काठमाडौं, असोज २४ गते । नेपालको निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयर स्थापनाको २५ औँ वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको छ । सोमबार काठमाडौंमा वायुसेवाको २५ औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै बुद्ध एयरले प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग २५ वर्षको यात्रामा विभिन्न उतारचढाव भोग्नुपरेको बताउनुभयो ।
प्रबन्ध निर्देशक बस्नेतले २५ वर्षको यात्रामा बुद्ध एयर वायुसेवा नियम सम्मत चलेको हुनाले सफलता मिल्दै गएको धारणा व्यक्त गर्नुभयो । बस्नेतले नियमसम्मत रूपमा कम्पनी चल्नसके सफलता पाउन समस्या नहुने बताउनुभयो ।
वायुसेवा क्षेत्र टेड नभएर उद्योग भएको उहाँको भनाइ छ । बस्नेतले अझै नयाँ गन्तव्य र अवसरको खोजी भइरहेको पनि बताउनुभयो । बस्नेतले आगामी दिनमा बुद्ध एयरलाई थप विश्वसनीय बनाउन मेहनतका साथ लागिरहने जानकारी दिनुभयो । उहाँले रजत महोत्सवसँगै अबको यात्रा गोल्डेन तर्फको हुने बताउनुभयो । बस्नेतले बुद्धले निकट भविष्यमा ३ एटीआर जहाज थप गर्ने योजना सार्वजनिक गर्नुभयो ।
प्रबन्ध निर्देशक बस्नेतले बुद्ध एयरलाई अबको २५ वर्ष सफलताका साथ अगाडि लानको लागि व्यवस्थापकीय निरन्तरताको लागि पब्लिक कम्पनीमा जानुपर्ने आवश्यकता परे जान तयार रहेको बताउनुभयो । बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा नजाने भन्दै फण्ड जम्मा गर्नको लागि बुद्ध एयरलाई पब्लिक कम्पनीमा जानुपर्ने आवश्यकता नभएको उहाँले औँल्याउनुभयो ।
उहाँले हवाई भाडा महँगो भएको इन्धनको मूल्य र डलरको भाउ बढेको कारण महँगो भएको बताउनुभयो । राज्यले तोकेको हवाई भाडाभन्दा बढी वायुसेवा कम्पनीहरूले लिन नसक्ने र सबै सेवाग्राहीको चित्त बुझाउन समस्या पर्ने बस्नेतको भनाइ छ । उहाँले नेपालको आन्तरिक हवाई उडान भाडा २० वर्ष अगाडिको तुलना गर्दासमेत सस्तो रहेको बताउनु भयो ।
बुद्ध एयरले ११ अक्टोबर १९९७ मा पहिलो व्यावसायिक उडान गरेको थियो । त्यसबेला काठमाडौँबाट माउण्टेन फ्लाइट, पोखरा र विराटनगरका लागि उडान राखिएको थियो । यो वायुसेवाले २५ वर्ष अगाडि एउटा जहाजबाट सुरु गरेको हवाई उडानको यात्रा हाल १६ वटासम्म पुगेको छ । हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको यो वायुसेवाले सन् २०२१ मा मात्रै २० लाख ३२ हजार यात्रु उडाएको थियो ।