• २० असोज २०८१, आइतबार

साँवा ब्याज नतिर्ने घोषणा

blog

भैरहवा समाचारदाता

भैरहवा, असोज ३० गते । कोभिड–१९ का कारण व्यवसाय प्रभावित भएको भन्दै भैरहवाका होटल व्यवसायीले साँवा र ब्याज नतिर्ने घोषणा गरेका छन् । 

भैरहवा तथा आसपासका होटल व्यवसायीले असोजमा बैङ्कको त्रैमासिक साँवा र ब्याज नतिर्ने घोषणा गरेका हुन् । शनिबार पत्रकार सम्मेलन गरी उहाँहरूले कोभिड–१९ का कारण व्यवसाय सञ्चालन हुन नसकेको र सरकारले पुनरुत्थानका लागि प्रभावकारी नीति र कार्यक्रम नल्याएका कारण बैङ्कको साँवा र ब्याज तिर्न नसक्ने जनाएका हुन् ।

भैरहवा, लुम्बिनी र तिलोत्तमा क्षेत्रमा रहेका सिद्धार्थ होटल सङ्घमा आबद्ध कुनै पनि होटल व्यवसायीले साँवा ब्याज नतिर्ने निर्णय भएको सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । “लामो बन्दका कारण धराशायी बनेको पर्यटनअन्तर्गतको होटल सेवा सबैभन्दा बढी प्रभावित र सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । होटल व्यवसाय सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहँदा नोक्सानी दिनहुँ बढिरहेको छ । नोक्सानी बढिरहँदा बैङ्कको साँवा त के ब्याज तिर्न पनि नसक्ने अवस्थामा हामी रहेका छौँ,” श्रेष्ठले भन्नुभयो । 

उहाँले बैङ्कको साँवा किस्ता कम्तीमा दुई वर्षपछि बुझाउने गरी समय पर धकेलिदिन माग गर्दै आएको बताउनुभयो । “हाम्रो आशय बैङ्कको साँवा ब्याज नबुझाउने भन्ने होइन, हामी सबै तिर्छाै तर हामीलाई केही समय दिनुहोस्,” श्रेष्ठले भन्नुभयो ।

होटल व्यवसायीका माग सरकारले नसुनेझैँ गरेको गुनासो गर्दै उहाँले बैङ्कहरूले दिनहुँ फोन गर्ने, मानिस पठाउने, ताकेता गर्ने, समयमा नबुझाए धितो लिलाम गर्छौं, पत्रिकामा तीनपुस्तेसहित छाप्छाैँ भन्दै धम्की आउने गरेको बताउनुभयो ।

होटल व्यवसायी रामबहादुर कोइरीले सरकारले पर्यटन व्यवसायको पुनरुत्थानका लागि कार्यक्रम नल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “एकाध सहुलियतका बुँदा देखाई कनिका छर्ने काम भयो । पर्यटन क्षेत्रले कमाएर तिर्ने हो तर कमाउने बेलामा कोरोना महामारीले व्यवसाय ध्वस्त भयो ।” 

लुम्बिनी क्षेत्रका होटल व्यवसायी अकरामुद्दिन खाँले लुम्बिनीमा अहिले पर्यटक नै नआएका कारण यहाँका होटलमा एक प्रतिशत पनि पर्यटकको बसाइँ नरहेको बताउनुभयो ।