काठमाडौँ, असोज २७ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजी (सरकारदेखि सरकार) प्रणालीमार्फत भारतबाट मल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
कृषि मन्त्रालयले ३० हजार मेट्रिक टन युरिया खरिद गर्नका लागि भारतलाई खरिद प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकारकुमार सञ्जेलले जानकारी दिनुभयो ।
प्रस्तावअनुसार भारतीय कम्पनीलाई दिने अग्रिम भुक्तानीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । भारतबाट कात्तिक मसान्तभित्र सो मल आइपुग्ने उहाँले दाबी गर्नुभयो ।
यसैगरी चालू आर्थिक वर्षमा एक लाख मेट्रिक टन मलका लागि कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर आह्वान गरेको थियो । त्यसमध्ये ३० हजार मेट्रिक टन युरिया प्राप्त भयो र त्यो धान खेतीका लागि बिक्री वितरणसमेत भइसकेको प्रवक्ता सञ्जेलले जानकारी दिनुभयो । ४० हजार मेट्रिक टन डीएपी प्राप्त हुने क्रममा रहेको छ । बाँकी ३० हजार मेट्रिक टन युरिया भारतको विशाखापट्नम बन्दरगाहमा प्याकिङ भइरहेको उहाँले जानकारी दिनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत ल्याउने ३० हजार मेट्रिक टन युरिया मल भारतको विशाखापट्नम बन्दरगाहमा रेलमा लोड भइरहेको र असोज ११ गतेसम्म वीरगञ्ज आइपुग्ने बताइएको छ । २७ हजार पाँच सय मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन युरिया मलको खरिद सम्झौता भइसकेको र त्यो मल मङ्सिरको पहिला हप्ता नेपाल आइपुग्ने कृषि मन्त्रालयले जनाएको छ ।
हाल सरकारसँग सात हजार नौ ८० मेट्रिक टन युरिया, ४२ हजार नौ सय ९३ मेट्रिक टन डीएपी र चार हजार ३२२ मेट्रिक टन पोटास मौज्दात रहेको जनाइएको छ ।