• १३ असोज २०८१, आइतबार

विकास र समृद्विका लागि राजनीतिक स्थायीत्व आवश्यक छ : ईश्वर पोखरेल

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल ।

काठमाडौं, असोज २५ गते। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले आर्थिक विकास र समृद्विका लागि देशमा राजनीतिक स्थायीत्व आवश्यक रहेको बताउनुभएको छ। 

मंगलबार काठमाडौं क्षेत्र नम्बर ५ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्नुहुँदै उहाँले राजनीतिक स्थायीत्व नभए आर्थिक विकास हुन नसक्ने र मुलुकमा सधैं गरिबीको अवस्था रहने बताउनुभयो। उहाँले एमालेले मुलुकको नेतृत्व गर्ने विषय मंसिर ४ को निर्वाचनले सुनिश्चित गर्ने दाबी पनि गर्नुभयो।

नेता पोखरेलले भन्नुभयो, “यसका लागि हामी अगाडि बढ्नुपर्छ भन्ने एमालेको घोषणा हो। यो बिना राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर हुनेछ। त्यही राजनीतिक स्थायीत्व अन्तर्गत रहेर राष्ट्रिय स्वाभिमान नरहे सामाजिक सद्भाव पनि खलबलिनेछ। यो खलबलियो भने, मुलुकको अस्तित्वमाथि गम्भिर संकट आउनेछ।” राष्ट्रिय एकताका लागि सामाजिक सद्भाव कायम हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

राष्ट्रिय राजनीतिमा विभिन्न पक्षबीचमा गठबन्धन भएको भन्नुहुँदै उहाँले यो कुनै विचार, दृष्टिकोणबाट नभएको चर्चा गर्नुभयो। एमाले समाप्त पार्न मात्रै गठबन्धन राजनीति देखिएको उहाँले आरोप लगाउनुभयो।