• ९ मंसिर २०८१, आइतबार

अल्लोबाट आत्मनिर्भर बन्दै महिला

blog

लीलाधर वली 

घोराही, असोज ३१ गते । घोराही उपमहानरपालिका–१४ की प्रेमकुमारी पुनमगर अल्लो उद्योगसँग जोडिएको वर्षौं भइसक्यो । लामो समय शिक्षण पेसामा रहनुभएकी उहाँ करिब दुई दशकदेखि अल्लोको धागो उत्पादन, धागोबाट तयारी कपडा बनाउनेसँगै कपडाको बजारीकरण गर्ने व्यवसायमा व्यस्त हुनुहुन्छ । 

माओवादी द्वन्द्वका समयमा शिक्षण पेसा छोडेर रुकुमबाट दाङको घोराही झर्नुभएकी पुनले १९ वर्षदेखि घोराहीमा चिनारी महिला साझेदारी अल्लो उद्योग सञ्चालन गर्दै आउनुभएको छ । पुर्खाको पेसाका रूपमा रहेको अल्लो धागो उत्पादन गर्ने कामलाई व्यावसायीकरण गर्दै उद्योग स्थापना गर्नुभएकी पुनलाई अल्लोले आम्दानीसँगै पहिचानसमेत दिएको छ । 

“सशस्त्र द्वन्द्वको समयमा गाउँमा बस्ने अवस्था नभएपछि शिक्षण पेसा छोडेर परिवारसँगै दाङ आएका थियौँ तर के गरी बस्ने योजना थिएन । घोराही आएपछि केही समय त्यसै बसेँ । पछि सोच बनाएँ, पुर्खाले गर्ने गरेको अल्लोको धागो उत्पादन गर्ने काम गर्ने । त्यहीअनुसार घोराहीमा सुरुमा धागो उत्पादन गरेका थियौँ,” उहाँले भन्नुभयो ।

उहाँले केही समयपछि व्यवसाय विस्तार गर्दै घोराहीमै अल्लो धागोबाट कपडा बनाउन थालेको बताउनुभयो । अल्लोबाट उहाँले कोट, इस्टकोट, टोपी, पछ्यौरा, मगर जातिका पोसाक, गलबन्दी, जुत्ता, झोलालगायत उत्पादन गर्दै आउनुभएको छ । 

५९ वर्षीय प्रेमकुमारीले लामो सङ्घर्षपछि आफू उद्यमीका रूपमा स्थापित हुन सफल भएको बताउनुभयो । उद्योगसँगै विभिन्न समयमा हुने मेला, महोत्सवमा अल्लोको धागोबाट बनाइएका पोसाकको राम्रो व्यापार हुने गरेको बताउनुभयो । उहाँले आफ्नो उद्योगमा १७÷१८ जना महिलालाई नियमित रूपमा रोजगारी दिनुभएको छ । 

प्रेमकुमारीजस्तै घोराही उपमहानगरपालिका–१४ कै प्रभा वली पनि लामो समयदेखि अल्लो व्यवसायमा जोेडिनुभएको छ । आफूजस्तै सात जना महिलासँग मिलेर करिब एक दशकअघि घोराहीमा सहनशील दिदीबहिनी अल्लो धागो तथा उत्पादन प्रशोधन उद्योग स्थापना गरेर उहाँ अल्लो धागो उत्पादन, प्रशोधनसँगै तयारी कपडा बनाउने काम गर्दै आउनुभएको छ । 

विशेष गरेर दाङमा अल्लोको धागो उत्पादन गरेर काठमाडौँ पठाउने काम गर्दै आएको बताउने वलीले तयारी कपडासमेत उत्पादन गर्दै आउनुभएको छ । यसरी उत्पादन भएका कपडा दाङसँगै बिक्रीका लागि काठमाडौँ, पोखरालगायतका सहरमा पठाउने गरेको वली बताउनुभयो ।   

अल्लो धागो उत्पादन तथा प्रशोधनसम्बन्धी प्रशिक्षकसमेत रहनुभएकी वलीले आफूजस्ता दिदीबहिनीलाई अल्लोले आम्दानीसँगै पहिचान दिएको बताउनुभयो । “अल्लोबाट धागो कात्ने काम पहिले रुकुम, रोल्पालगायतका पहाडी जिल्लातिर हुने गरेको थियो तर यो व्यावसायिक थिएनन् । पछिल्लो समयमा अल्लोबाट धागो उत्पादन गर्ने र कपडा बनाउन थालेपछि यो व्यावसायिक रूपमा गएको छ । महिलालाई आम्दानी लिने माध्यम बनेको छ,” उहाँले भन्नुभयो । अल्लो धागो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ राप्तीका पहाडी जिल्लासँगै कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आउने गरेको उहाँ बताउनुभयो ।  

साँझ–बिहान घरको काम गरेर बचेको समयको सदुपयोग गर्न पाइने र थोरै भए पनि आर्थिक सहयोग मिल्ने गरेकाले चिनारी महिला साझेदारी अल्लो उद्योगमा काम गर्दै आएको घोराहीकी सरिता विकले बताउनुभयो । उद्योगसँग जोडिएपछि सीप सिक्नका साथै आफ्नो घरव्यवहार चलाउन पैसा बचत हुने गरेको उहाँले बताउनुभयो ।