• १७ असार २०८१, सोमबार

पुरानालाई नयाँको चुनौती

blog

गोविन्द शर्मा 

बाँके, कात्तिक १ गते । बाँकेमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्रमा जनताले पटक–पटक परीक्षण गरिसकेका र नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ। बाँके क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज उम्मेदवार हुनुहुन्छ। उहाँको सशक्त प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का तर्फबाट सूर्य ढकाल उम्मेदवार देखिनुभएको छ। 

मन्त्री गहतराजको यो तेस्रो प्रतिस्पर्धा हो भने एमाले केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज ढकाल पहिलो पटक संसदीय राजनीतिमा उम्मेदवार बन्नुभएको छ। प्रदेश (क)मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्ण केसी लगातार दोस्रो पटक प्रतिस्पर्धामा हुनुहुन्छ। यहाँ एमालेको समर्थनमा राप्रपाका नरेन्द्र पौडेल उम्मेदवार रहनुभएको छ। 

त्यस्तै जनता समाजवादी पार्टीका अमर खड्का पहिलो पटक प्रतिस्पर्धामा रहनुभएको छ। प्रदेश (ख)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस पार्टीबाट फुलाराम थारू र एमालेका दुर्गाप्रसाद थारू उम्मेदवार रहनुभएको छ। कांग्रेस उम्मेदवार फुलाराम यसअघि फोरम लोकतान्त्रिकबाट पटक–पटक उम्मेदवार बन्नुभएको थियो। दुर्गा भने पहिलो पटक उम्मेदवार बन्नुभएको छ। बाँके क्षेत्र नम्बर २ मा एमालेको समर्थनमा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, जसपाका पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र कांग्रेसका सुदीपनरसिंह राणाबीच प्रतिस्पर्धा रहेको छ। 

२०५४ र २०७४ सालमा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित डा. राणा २०५१, २०६४ र २०७० सालमा संसदीय उम्मेदवार बन्नुभएको थियो। पूर्वमन्त्री राईले पनि २०६४ सालयताका हरेक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आउनुभएको छ। कांग्रेसका उम्मेदवार सुदीपनरसिंह भने नयाँ हुनुहुन्छ।  प्रदेश (क)मा एमालेका उम्मेदवार विजयबहादुर यादव २०७४ सालको निर्वाचनमा सङ्घीय समाजवादी फोरम (हाल जसपा)बाट विजयी हुनुभएको थियो। जसपाका भण्डारीलाल यादव यसअघि पनि स्थानीय तहको निर्वाचनमा डुडुवा गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्नुभएको थियो। प्रदेश (ख)मा कांग्रेसले २०७४ सालमा विजयी उम्मेदवार प्रदेशमन्त्री सुरेन्द्र हमाललाई दोहो¥याएको छ। एमालेबाट निरक गुरुङ, जसपाका आदेश अग्रवाल, माओवादी केन्द्रका अकलबहादुर बमलगायत युवा नेताहरू पहिलो पटक प्रतिस्पर्धामा उत्रिनुभएको छ।

यसैगरी बाँके क्षेत्र नम्बर ३ मा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सहमहामन्त्री किशोरसिंह राठौर हुनुहुन्छ। एमालेले यसअघि खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष तथा पार्टीका जिल्ला अध्यक्ष किस्मत कक्षपतिलाई उम्मेदवार बनाएको छ।  प्रदेश (क)मा गठबन्धनबाट माओवादी केन्द्रले २०७४ सालमा विजयी आईपी खरेल र एमालेले जिल्ला सचिव रत्न खत्रीलाई उम्मेदवार बनाएको छ। नेता खत्री पनि पहिलो पटक संसदीय प्रतिस्पर्धामा उत्रिनुभएको हो। यहाँबाट पूर्वराज्यमन्त्री तथा एकीकृत समाजवादीका नेता दलबहादुर सुनारले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। २०७४ सालमा कांग्रेसबाट उम्मेदवार बन्नुभएका चन्तराम थारू यस पटक नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्नुभएको छ। 

प्रदेश (ख)मा गठबन्धनबाट कांग्रेसका वादशाह कुर्मी हुनुहुन्छ। नेता कुर्मी २०६४ र २०७० सालमा संविधान सभा सदस्य तथा २०७४ मा पार्टीबाट प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएको थियो। यहाँ एमालेबाट उम्मेदवार बन्नुभएका युवा नेता भीम वली पनि संसदीय राजनीतिमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिनुभएको हो।