काठमाडौं, असोज २४ गते । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘हामीले नेपालबाट अब विद्युत बिक्री गर्नुपर्दैन । अब हाइड्रोजन बिक्री गरे पुग्छ । एमोनिया बिक्री गरे पुग्छ । त्यसकारणले विद्युत पिपिए गर्न नपर्ने कुरा अब केही छैन । विद्युत उत्पादन गर्नमा हामीले अब क्यु फोर्टी, सिक्स्टी भन्नुपर्ने अवस्था पनि छैन । भएको पानीको सबै सदुपयोग गरेर विद्युत उत्पादन गर्नसक्यो भने र त्यसबाट हामीले हाइड्रोजन, एमोनिया बनाएर विश्व बजारमा प्रतिस्पर्धी भएर हामीले पु¥याउन सक्यौँ भने नेपालको समृद्धी त्यहीँ छ ।’’
उहाँले जलवायु परिवर्तनका कारण विभिन्न असरहरु पनि देखिन थालेको भन्दै कार्बन उत्र्सजनलाई कम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको मन्त्री शर्माको भनाइ छ । मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने बताउनुभयो ।
‘‘नेपालको सन्दर्भमा सबैभन्दा बढी डलर खर्च गर्नुपर्ने वस्तु पेट्रोलियम पदार्थ भएको छ । पेट्रोलियम पदार्थको विकल्पको रुपमा हामीले हाइड्रोजनलाई प्रयोगगरी आफैँलाई मात्र प्रयोग गर्नसक्यौँ भने नेपालको व्यापार सन्तुलनमा आउने अवस्था देखिन्छ । नेपालको आर्थिक विकासको दृष्टिकोणले, जलवायु परिवर्तनलाई न्यूनिकरण गर्ने दृष्टिकोणले, विश्व बजारमा नेपालको पहुँचलाई वृद्धि गर्ने र प्रतिूपर्धी बन्ने हिसावले र हामीसँग भएको अपार सम्भावनालाई सदुपयोग गर्ने र नेपालमा लगानी भित्राउने दृष्टिकोणले पनि यो विषय ज्यादै महत्त्वपूर्ण छ ।’’ उहाँले भन्नुभयो ।
मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्यूनिकरण गर्ने दृष्टिकोणले निकै नै महत्त्वपूर्ण रहेको बताउनु भयो । यसमार्फत नेपाललाई विश्व बजारमा पहुँच वृद्धि गर्न र लगानी भित्राउन पनि सकिने उहाँले उल्लेख गर्नुभयो ।