, बिहिबार

विद्यार्थीलाई सेल रोटी र दुना टपरी बुन्न सिकाइँदै

blog

सीप सिक्दै गरेका विद्यार्थी । तस्बिर: अमरराज नहर्की

तनहुँ, कात्तिक ७ गते । तनहुँको एक विद्यालयले लोपोन्मुख नेपालीका परम्परागत सीप र संस्कृतिसँगै दैनिक पठनपाठनको कामलाई अघि बढाएको छ । 

व्यास नगरपालिका–१० ठिहीगाउँ स्थित सतिश अङ्ग्रेजी बोर्डिङ स्कुलले नयाँ पुस्तालाई पुराना नेपाली  सीप र संस्कृतिको बारे व्यावहारिक ज्ञानसहितको प्रयोगात्मक शिक्षा दिन थालेको हो । विद्यालयले यति बेला सालको पातको दुना र टपरी बुन्ने र सेल रोटी पकाउने तालिम प्रदान गरिरहेको छ । किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञानबाट विद्यार्थीले धेरै ज्ञान लिने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धितमा सेल रोटी पकाउने र सालको पातको दुना र टपरी बनाउन बनाउने तालिम दिइएको विद्यालयका प्रधानाध्यापक दिर्घबहादुर दरैले बताउनुभयो । 

प्रयोगात्मक शिक्षाले विद्यालयको सिकाई दिगो बन्ने भएकाले तालिम प्रदान गरिएको दरै बताउनुहुन्छ  । आधुनिकताकाले गर्दा मासिँदै गएको सीप र संस्कृतिबाट दीक्षित गर्न थालिएको ९० जना विद्यार्थीले रुचि पूर्वक सीप सिकेको उहाँले जानकारी दिनुभयो । ‘प्रयोगात्मक शिक्षाले विद्यालयको सिकाई दिगो बन्ने भएकाले तालिम प्रदान गरिएका हौँ’ दरैले भन्नुभयो ।

विद्यालयमा उपलब्ध सो सीप सम्बन्धी जानकार शिक्षकहरू इन्दिरा तिम्सिना, भगवती पौडेल, मिना श्रेष्ठ, अञ्जना दरै, बुद्धिमाया दरै र शान्ता पौडेलले आइतबार देखि विद्यार्थीलाई तालिम दिएका छन् । विद्यार्थी पनि सीपहरू रुचि पूर्वक सिकिरहेका छन् । हाम्रो नेपाली मौलिक संस्कृति र सीपबाट गुज्रेको हाम्रो संस्कृतिबारे आधुनिक प्रविधि सिकिरहेका विद्यार्थीलाई जानकारी दिन गतिलो माध्यम भएकाले पनि यो तालिम प्रदान गरिएको विद्यालयले जनाएको छ  ।

ग्रामीण क्षेत्रबाट आएका न्यून सङ्ख्याका विद्यार्थीले सीप जानेको भए पनि अधिकांशले नजानेकोले यो तालिम प्रदान गरिएको शिक्षक विनोद रखाली मगरले जानकारी दिनुभयो । ‘किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले तालिम प्रदान गरेका हौँ’ शिक्षक मगरले भन्नुभयो ।  पुराना कुराहरू सिक्न पाउँदा खुसी लागेको कक्षा १० की छात्रा सदिच्छा सोतीले बताउनुभयो ।

‘सिक्ने अवसर विद्यालयले दिँदा खुसी छु हात बसिसकेको छैन चाँडै नै सिक्छु जस्तो लागेको छ’, सोतीले भन्नुभयो । सोही कक्षा पढ्ने सलिना भण्डारीले नेपाली संस्कार र संस्कृति जगेर्ना यस्ता सीप उपयोगी लागेर सिकेको बताउनुभयो । सोही कक्षाकी शिला गुरुङ सेल रोटी र दुना टपरी धार्मिक तथा सामाजिक कार्यमा धेरै प्रयोग आउने भएकोले सीप सिक्न पाउँदा खुसी लागेको बताउनुहुन्छ । 

Author

अमरराज नहर्की