• ९ मंसिर २०८१, आइतबार

बेमौसमी वर्षाले कृषिमा क्षति

blog

काठमाडौँ, असोज २७ गते । असोजको दोस्रो हप्तादेखि आएको बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिप्रति विभिन्न सङ्घसंस्थाले सरकारलाई ध्यानाकर्षण गराएका छन् । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बैमौसमी वर्षाका कारण ठूलो मात्रामा धनजनको क्षति भएको अखिल नेपाल किसान महासङ्घले जनाएको छ । 

महासङ्घका अध्यक्ष डा. प्रेम दङ्गालले बुधबार विज्ञप्ति जारी गर्दै बैमौसमी वर्षाका कारण आएको बाढीपहिरोले यस वर्ष पनि कृषिभूमि तथा कृषि तथा कृषिजन्य उत्पादनमा ठूलो परिणाममा क्षति पुगेको बताउनुभएको छ । महासङ्घका अध्यक्ष दङ्गालले बाढीपहिरो र डुबानबाट प्रभावित जनसमुदायको यथाशीघ्र उद्धार, राहत र पुनस्र्थापना गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । 

यस विपत्तिबाट भएको क्षतिको वास्तविक विवरण सङ्कलन गरी किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न र किसानको व्यवसाय पुनस्र्थापनाका लागि विभिन्न अल्पकालीन र दीर्घकालीन प्याकेज कार्यक्रम घोषणा गर्न पनि उहाँले माग गर्नुभएको छ । 

साथै, राष्ट्रिय कृषक समूह महासङ्घले पनि विज्ञप्ति जारी गरी किसानलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन माग गरेको छ । लुम्बिनी प्रदेशमा मात्र १२ वटा जिल्लाका धान खेतीमा क्षति पुगेको छ । वर्षभरि खान र घरव्यवहार धान्ने अन्नका रूपमा रहेको धानबाली डुबानमा परेका कारण किसान चिन्तित भएको महासङ्घले जनाएको छ । देशको प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानलगायत अन्य बलीमा भएको क्षतिले खाद्य सुरक्षामा समेत असर परेको जनाउँदै महासङ्घले बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरी राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।गत वर्ष परेको बेमौसमी वर्षाका कारण धानलगायतका बाली तथा काठमाडौँ उपत्यकामा धानमा बाला नलागेर किसानले भोग्नु परेको क्षतिका लागि सरकार आफैँले घोषणा गरेको राहतसमेत किसानले नपाएको अखिल नेपाल किसान महासङ्घले गुनासो गरेको छ । 

धान र काउलीमा क्षति

इनरुवा समाचारदाताका अनुसार सुनसरीमा मङ्गलबारदेखि परेको लगातारको वर्षाका कारण अधिकांश कृषकको धान र तरकारी बालीमा क्षति पुगेको छ । पाकेर पहेँलपुर भएको धानबाली वर्षाको पानीले डुबान भएपछि क्षति पु¥याएको हो । 

जिल्ला सदरमुकाम इनरुवासहित गढी, बर्जु, कोसी, भोक्राहा नरसिंह, हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रका अधिकांश किसानको काटेर भित्र्याउनलागेको धान खेतमै डुबेको छ ।  

स्थानीय किसान सुरेन्द्र सरदारका अनुसार १० बिघाभन्दा बढी क्षेत्रफलको जग्गामा जल्पापुरका किसानले लगाएको काउली डुबानमा परेको छ । इनरुवा–१०, जल्पापुरका किसान रविन पोदारका अनुसार सयौँ बिघाको पाकेको धानमा क्षति पुगेको छ । पोदारले भन्नुभयो, “काटेको धान सबै खेतको आलीभित्रै डुबेको छ । काट्न बाँकी धान वर्षाको पानीले सबै क्षति पु¥याएको छ ।” 

लगातारको वर्षाका कारण जिल्लामा झन्डै २५ प्रतिशत धानबालीमा क्षति पुगेको किसानको गुनासो छ । वर्षा अझै नरोकिएकाले कति क्षति हुने हो यकिन छैन । 

उम्रिन थाल्यो धान 

धनगढी समाचारदाताका अनुसार कैलालीमा डुबानमा परेको धानमा टुसा उम्रिन थालेको छ । धान भित्र्याउन तयार भएका बेला झरी परेपछि बोटमै धान उम्रिन थालेको हो । 

पाकेको धान सबै उम्रिन थालेको कैलारी गाउँपालिका–९, सामरचौराका दिनेश चौधरीले बताउनुभयो । “ढलेको कुनै पनि धान राम्रो छैन । खेतबाट पानी अझै निस्केको छैन,” उहाँले भन्नुभयो, “यो वर्ष पनि धानको अवस्था गत वर्षको जस्तै भएको छ ।” 

खेतमा धान पाके पनि किसानले दशैँका कारण धान काट्न सकेका थिएनन् । दशैँपछि धान भिœयाउने योजना बनाएका थिए उनीहरूले तर दशैँलगत्तै हप्ता दिनसम्म भएको अविरल वर्षाले धान खेतीमा नोक्सान भएको छ । 

पाकेको धान भित्र्याउन नसकिएका कारण यो वर्ष फेरि धेरै नोक्सान बेहोर्नु परेको कैलारी गाउँपालिका–७ का कृषक फूलराज चौधरीले बताउनुभयो । “गत वर्ष सबै धान नोक्सान भएपछि भोकमरीको अवस्था सामना गर्नु परिरहेको छ,” उहाँले भन्नुभयो, “यो वर्ष धान अलि राम्रो हुने आस गरेका थियौँ तर यस वर्ष पनि रहेन ।” बोटमै धान उम्रिन थालेपछि कतिपय किसानले पानीमै ‘कम्बाइन’ मेसिनले धान काट्ने कार्य गरिरहेको चौधरीले बताउनुभयो । 

उम्रिएको धानको चामल राम्रो नहुने किसानको भनाइ छ । बोटमै धान उम्रिएपछि उत्पादन घट्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो दुई वर्षदेखि प्रकृतिले किसानलाई निरन्तर दुःख दिइरहेको भजनी नगरपालिका–४, खैलाडका कृषक हनुमान चौधरीले बताउनुभयो । “दशैँलगत्तै पानी परेपछि खेतीपाती चौपट भएको छ,” उहाँले भन्नुभयो ।  

धानबाली नष्ट 

नेपालगञ्ज समाचारदाताका अनुसार सात दिनसम्म परेको अविरल वर्षाले आएको बाढी र डुबानमा परेर बाँकेमा आठ हजार ५३० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । 

कृषि ज्ञान केन्द्र नेपालगञ्जले दिएको जानकारीअनुसार बाढी र डुबानबाट जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको धानबालीमा ठूलो क्षति पुगेको छ भने हालसम्म प्राप्त भएको विवरणअनुसार आठ हजार ५३० हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ । 

बाढी र डुबानबाट नेपालगञ्ज उपमहानगरपालिकामा चार सय हेक्टर, नरैनापुर गाउँपालिकामा ४५० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा दुई हजार हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार सात सय हेक्टर र खजुरा गाउँपालिकामा एक हजार तीन सय हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमद खाँले जानकारी दिनुभयो । 

त्यस्तै वैजनाथ गाउँपालिकामा ८३० हेक्टर, कोहलपुर नगरपालिकामा ७५० हेक्टर र जानकी गाउँपालिकामा एक हजार एक सय हेक्टर क्षेत्रफलमा लगाइएको धानीबाली वर्षाले नष्ट गरेको जानकारी आएको उहाँले बताउनुभयो । अझै सबै स्थानीय तहको विस्तृत विवरण नआएको जनाउँदै निमित्त प्रमुख खाँले धान खेतीमा भएको क्षति अझै धेरै बढ्न सक्ने बताउनुभयो ।