• ११ असोज २०८१, शुक्रबार

ओखलढुङ्गामा खतिवडा र सुनुवारबीच प्रतिस्पर्धा हुने

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असोज २५ गते । ओखलढुङ्गामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका रामहरि खतिवडा र नेकपा (एमाले) को तर्फबाट यज्ञराज सुनुवारले उम्मेदवारी दिनुभएपछि दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

अघिल्लो निर्वाचनमा खतिवडा सुनुवारसँग पराजित हुनुभएको थियो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा खतिवडा र सुनुवार पुनः प्रतिस्पर्धामा उत्रिनु भएको छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रले वाम गठबन्धनका कारण सुनुवारलाई सहयोग गरेको थियो । यस पटक सत्ता गठबन्धन बनाएर खतिवडालाई सहयोग गर्दैछ ।

ओखलढुङ्गामा माओवादी केन्द्र निर्णायक बन्ने अनुमान गरिएको छ । माओवादी कहिले एमाले, त कहिले कांग्रेसको सहयोगी भएर पनि निर्णायक हुँदैआएको छ । सत्ता गठबन्धनको सहयोगमा खतिवडा चुनाव जितेर २०७४ हारको बद्ला लिने दाउमा लाग्नुभएको छ ।  

२०७४ को निर्वाचनताका ओखलढुङ्गामा एउटा मात्रै निर्वाचन क्षेत्र कायम भयो । साथै, एमाले र माओवादी केन्द्रले पार्टी एकताको घोषणा गरेर वाम गठबन्धन बनाएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा फरक–फरक निर्वाचन क्षेत्रबाट चुनाव जितेका खतिवडा र सुनुवार एउटै निर्वाचन क्षेत्र भएपछि एकअर्काका प्रतिस्पर्धी हुन पुगेका छन् । 

अघिल्लो निर्वाचनमा वामगठबन्धनका उम्मेदवार सुनुवारले कांग्रेसका खतिवडालाई ५ हजार २२३ मतले पराजित गर्नुभएको थियो । त्यतिबेला माओवादी केन्द्रको सहयोग पाएका सुनुवारले ३२ हजार ५८० मत ल्याउनुभएको थियो । खतिवडा एक्लैले २७ हजार ३२७ मत प्राप्त गर्नुभयो ।  

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाको मत परिणाम हेर्दा कांग्रेस ओखलढुङ्गामा बलियो देखिन्छ । यस पटक माओवादीसँग गठबन्धन पनि गरेकाले वडाको भोटमा कांग्रेस उम्मेदवार अगाडि देखिएको छ । 

स्थानीय निर्वाचनमा वडा तहमा कांग्रेसको सबभन्दा बढी ३२ हजार २८८ मत, दोस्रोमा एमालेको २९ हजार ५९१ मत छ । तेस्रोमा माओवादी केन्द्रको ६ हजार ९६१ मत आएको थियो । त्यसपछि जसपाको २ हजार १९४ मत, एकीकृत समाजवादीको ५२१ र राप्रपा नेपालको १४६ मत थियो ।

एकीकृत समाजवादीले छुट्टै उम्मेदवार उठाएकाले खतिवडालाई सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रको मत जाने देखिन्छ । तर त्यसमा मतदाता कति इमान्दार हुन्छन् भन्ने कुरामा भर पर्नेछ ।  

खतिवडा र सुनुवार दुबैलाई आन्तरिक असहयोगको डर छ । खतिवडा कांग्रेसमा सभापति शेरबहादुर देउवा समूहमा हुनुहुन्छ । टिकट वितरणमा असन्तुष्ट रहेको शेखर कोइराला पक्षले उहाँलाई असहयोग गर्न सक्ने सम्भावना रहेको जिल्लास्तरका नेताहरूको बुझाइ छ ।  

ओखलढुङ्गामा प्रदेश सभाका दुई वटा क्षेत्रमध्ये सङ्घ र एउटा प्रदेशसभा कांग्रेसको भागमा परेको छ । अर्को प्रदेशसभा माओवादी केन्द्रले पाएको छ । माओवादीले टिकट पाएको प्रदेश सभा (ख) मा शेखर पक्षको राम्रो पकड छ । देउवा पक्ष बलियो भएको ठाउँमा मात्रै टिकट राखेको र आफूलाई सहज हुने क्षेत्र माओवादी केन्द्रलाई दिएको भनेर शेखर पक्ष असन्तुष्ट देखिएको छ । 

यसकासाथै सत्ता गठबन्धन दल एकीकृत समाजवादीले पनि ओखलढुङ्गामा उम्मेदवारी दिएको छ । मत सङ्ख्याका हिसाबले धेरै नभए पनि एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी उठाएपछि त्यसले खतिवडालाई असर पुग्ने देखिन्छ ।

यस्तै, सुनुवार एमाले विभाजन हुनु पूर्व पार्टीभित्र नेता माधव नेपाल समूहमा हुनुहुन्थ्यो ।  नेपालले पार्टी विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि उहाँ एमालेमा फर्कनुभयो ।