तिहार उतिबेलाको, सम्झना यतिबेलाको । नोस्टाल्जिया भनिने पूर्वस्मृतिको सम्मोहनले कहाँ कहाँ पु-याउँदै छ यो पङ्क्तिकारलाई । जीवनको लामो कालखण्ड बितिसक्दा पनि बाल्यकालमा देखे–भोगेको त्यो रमझम पर्व झन्झन् ताजा झन्झन् नयाँ बनेर बेलाबखत सम्झनामा आइरहन्छ । चङ्गा बनाएर कता कता कावा खाँदै उडाइरहन्छ मनलाई ।
भेट्न, समाउन नसकिने अतीतको त्यो रुमानी संसार वर्तमानको यस निस्सार, कुरूप र घाइतेजस्तो लाग्ने जीवनजगत्लाई अझै रापताप थप्दै, घरी गिज्याउँदै र घरी परपीडनका करौँती चलाउँदै र घरीघरी एक्लै हँसाउँदै प्रवञ्चना थप्दै आएझैँ लाग्छ । भेटौँ नपुगिने, समाउँ नसकिने, सपना हो कि विपना, स्मृतिफलकमा झलमल्ल उज्यालो बनेर ढाकिरहन्छ त्यो जादुमय संसारले । सपनामा डो-याउँदै कतिबेर रुमानी संसारमा पु¥याउँछ सम्मोहनको तरङ्गले । पिङका चहैचहैमा सम्झनाको चउरलाई हरियो, रसिलो, भरिलो बनाएर अझै देउसी, भैलोका भजन, खैजेडी, झ्याम्टाका तालमा नचाउन, उफार्न खोज्छ पाको शरीरलाई ।
यो पङ्क्तिकारको जन्मथलो अनि खाईखेली गर्दै हुर्केबढेको खेलमैदान हो सिपापोखरे । सावाँ अक्षरसँग पहिलो साक्षात्कार गरेको विद्याभूमि । पूर्व एक नम्बर सिन्धुपाल्चोकका सात गाउँ, सात टार अनि सातै बिसीको भूगोल ओगटेको थुम सिपा अनि त्यसैको एउटा हाँगो सिपापोखरे । विक्रमको सत्रौँ शताब्दीको मध्यतिर पश्चिम नेपालबाट पूर्वतर्फ बसाइँ सर्दै आएका पौडेलहरूले घमाइलो, उछ्याइलो, पहारिलो र पश्चिम मोहडाको बहाडिलो र उस्तै रमाइलो गाउँठाउँ ठानेर नै पवित्र हिमनदी इन्द्रावतीको किनारको सिपापोखरेमा बसोबास गर्दै आएका रहेछन् । बीसौँ पुस्ताको प्रतिनिधित्व गर्दै यो पङ्क्तिकारले पनि त्यसै सुन्दर पवित्र भूमिमा २००६ साल जेठमा धर्तीमाताको दर्शन प्राप्त गरेको थियो । आफ्नै पेवाजस्तै पुर्खौली थलो बन्दै आएको यसै गाउँमा हुने चाडबाड तिथिपर्व, बिहाबारी, जात्रा मेला आदिको सम्झनाले यतिबेला पनि झन्झन् रमाइलो स्मृति संसारमा डुलाइदिन्छ । सत्तरी नाघेको पाको उमेरमा उत्साह, उमङ्ग भरेर नयाँपनको जाँगर भरिदिन्छ ।
बाल्यकाल सम्झिँदा चाडपर्वमध्ये सबैभन्दा रमाइलो र भव्य चाड लाग्छ तिहार । झरीबादल, बाढीपहिरोजन्य प्रकोपका अँध्यारा दिन बिते । सिपाली गाउँमाथिको आकाश छ्याङ्ग खुल्यो । पर देखिने नगरकोट, तिमाल र शिवपुरीका शिखरमा मधुरो घामको स्पर्शले चुम्न थाल्यो । दिनमा यदाकदा एकाध सेता हल्का बादलका टुक्रा यताउति लैबरी गर्र्दैगर्दा कवि शिरोमणिको ऋुतुविचारमा वर्णित शरदका पङ्क्ति जिब्रोमा खेल्न थाले । “रूपरङ्गादिले शून्य सत्वशेष कुनै घन, जीवन्मुक्तसरी थाले हावामाफिक खेलन ।”
सिपापोखरेमा तिहार आयो । भर्खर सङ्लिएको तलको इन्द्रावती कञ्चन, चञ्चल अनि बेगिलो गतिमा नीलो प्रवाह लिएर सुइँयसुइँय भुमरीमा नाच्तै कतै मुल्कोमा उफ्रिँदै बगिरहेछ । त्यसै सङ्लो पानीमा बर्खे हिलोमैलो पखालेर नुहाएका वरपरका बगर टारहरू सुकिला देखिए । सेतो बथानका मलेवा, पानीहाँस र जलेवाका जोडीहरू वारिपारि जम्मा भएर माछा खोज्दै इन्द्रावतीसँग खेल्न जिस्किन थाले । बाढी सुकेर भर्खर उत्रिएका काँसका झाडीहरूमा हुटिट्याउँ, चखेवा, कोइली आदि चराहरू पूmल कोरल्न थाले । बगरका सिद्रा र पानीका माछा टिप्न जमजमाएका जलेवाका उत्ताउला बथान बगरभरि यत्रतत्र उड्दै गरेका छन् । वारिपारि तलमाथिका फाँटहरू धान पाकेर पहेँलै भए । सिमसार, सुर्का, रुम्टा, टारी, गलखेत भन्नु परेन, सर्वत्र एकछत्र सुनौलो साम्राज्य फैलिएको छ । खोरिया पखेराहरू झन् पहेँलै देखिए– फापर, झुसेतिल फुलेर । बारीका डिल, कुँडार, करेसा, चौडिल्ला, चउर गोदावरी, सयपत्री, मखमली आदि जातजातका फूलैपूmलले ढकमक्क भए । सीपा आसपासको समग्र धर्ती नै महाकवि लक्ष्मीप्रसाद देवकोटाले वर्णन गरेकी शकुन्तलाको प्रतिरूप बनेर दृष्टिगोचर भइरहेको छ । “सूनैसूनैबाट मानो कुँदेकी । पूmलैपूmलैबाट मानो बनेकी ।”
यतिबेला नै उनै महाकवि देवकोटाको स्मृति दिवस पनि आइपुगेको छ । फूलैपूmल र घाँसपाते हरियालीको साम्राज्य छ वनबुट्यान र पाखाभरि । आलु बेसाउने सिपालीहरू बिहान सखारैदेखि हुलका हुल लेकतिर उँभो लाग्न थाले । अम्बा, केरा, हलुवाबेत, नास्पाती आदि फल कोसेली बोकेर जन्छन् लेकाली इष्टहरूलाई भेट गर्न भनेर । मूलखर्क, बरुवा, सुनखानी, नौलिङ आदि लेकाली गाउँ चहारेर पनि आलु ल्याउनैपर्छ उनीहरूले, नत्र तिहारका सेलसँग तिलको छोप, एकराते दही र आलुको भुटुवा तरकारी खान सम्भव छैन । कि आलु लिन पुग्नैपर्छ भादगाउँ नेपाल । माथिका लेकभन्दा त्यो झन् टाढा पर्ने र इन्द्रावतीमा डुङ्गा तर्ने झमेलाले पनि सिपाली तन्नेरीहरू लेकै धाउँछन् आलु लिन । छोरीबुहारीहरू घर पोत्ने कमेरेमाटो र रातमाटाका खानी खोज्दै बिसीका टारतिर उँधो धाउन थाले । तिहारलाई सुकिलो भड्किलो बनाउने जाँगर र रौसले उनीहरूलाई चौचौ बनाएको छ । कमेरो, रातोमाटो पोतेर मात्र मन थामिँदैन, घिरौँलाका लहरा पकाएर झ्यालढोका, थाम, निदाल, दलिन, फलैँचा रङ्गाउने हरियो रङको जोहो गर्न पनि उत्तिकै जाँगर चलाउँछन् ।
तल टारपाटा, माथि देउरालीमा बर्खाभरि निदाएका कोलहरू एकाएक जागेर रातरातभर तेल पेल्नमा व्यस्त भए । झुसे जातीतिल, तोरी, बदाम आदि स्थानीय कच्चा पदार्थ नै छन् तेल पेल्न जोरजाम गरिएका । तलमाथि, वारिपारि सबै गाउँका ढिकीहरू रातरातभर चल्न थाले । ढिकीबाटै फैलिएको नयाँ घैयाको चिउराजनित बास्नाले टोलैभरि, बाटैभरि मगमगाउँदो मिठास जगाउन थाल्यो । “चिउरा मिठो भीमटारे घैयाको । बोली मीठो गाजले मैयाँको ।” गीत पनि गाउँदैछन् बटुवा । चामल कुट्ने सेलका लागि खस्रो पीठो तयार गर्ने, पुरी बनाउने गहुँको पीठो पिँध्ने काममा ढिकीजाँताहरू दिनरात गच्छेअनुसार अझै व्यस्त भए । आफ्ना घरमा ढिकी जाँतो नहुनेहरू हुनेको पिँढीमा ढुकेर पालो पर्खिन थाले ।
तिहार आयो । तल डुबिण्डाँको पिप्ले चउर पर तुर्सिन्डाँडाको कोलचउर, माथि तीनपिप्लेको मैदान र आफ्नै घरमाथिको बरबोटे चउरमा थरीथरीका पिङ तयार भएर मच्चिन, थच्चिन, उरालिन थाले । महिनौँ परिश्रम गरेर उत्साही युवा सिकर्मीले तयार पारेका रोटेपिङ, जाँतेपिङले सबैलाई रमाइलो गराउँदै लोभ्याएका छन् । तिहारको पिङमा एक पटक खुट्टा हाल्नैपर्ने, नहाले अगति परिने पुरानो तर्क चली आएकै छ । दिउँसो फुर्सद नपाउने घरमूली र बुहारीहरू पनि चहैचहै गर्दै बाबियाको डोरेपिङमा आधारातसम्म मच्चिन थाले । बिहान उठ्नेबित्तिकै इष्टकोट, घाँगरका खल्तीभित्र सखर, चिउरा, सेल हालेर चपाउँदै पिङ खेल्ने मैदानमा झुत्तिएका छन् केटाकेटी । कोही मिल्ने दौँतरी छन् त पालोफेरो गरेर पिङ खेल्छन्, कोही आफ्नो पालो नआएर हेपिएको अनुभव गर्दै बालाई भन्दिने घुर्की लगाउँछन् तर ठूला दाइहरूले उनीहरूलाई जाँतेपिङ र रोटेपिङ चढाउन मद्दत पनि गर्छन् । दिनरात चलिरहने चहैचहैको आवाजले तल्लो, माथिल्लो, वारि, पारि सबैतिरका घरगाउँ, वनपाखा एकनासले घन्किए । तिहार आयो । पधेँरैपिच्छे लुगा धुने छोरीबुहारीको घुइँचो लाग्यो । दाउराको अग्रेठ लगाएर ढुङ्गे चम्कामाथि खड्कौलामा खरानीपानी मिसाएर भकभकी पकाएका लुगा मुङ्ग्राले ड्यामड्याम बजाउँदै र खलखली पखाल्दै अनि पहारमा सुकाउँदै गर्न थाले । रिट्ठाका गेडा कुटेर निकालिएको गाँजले कपाल धोएर सुकिलामुकिला सुन्दर बन्दै माइत जाने दिनको सम्झनामा हराउँछन् कोही चाहिँ । कोहीकोहीले भने नेपालबाट ल्याएको डल्लेसाबुन पनि प्रयोग गर्दैछन् । कताकता उनीहरू आपूmलाई अलि ‘सुप्रिम’ मानेजस्तो पनि गर्दैछन् । कलकत्ते दाइहरू त बस्ना आउने हमाम साबुन देखाउन पनि पधेर्नीको हुलमा नुहाउन मिसिएका हुन्छन् र उनीहरू राम्ररी साबुन पनि नपखाली गाउँभरि बास्ना छर्दै हिँड्ने हिसाबले मात्र नुहाएको देखाउँछन् ।
सिपापोखरेमा तिहार आयो । तलको मिजार टोल परको सुनार टोल अनि माथि गैरीगाउँको वाइवा टोलका चउरमा मार हान्ने सिकारको जोहो बस्यो । पँधेरामा छोरीबुहारीहरू दाउराको अग्रेठ जमाएर तीनपाने तयार पार्न थाले । कुखुराका भाले, सुँगुरका साँप्रासँगै पुङ बोकेर माइत जानुपर्ने नयाँ बुहारी तीनपाने बिग्रला भनेर सतर्क बनेका होलान्, त्यसैले बेलाबेला कति मलुवा कति कडा भयो भनेर पालैपालो आआफैँ सुरुपसुरुप चाख्दै मुख बिगार्दै पनि गर्छन् । एक/दुई घुट्का बढी नै थपे भने आपसमा जिस्किँदै चल्दै र अलि त्यस्तैउस्तै कुरा गरेर खित्का छोड्दै गर्छन् । बैँसले मैमत्त बनेका तिनीहरू वरपर पल्याकपुलुक हेरेर अलि अश्लील कुरा गर्न पनि बेर मान्दैनन् ।
तिहार आयो । यमपञ्चक लाग्नै नपाई माथि हवेली तलको ठाँटी जताततै थरीथरी औकात र हैसियतअनुसारका जुवाका खाल बसे । कतै छर्लङछर्लङ आवाजमा कौडा बर्सिन थाले । मर्रा मार्रा हल्ला चल्यो । च्याँखेहरू बढी बल्झाउने हिसाबमा घरि यता, घरि उताको दाउमा ठाउँ फेरेर दौडधुप गर्न थाले । उता अनगिन्ती खुलेका तासका खाल बेहालसँग धुपौरेका फेला परे । खेलाडी एउटा, झेलाडी अर्को । मज्जैले चल्छ तिहारको जुवा भोर्जुवा बनेर । कौडाका च्याँखे र तासका धुपौरेहरू बेलाबेला खेलाडीका गाली भेटेर अमिला अनुहार बनाउँदै पनि थिए ।
पूजाको पर्व तिहार । माला उन्ने छोरीबुहारी रातभर नसुतेर मालाको जोहो गर्ने भए । घिउतेलको दहमा झ्वाइँझ्वाइँ पाक्दै गरेका सेलको बास्नाले गाउँछिमेक सबतिर सुगन्ध पैmलियो । दीपावली र ज्योतिको पर्व तिहार । यमदीप बल्न थाले घरघरै । काग तिहारबाट सुरु भएर पालोफेरो गर्दै आउँदै जाँदै गरे दिनहरू । उड्ने कौवालाई समातेर पूजा गर्न सम्भव नभएकाले टपरीमा टीका, नैवेद र धूपधुँवार चढाएर सम्पन्न भयो । कुकुर तिहारमा भने गैरीगाउँ वाइवाटोलतिर घरघरै ककुर पालेकाले नपाल्ने गाउँलेहरूले त्यतै गएर पूजाआजा सम्पन्न गरे । लक्ष्मीपूजाको दिन बिहानैदेखि पूmलमाला र सेलबाबरको जोरजाम गरेर विशेष तयारी भयो ।
संसाँझै भैलिनी आए मुख छोप्दै । लाज मान्दै भट्याउँदै गरेर आशीर्वाद दिए । अलि पाको उमेरका अर्को समूहका महिला वनबासी सीताको दुःखेसोमा आधारित बालन गाउँदै घुमीघुमी नाँच्दै गरेर आशीर्वाद दिँदै नाङ्लाभरिका सेल, चामल, पैसा लिएर बिदा भए । आआफ्नै घरको लक्ष्मी पूजाका लागि हतारिएका बालनेहरू अबेरसम्म भैलो खेल्न किन भ्याउँथे र ! भित्रबाहिर, बर्दली, आँगन, कौसीकरेसा जताततै बत्ती बालेर लक्ष्मी माताको आराधना चल्न थाल्यो । खेल्नेहरू खेलिरहेकै छन् । खानेपिउनेहरू आआफ्नै मस्तीमा खाइपिई गर्दैछन् । घरघरै दीपावली र लक्ष्मीको पूजा आराधना गरेर प्रसाद बाँड्ने काम सम्पन्न भयो ।
अर्को दिन बिहानैदेखि डुबिन्डाँडामा भँैसीको मासु भाग लगाउने चटारो चल्यो । ढिलो आइपुगेर मासुको भाग नपाउनेहरू पन्पच्छे भयो भन्दै गर्जिन थाले र खुकुरीले चउरमा मार हानेर दुरुमपानीको तुजुक प्रदर्शन गर्दै थिए । पल्लो सुनार गाउँमा धेरैवटा सुँगुरले चाँचाँ चुँचुँ लामो स्वर गरेको बेलाबेला सुनिन थाल्यो । त्यसै दिन ठाँटीको जुवा पनि रातैभर उधुमुसँग जम्यो । सुनारगाउँबाट राति निक्लिएको मारुनी नाच गाउँभरिका घर चहार्दै ठाँटीमा आइपुगेर तमासको बन्यो । लोग्नेमान्छेले महिलाको लुगा लगाएर अभिनय गरेको थाहा पाएपछि हामी केटाकेटी एकछिन त निकै दङ्गदास परेका थियौँ । कहिल्यै नसुनेको नदेखेको त्यो खालको मारुनी रूप, सिँगार र भावभङ्गी नै हाम्रा लागि रमिताको विषय थियो । अनि त हामी पनि उनीहरूकै पछि लागेर अलि परसम्म दगुरेका थियौँ । कतिबेर निद्राले छोपेर सुत्न गइएछ पत्तै पाइएन ।
बिहानै पूmलमाला, टीका, मीठा पक्वान्न र पिँडो खुवाएर घरघरै गाई पूजा सम्पन्न भयो । घरमा गाई नहुनेहरू अरूका गोठ चहारेर पूजाको विधि पु¥याउने भए । गाउँपिच्छे मच्चिएका पिङ र जुवाको हल्लैहल्लामा दिन बित्यो । संसाँझैदेखि हुलका हुल देउसे आउन थाले । यिनले पनि रामायण महाभारतका कथालाई थेगो तुक्कामा अनुवाद गरेर चर्को स्वरमा देउसी भन्न थाले । भजन घुस्यो देउसीभित्र । गाउनेहरू भाका हालेर स्वर तानेर मज्जैले तिहारको साख जमाउन थाले । खँैजेडी ठोक्दै झ्याम्टा रन्काउँदै अलि ठिटाखालेहरू जोडी जोडी बनेर जुहारीको तालमा बुर्लुकबुर्लुक उफ्रिँदै घुम्दै भलिभाँती नाच्न थाले ।
कतै द्रौपदीको चीर हरणको प्रसङ्ग झिकेर दुर्योधनलाई गाली गर्ने, कतै वनवासिनी सीतालाई अपहरण गर्न लागेको रावणको भत्र्सना गर्दै चर्को स्वर उरालेर सक्दो गाली गर्ने उनीहरूको भजनविधान हाम्रा लागि आकर्षणका कुरा थिए । दाइटीका, भाइटीका, भदाहाटीका दिदीबैनी टीका जेजे भने पनि हुनी टीकाको दिन झलमल्ल उघ्रियो । कान्तिपुर नेपालबाट तोप पड्किएको आवाज आएपछि सिपालीका घरघरै टीकाको साइत सुरु भयो । दियो, कलश, गणेशको पूजासहित ढोकामा ओखर फोरेर टाउकामा तेल ठोकेर दिदीबहिनीले सप्तरङ्गी टीका, माला, टोपीले दाइभाइहरूको पूजा गरे । दिदीबहिनीलाई त्यसै गरे भाइभतिजाले पनि । मिठामसिना परिकारहरू सजाएर खानपिन भयो । आयो तिहार, गयो तिहार । यसरी सम्पन्न भएथ्यो उतिबेलाको तिहार ।