खजुरा, असोज २६ गते । नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको एक्स–रे मेसिन भने अझै सञ्चालनमा आएको छैन ।
सामान चेकजाँच गर्न एक्स–रे मेसिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताउनुभयो । उहाँले मेसिन खरिद गरेर आइसकेको छ, प्रयोगमा ल्याउन नसक्नुमा विभिन्न प्राविधिक कारणहरू रहेको भन्नुभयो ।
उहाँले भन्नुभयो, “मेसिन आए पनि प्राविधिक इन्जिनियर आइसकेका छन्, अब मेसिनका लागि आवश्यक सेड बनाउनुपर्ने छ । उक्त सेड निर्माण गरेपछि मेसिन जडान गरेर सुचारु गर्छौँ ।” उहाँका अनुसार अझै तिहारभन्दा अघि मेसिन सञ्चालनमा आउने सम्भावना छैन ।
मेसिन आएको तीन महिना बितिसक्दा पनि प्रयोगमा नआएपछि प्रहरीलाई सुरक्षा जाँचमा समस्या भएको छ । यात्रुहरूका सानातिना सामान चेकजाँच गर्न अहिले विमानस्थलको टर्मिनलमा मात्रै एकवटा एक्स–रे मेसिन छ । कार्गो पठाउने ठाउँमा भने प्रहरीले हातले छामेर र आँखाको भरमा सामान चेकजाँच गरिरहेको छ । विमानस्थलमा खटिएका प्रहरीका अनुसार आफूहरूले सकेसम्म कडाइपूर्वक सामान जाँच गर्दै आए पनि मेसिन अत्यावश्यक रहेको छ ।
कर्णाली र सुदूरपश्चिमका पाँच जिल्लामा उडान हुने नेपालगञ्ज विमानस्थलबाट सामानको ढुवानी अत्यधिक हुने गरेको छ । सागपातदेखि मासुसम्म, चिनीदेखि चामलसम्म फलामका छडदेखि सिमेन्ट र पाइपसम्म हवाईजहाजले बोकेर लैजान्छन् । तर, यति महत्त्वपूर्ण विमानस्थलमा कार्गोलाई जाँच गर्ने मेसिनको सट्टा सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउने गरिएको छ । ल्याइएको मेसिन अहिले खुला आकाशमा राखिएको जनाइएको छ ।