• २२ वैशाख २०८१, शनिबार

महिला दश हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

blog

दश हजार मिटर दौड पूरा गर्दै सन्तोषी श्रेष्ठ । तस्बिर : विकास द्वारे

पोखरा, असोज २९ गते । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला दश हजार मिटर दौड प्रतियोगितामा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रङ्गशालामा शनिबार भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जित्नुभएको हो ।

सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुभएको हो । राजपुराले उक्त दूरी ३६ मिनेट २९.४५ सेकेन्ड समय खर्चँदै दोस्रो स्थानमा रहनुभयो । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)की पुष्पा भण्डारी तेस्रो रहनुभयो । पुष्पाले ३७ मिनेट ०४.२ सेकेन्ड समय खर्चँदै तेस्रो स्थानमा रहनुभएको हो ।

सन्तोषीले यसअघि सन् २०१९ मा नेपालमा नै भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जित्नुभएको थियो । त्यतिबेला उहाँले भारतकी खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । सन्तोषी सागको एथलेटिक्स खेलमा स्वर्ण पदक दिलाउने पहिलो महिला खेलाडीसमेत हुनुहुन्छ ।

खेलपछि सन्तोषीले राष्ट्रिय कीर्तिमान कायम गर्नुभन्दा पनि मेडलको लागि मात्र खेलेको बताउनुभयो । उहाँले आर्मी म्याराथनबाट घाइते भएदेखि राम्रो खेल प्रदर्शन गर्न नसकेको र कीर्तिमान तोड्न गाह्रो भएकोसमेत बताउनुभयो । शारीरिक भन्दा पनि मानसिक रूपमा दृढ भएर स्वर्ण जित्न सफल भएकोमा आफू सन्तुष्ट रहेको उल्लेख गर्नुभयो ।