• १९ साउन २०८२, सोमबार

जलविद्युतलाई हाइड्रोजन ऊर्जा उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य : मन्त्री भुसाल

blog

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल । फाइल तस्बिर

काठमाडौं, असोज २४ गते । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताउनु भएको छ ।

सोमबार काठमाडौंमा भएको ग्रिन हाइड्रो सम्मेलनमा बोल्नुहुँदै मन्त्री भुसालले जलविद्युतको स्रोतको रूपमा विद्युत् प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने, जलविद्युतलाई हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको हो ।

उहाँले जलविद्युतलाई हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने विषयमा मन्त्रालयले आवश्यक तयारी गरेको पनि जानकारी दिनुभयो । जलविद्युतको प्रयोगबाट हाइड्रोजनबाट रासायनिक मलको उत्पादनका विषयमा पूर्व सम्भाव्यता अध्ययन गरिसकेको मन्त्री भुसालको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘नेपालले जलविद्युतको विकास गरी हामीले जलविद्युतको स्रोतको रूपमा विद्युत् प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने, जलविद्युतलाई हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको छ । यसका लागि ऊर्जा मन्त्रालयले आवश्यक तयारी समेत गरेको छ । मन्त्रालयले कार्यदल गठन गरेर जलविद्युतको प्रयोगबाट हाइड्रोजनबाट रासायनिक मलको उत्पादनको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ ।’’

उहाँले हाइड्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बढाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत् प्राधिकरण र कोरियाको ग्लोबल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको जानकारी दिनुभयो । मन्त्री भुसालले सन् २०३० भित्रै दिगो विकास र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक रहेको दाबी गर्नुभयो ।

मन्त्री भुसालले विश्वले अहिले हाइड्रोजन ऊर्जाको विषयमा चासो र प्राथमिकतासहित नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी अध्ययन अनुसन्धानहरू गरिरहेकाले नेपाल सरकारले पनि हाइड्रोजन ऊर्जाको विषयमा छिट्टै आवश्यक नीति निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाइड्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भूमिका निर्वाह गर्ने विश्वास छ । नेपालको जलस्रोतलाई जलविद्युतमा परिणत गर्ने र जलविद्युतको प्रयोग गरी, जलस्रोतलाई हरित हाइड्रोजनका रूपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्त्वपूर्ण छ । हरित ऊर्जामा सबै जनताको पहुँच पुर्‍याउनको लागि जलविद्युत आयोजनाहरूको दिगो विकास गर्न आवश्यकता छ ।’’