• १९ असोज २०८१, शनिबार

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले वृद्धि, बजारमा अभाव

blog

काठमाडौं, कात्तिक १ गते । तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य आठदेखि १० प्रतिशतले वृद्धि भएको बताएको हो ।

महासङ्घले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैङ्कको नीतिको कारण बत्तीको मूल्य बढेर आएको महासङ्घले बताएको छ । तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिद बिक्री बढ्न थालेको छ । फूलहरूको र झिलिमिली बत्तीको पर्वको रूपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूहरुको बिक्री तथा खरिद सुरु भएको छ । अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि बजारमा सुरु भएको महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमासमेत केही कमी आउने बताउनुभयो । आयातमा कमी तथा गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्य समेत आठदेखि १० प्रतिशतसम्म बढेको जानकारी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गत वर्षको तुलनामा भन्दा कम बत्ती आयत हुने देखिन्छ । यो वर्ष अहिलेसम्म २० देखि २५ करोडको भएको छ । यसमा केही मात्रामा बढ्न सक्छ । विगतको भन्दा बजारमा तिहारमा आवश्यक पर्ने झिलिमिली बत्ती कम रहेको छ । सरकारले लिएको पछिल्लो नीतिको कारण आयात कम भएको छ । डलरको मूल्य बढेको कारण पहिलाको तुलनामा थोरै महँगो हुन्छ । बजारमा झिलिमिली बत्तीहरूको मूल्य आठदेखि १० प्रतिशतसम्म बढ्छ ।  डलरको मूल्य बढेरले मूल्य १० प्रतिशत बढ्न सक्छ ।’’

पोखरलले नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढ्नाले मूल्य वृद्धि भएको बताउनु भयो । तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘नेपालमा झिलिमिली बत्तीको उत्पादन छैन । धेरै प्रतिशत चीनसँग निर्भर रहेका छौँ । तिहारमा झालर, माला बत्ती, बल्बलगायत अधिकांश चीनबाट आउँछ र थोरै मात्रामा भारतबाट आउँछ । पछिल्लो दुई वर्ष कोभिडको मारमा पर्यौँ । पछिल्लो राष्ट्र बैङ्कले लिएको मौद्रिक नीति र अमेरिकी डलरको तुलनामा नेपाली पैसाको तुलनामा गिरावट आएको कारण यो वर्षको तिहारमा विगतका वर्षको जस्तो झिलिमिली बत्तीको धेरै व्यापार हुने देखिएको छैन । बत्तीको आयातसमेत कम हुने महासङ्घको आङ्कलन छ ।’’

महासचिव पोखरेलले गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत अर्थात् करिब ४० करोडको विद्युतीय बत्ती आयात भएको भन्दै यो वर्ष करिब ३० करोड रुपियाँ बराबरको आयात हुने अनुमान रहेको बताउनुभयो । कोभिडभन्दा अघि वि.सं. २०७६ मा तिहारको समयमा नेपालमा करिब ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको छ ।

महासचिव पोखरेलले झिलिमिली बत्तीको आयातका लागि नेपालबाट व्यावसायीहरुले अर्डर दिनुपर्ने समयमा चीनका सहरहरूमा लकडाउन भएकाले अर्डर गरेका सामान समयमा नेपाल आइ नपुग्दा बजारमा बत्तीहरूको अभाव भएको जानकारी दिनुभयो । तातोपानीको नाका बन्द रहनु र रसुवागढीको नाका पनि सहजतापूर्वक सञ्चालनमा आउन नसक्नुले यो वर्षको झिलिमिली बत्तीको आयात प्रभाव परेको छ । पोखरेलले सामान आयात गर्न प्रतितपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने हुँदा यो वर्ष धेरै सामान आयात नभएको बताउनुभयो ।

त्यस्तै, विद्युतीय व्यापारीहरूले ग्राहकको माग अनुसार बजारमा तिहारका लागि आवश्यक झिलिमिली बत्ती नभएको बताएका छन् । काठमाडौंका विद्युतीय व्यापारी मनराज खतिवडाले बित्तीहरूको मूल्य बढेर आएको बताउनुभयो । अर्का व्यापारी दुर्गा सापकोटाले महँगो भए पनि ग्राहकहरूले खोजेको सामान नभएको उहाँको भनाइ छ ।

नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक एक अर्बभन्दा धेरैको आयात हुने गरेको छ । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासङ्घले बताएको छ ।

त्यस्तै, क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रमहरूमा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको महासङ्घका महासचिव पोखरेलले बताउनुभयो । तिहारमा बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाइट अत्यधिक बिक्री हुने गर्दछ ।