• २१ वैशाख २०८१, शुक्रबार

म्याग्दीको बेनीमा तेक्वान्दो सुरु

blog

म्याग्दी, असोज २९ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । 

सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का तीन सय ३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

समितिका प्रशिक्षक कर्ण प्रधानले पुम्सेका छ र गेरोगीका १६ गरी २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिनुभयो । स्वर्ण र कांस्य २२/२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४६ देखि ७२ र पुरुषतर्फ ५४ देखि ८७ केजी तौल समूहका खेलाडी सहभागी छन् ।

शुक्रबार साँझ भएको उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषतर्फ नेपाल पुलिस क्लबले जितेको राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले बताउनुभयो । 

महिलातर्फ ७.१९९ अङ्क सहित नेपाल प्रहरीकी निशा दर्नाल विजयी हुँदा उपविजेता भएकी नेपाली सेनाकी स्वतिका तामाङले ७.१४९ अङ्क जोड्नुभयो । तेस्रो स्थान प्राप्त गर्न सफल प्रदेश १ की सुशीला राईले ६.८६६ र गण्डकीकी अर्पणा अधिकारीले ६.४६६ अङ्क पाउनुभयो ।

पुरुषतर्फ प्रहरीका कमल श्रेष्ठ ७.५३३ अङ्कसहित विजयी हुँदा लुम्बिनीका युवराज रानाले ७.१४९ अङ्क सहित उपविजेता बन्नुभयो । त्यस्तै ६.८६६ अङ्क सहित गण्डकीका आयुष गुरुङ र ६.६९९ अङ्क सहित प्रदेश १ का विवेक राई तेस्रो हुनुभयो । 

पुम्से र निरोगीतर्फका बाँकी खेल आज सञ्चालन हुने राखेपका प्रमुख प्रशिक्षक श्रेष्ठले बताउनुभयो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा बिहीबारदेखि महिला भलिबल प्रतियोगिता सञ्चालन भएको छ ।